+
+
Shares
सिनेमा :

पत्रकार र सञ्चारगृहको सम्बन्ध बताउने फिल्म

न्यू योर्कको एउटा ठूलो अपार्टमेन्टमा न्यूज रुम भएको मिडिया र नेपाली मिडिया फरक छन् । त्यहाँ काम गर्ने र यहाँ काम गर्ने पत्रकार फरक छन् । तर, बेथा करिब समान छन् ।

सापेक्ष सापेक्ष
२०८३ वैशाख २५ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म द डेभिल वेयर्स प्राडा २ फिल्मले पत्रकारिता क्षेत्रमा नयाँ समस्या र अवसर देखाउँदै एन्डीको दृष्टिबाट मिडिया र फेसन उद्योगको यथार्थ प्रस्तुत गरेको छ।
  • दर्शकले फिल्ममा पत्रकारिता र मिडिया घरको भित्री राजनीति, सम्पादकीय नेतृत्व र रिपोर्टरको सम्बन्ध पनि देख्न सक्छन्।

दर्शकका रूपमा २० वर्षपछि फेरि रनवे म्यागजिनको न्युजरूममा फर्किने अवसर ‘द डेभिल वेयर्स प्राडा २’ ले दिएको छ । यो फिल्म गत शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको छ । नेपालका हलहरूमा पनि फिल्म लागिसकेको छ ।

फिल्मको मुख्य विषयवस्तु पत्रकारिता र फेसन उद्योग छ । महत्वाकांक्षा, करियर र जीवनको सन्तुलन पनि फिल्मको विषयवस्तु नै हुन् ।

यदि तपाईं पत्रकारिता गर्नुहुन्छ, मिडिया क्षेत्रमा काम गर्नुहुन्छ वा भविष्यमा आम सञ्चार क्षेत्रमा जोडिन चाहनुहुन्छ भने यो फिल्म तपाईंले ‘रिलेट’ गर्न सक्नुहुन्छ । त्यस्तै यदि तपाईंको सोख फेसनमा छ भने पनि तपाईंलाई फिल्म हेर्दा पछुतो लाग्दैन ।

तर, विश्वभरबाट यो फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको देखिन्छ ।

रटन टोमाटोज, आईएमडीबी जस्ता प्लेटफर्ममा दर्शकहरूले गरेको कमेन्टलाई सर्सर्ती हेर्दा फिल्मको कथामा धेरै गुनासो देखिन्छ । यो फिल्म ‘ओरिजिनल प्रिक्वेल जस्तो नभएको’ भन्ने उनीहरूको भनाइ छ । तर, फिल्मले मनोरञ्जन दिने, पत्रकारिता र फेसन उद्योगबारे जानकारी दिने, अनपेक्षित राम्रो केमियो रोल जस्ता सकारात्मक प्रतिक्रिया पनि आएको देखिन्छ ।

‘द डेभिल वेयर्स प्राडा २’ कस्तो छ ? यसले पत्रकारिता र फेसनबारे के बोलेको छ ? यी उद्योगभित्र कति गहिरिएर कथा देखाएको छ ? अभिनय कस्तो छ ? यी यावत् विषयबारे चर्चा गर्नुअघि यो फिल्मको पहिलो भागको थोरै चर्चा गरौं, जुन यहाँ आवश्यक पनि छ ।

निर्देशक डेभिड फ्रान्केलले निर्देशन गरेको यो फिल्मको पहिलो भाग सन् २००६ मा आएको थियो । फिल्ममा पत्रकारितामा करियर बनाउन खोज्दै गरेकी केटी एन्डी स्याच्स (एन्नी ह्याथवे) को कथा देखाइएको छ ।

यसैका लागि एन्डी न्यूयोर्कको विश्व प्रसिद्ध फेसन म्यागजिन रनवेमा अन्तर्वार्ताका लागि जान्छिन् । त्यहाँ उनले रनवेका प्रधानसम्पादक मिरान्डा फ्रिस्टली (मेरिल स्ट्रीप) को जुनियर एसिस्टेन्टको रूपमा काम पाउँछिन् । तर, मिरान्डाको कडा मिजास र फेसनमा त्यति अनुभव नभएका कारण उनलाई सुरुमा काम गर्न अप्ठ्यारो हुन्छ ।

एउटा स्टोरीलाई लिएर रिपोर्टर र सम्पादकको वैचारिक अभिमत, कहिलेकाहीं व्यावसायिक सम्बन्धभन्दा हाबी भएको व्यक्तिगत सम्बन्ध पनि फिल्ममा देखाइएको छ ।

यद्यपि उनले पत्रकारिता र फेसन बुझ्दै जान्छिन् । र, पछि उनले पत्रकारितालाई ‘ड्रिम जब’का रूपमा लिन्छन् । त्यही अनुसार आफूलाई परिवर्तन पनि गर्छिन् । तर, यसो गर्दा उनको व्यक्तिगत जीवन समेत लथालिङ्ग नै हुन्छ ।

यस्तो कथा देखाइएको यो फिल्मको पहिलो भाग फेसन म्यागजिनहरूको चर्चा उत्कर्षमा भएको बेला आएको थियो । यसले गर्दा ग्लामर र यथार्थले भरिएको यो फिल्म कल्ट क्लासिक बन्न पुग्यो । मिरान्डा प्रिस्टलीको भूमिकामा देखिएकी मेरिल स्ट्रीपले त अभिनयका कारण अस्कर नोमिनेसनसमेत पाइन् ।

तर, अहिले फेसन उद्योग झन्-झन् परिस्कृष्ट बन्दै जाँदा पत्रकारिता क्षेत्रमा भने नयाँ-नयाँ समस्याहरू आइरहेका छन् । प्रिन्ट मिडियाको ओरालो बाटो, एआईको प्रभाव, प्रविधिमा आएको छलाङ यी यावत समस्या पत्रकारितामा छन् ।

फिल्ममा यी विषय केही मात्रामा अटाएका छन् । जुन सकारात्मक छ । मुख्यत: एन्डीको आँखाबाट हामीलाई पत्रकार र पत्रकारिताको दु:ख र समस्या देखाइएको छ । अवसर र भविष्य देखाइएको छ । जुन धेरै हदसम्म नेपाली पत्रकारितासँग पनि मिल्न जान्छ ।

उदाहरणका लागि, पैसा र जागिर सुनिश्चित नभएकाले एन्डीले तत्कालै अपार्टमेन्ट लिदिँनन् । यो कथा धेरै नेपाली श्रमजीवी पत्रकारको साझा व्यथा नै हो ।

एउटा स्टोरीका लागि एन्डीले धेरै मेहनत गर्छिन् । राति अबेरसम्म कार्यालयमा बसेर लेख्छिन् । घर आएर पनि लेख्छिन् । स्रोतहरूसँग भेट्न दौडधुप गर्छिन् । स्टोरी प्रकाशित भएपछि अत्याधिक खुसी हुन्छिन् । व्यववस्थापन पक्षको कमजोरीका कारण स्टोरी डिलिट हुँदा दु:खी हुन्छिन् । यी सबै कुरा एउटा नेपाली पत्रकारले पनि महसुस गर्ने कथा हुन् ।

पत्रकारितालाई लिएर एन्डीले केही गजबका कुराहरू पनि भनेकी छिन् । जुन एउटा पत्रकारका लागि प्रेरणाको कुरो हो ।

जस्तो, एउटा भाषणमा उनी भन्छिन्, ‘जर्नलिजम स्टिल फकिङ म्याटर्स…’

अनि अर्कोमा कामको मूल्य र पत्रकारिताको यथार्थबारे कुरा गर्दै उनी भन्छिन्, ‘जस्ट पुट इट अल इन देयर । बिकाउज पिपुल सुड नो । दे सुड नो दियर्स कस्ट । बट ब्याय, आई लभ वर्किङ…’

यसरी एन्डीले वास्तविक पत्रकारको दु:ख देखाउँछिन् । अर्कोतिर, उनको आँखाबाटै हामीले न्युज रूमको केही कथा पनि देख्छौं । जस्तो:- कसरी स्टोरी प्लान हुन्छ ? कसरी फेसन सुटिङ हुन्छ ? कसरी सञ्चारगृह चल्छन् आदि ?

यसैगरी हामीले यो फिल्ममा एउटा रिपोर्टर र सम्पादकको सम्बन्ध पनि देख्छौं ।

पहिलो भागमा एन्डीको अघि मिरान्डा कडा स्वभावकी थिइन् । यसमा पनि मिरान्डा कडा नै देखिएकी छिन् । तर, अघिल्लोको तुलनामा धेरै कम । जुन दर्शकका लागि एउटा विश्वास गर्न नसक्ने कुरो पनि हो । अर्थात् मिरान्डाको पात्रमा निर्देशक डेभिड फ्रान्केलले ठूलो परिवर्तन गरेका छन् ।

तर, एउटा स्टोरीलाई लिएर रिपोर्टर र सम्पादकको वैचारिक अभिमत, कहिलेकाहीँ व्यावसायिक सम्बन्धभन्दा हाबी भएको व्यक्तिगत सम्बन्ध पनि फिल्ममा देखाइएको छ ।

जस्तो, एक पटक एन्डी मध्यरातमा मिरान्डाको घरमा जान्छिन् । कार्यालयको तनाव लिएर । तर, मिरान्डालाई एन्डीको त्यो ‘स्टेप’ मन पर्दैन । उनले एन्डीलाई कराउँछिन् । कार्यालयको चिन्ता तिमीले लिने होइन भनेर थर्काउँछिन् ।

त्यस्तै, एउटा व्यावसायिक मिडिया विज्ञापनदातासँग कसरी झुक्छन् ? एउटा अन्तर्वार्ता एउटा मिडिया हाउसका लागि कति ठूलो हुन्छ ? सम्पादकीय टिम र सञ्चालकबीच कस्तो मतभेद हुन्छ ? त्यो मतभेदले आउने स्टोरीहरूमा कसरी फरक पर्छ ? यस्ता विषय पनि फिल्ममा छन् ।

फेसनको कुरा गर्दा, फिल्ममा देखाइएको मिडिया हाउस नै फेसन म्यागजिनको हो । यसकारण फिल्ममा फेसनको कुनै कमी छैन भन्दा फरक पर्दैन । दर्शकले भरपूर आनन्द लिन पाउँछन् । यतिसम्म कि फिल्ममा लेडी गागाको एउटा केमियो रोल पनि छ । गागाले एउटा फेसन शोमा गीत गाउँछिन् । यो दृश्य आफैंमा रोमाञ्चक छ ।

तर, फेसनको कुरा एक ठाउँमा छ, त्यो भन्दा बढी अहिलेको समयमा मिडिया उद्योग कसरी धरासायी हुँदै गइरहेको छ, कसरी सम्पादकीय नेतृत्वमा सञ्चालकहरू हाबी भइरहेका छन्, एउटा रिपोर्टर र काम गर्ने सञ्चारगृहको सम्बन्ध कस्तो हुन्छ, कतिसम्मको हुन्छ ? न्यूजरूम भित्रको राजनीति कस्तो हुन्छ ? यी विषय पनि फिल्ममा छन् । जुन पत्रकारका रूपमा दर्शक बनेर जाँदा अझ बढी सान्दर्भिक हुन जान्छ ।

पक्कै पनि न्यूयोर्कको एउटा ठूलो अपार्टमेन्टमा न्यूज रुम भएको मिडिया र नेपाली मिडिया फरक छन् । त्यहाँ काम गर्ने र यहाँ काम गर्ने पत्रकार फरक छन् । शैली फरक छ । तर, पत्रकारितामा हुने समस्या साझा छन् । पत्रकारको बेथा करिब समान छन् ।

त्यो नजरले हेर्दा आफ्नो मौलिक कथामा कमजोर भए पनि यो फिल्म हेर्नलायक छ । धेरै पत्रकारले एन्डीमा आफैंलाई पाउन सक्छन् । किनकि हरकोही पत्रकार एन्डीझैं बन्न चाहन्छ ।

तर, पत्रकारिता क्षेत्रभन्दा बाहिरकोलाई यो फिल्मको कथाले त्यति धेरै नबाँध्न सक्छ । अझ फेसन पनि रूचिको क्षेत्र होइन भने त यो फिल्म उसलाई सबैभन्दा झूर नै लाग्छ ।

किनकि मध्यान्तरसम्मको दृश्य यो फिल्मको पहिलो भाग नहेर्ने दर्शकलाई बुझ्न गाह्रै छ । धेरै कथा र घटना पहिलो फिल्मबाट तानिएको छ । सम्बन्धित गराउन खोजिएको छ । र, यसले फिल्म मध्यान्तरसम्म धेरै धिमा हुन पुगेको छ ।

तर, यसबाहेक जोहोकीलाई पत्रकारिता बुझ्न भने यो फिल्म राम्रो विकल्प बनेको छ।

किनकि एन्डीले भनेझैं अझै पनि पत्रकारिता समाजलाई आवश्यक छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?