News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘प्रोजेक्ट हेल मेरी’ले सन् २०२३ मा ‘ओपेनहाइमर’पछि सबैभन्दा ठूलो घरेलु बक्स अफिस ओपनिङ ८० मिलियन डलरभन्दा बढी कमाएको छ।
- सन् २०२६ मा घरेलु बक्स अफिस करिब २० प्रतिशतले बढेको छ र ‘अवतारः फायर एन्ड एश’, ‘द हाउसमेड’, ‘स्क्रिम ७’ले यो वृद्धि सम्भव बनाएका छन्।
- हलिउडमा सामाजिक सन्देश प्रधान फिल्म र मनोरञ्जनात्मक फिल्म दुवै सफल भइरहेका छन् र दर्शक फेरि रमाइलो खोजिरहेका छन् भन्ने संकेत देखिएको छ।
फिल्म ‘प्रोजेक्ट हेल मेरी’ले सप्ताहन्त घरेलु बक्स अफिस (उत्तर अमेरिका) मा ८० मिलियन डलरभन्दा बढी कमाउँदै उत्कृष्ट सुरुवात गरेको छ । यो उपलब्धि सन् २०२३ मा ‘ओपेनहाइमर’पछि कुनै पनि (न फ्रेन्चाइज, न सिक्वेल) फिल्मको सबैभन्दा ठूलो ओपनिङ हो ।
हलहरू घट्दै गएका छन् भन्ने चिन्ताबीच पनि दर्शकले आफू नजिकको हल कहाँ छ भन्ने बिर्सेका छैनन् भन्ने यो सफलताले देखाएको छ । उनीहरूलाई मन पर्ने फिल्म पाइएपछि हलसम्म पुग्न अझै उत्साह छ । सन् २०२३ मा स्थापना भएको अमेजन एमजीएम स्टुडियोका लागि पनि यो पहिलो ठूलो थिएटर सफलताका रूपमा देखिएको छ ।
यो सफलता एउटा मात्रै उदाहरण होइन । सन् २०२६ मा समग्र घरेलु बक्स अफिस अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले बढेको छ । ‘अवतारः फायर एन्ड एश’, ‘द हाउसमेड’, ‘स्क्रिम ७’ र ‘वुथरिङ हाइट्स’जस्ता फिल्मले यो वृद्धि सम्भव बनाएका छन् ।
यसरी बजार पुनः चलायमान हुनुको एउटा कारण के हुन सक्छ भने अहिलेका फिल्महरू फेरि रमाइलो लाग्न थालेका छन् ।
समयसँगै युग बदलिन्छ, माहोल पनि फेरिन्छ । सन् १९६९ मा कम बजेटको काउन्टरकल्चर रोड फिल्म ‘इजी राइडर’ बक्स अफिसमा चौथो ठूलो हिट बनेको थियो । त्यसलाई तेस्रो स्थानमा पछाडि पार्ने फिल्म पनि कम बजेटकै, एक्स–रेटेड ‘मिडनाइट काउब्वाय’ थियो । यसको ठीक उल्टो, ठूलो बजेट र स्टारले भरिएको म्युजिकल फिल्म ‘पेन्ट योर वागन’ भने असफल भयो । त्यसले एउटा युगको अन्त्य संकेत गर्यो, म्युजिकल फिल्म लगभग समाप्त भए र सिनेमाको नयाँ दशक, १९७० को सुरुवात एक वर्ष अघि नै भयो ।
त्यसपछि पनि फिल्म उद्योगले विभिन्न चरण देख्यो । सन् १९८० को दशकमा ब्लकबस्टर फिल्मको प्रभुत्व रह्यो भने सन् १९९० को दशकमा सनडान्स पुस्ताले अलग पहिचान बनायो । तर, पछिल्लो समयको चरण भने फरक ढंगले अघि बढ्यो । सन् २०१६ मा डोनाल्ड ट्रम्पको निर्वाचनपछि सुरु भएको र सन् २०२० पछि अझ तीव्र बनेको यो चरणमा हलिउडमा राजनीतिक र सामाजिक सन्देशलाई नै सबैभन्दा महत्वपूर्ण मानिएको देखियो ।

यौनता, इरोटिक थ्रिलर र हल्का हाँसो ल्याउने फिल्महरू विस्तारै ओझेलमा परे । रोमान्टिक कमेडीहरू त झन् लगभग हराएजस्तै भए । सन् २०१२ देखि २०१६ बीच वार्षिक रूपमा ५ मिलियन डलरभन्दा माथिको बजेट भएका करिब ६७ वटा कमेडी फिल्म रिलिज हुन्थे । तर सन् २०१७ देखि २०२३ (कोभिडको वर्ष २०२० बाहेक) सम्म यो संख्या झण्डै एक तिहाइले घटेर औसत ४५ मा झर्यो ।
त्यो समय यस्तो थियो, जहाँ ‘नोमाडल्याण्ड’ जस्तो फिल्म बनाउने र २०२१ मा उत्कृष्ट फिल्मको अस्कर जित्ने सम्भावना थियो । तर ‘ब्राइड्समेड्स’जस्तो खुला र मज्जाले हँसाउने शैलीका फिल्मलाई अघि बढाउनु भने अचानक असम्भवजस्तै देखिन थाल्यो ।
लोकप्रिय मनोरञ्जनका ‘डायोनिसियन’ तत्वहरू- बेपरवाह शैली, यौनको विषयमा खुलापन र उदार, कहिलेकाहीँ अलि कडा किसिमको हाँसो, विस्तारै किनारामा परे । उद्योगले विगतका गल्ती सच्याउने र वर्तमानका समस्या सामना गर्ने प्रयास गर्दै जाँदा यस्ता पक्ष पछाडि धकेलिए । सिर्जनात्मक प्रक्रियामा के भन्न मिल्छ, के मिल्दैन भन्ने डर र एक प्रकारको आत्मसंयम हावी भएको देखिन्थ्यो । फिल्म बन्ने विषयदेखि त्यसको सफलताको मापनसम्ममा सांस्कृतिक र राजनीतिक पक्षको प्रभाव धेरै देखिन थाल्यो ।
तर एउटा कुरा भने पछि पर्यो, दर्शक हलसम्म कत्तिको पुगिरहेका छन् भन्ने ।
कतिपयले त्यो समयमा विशेषगरी कमेडी फिल्म घट्नुको कारण ‘अन्तर्राष्ट्रिय बजारमा नचल्ने’ भन्ने तर्क दिन्छन् । तर कमेडीको विश्वव्यापी आकर्षण सन् २०१७ मा अचानक घटेको थिएन । परिवर्तन त हलिउडको रुचिमा आएको थियो ।
अब त्यो चरण अन्त्यतिर पुगेजस्तो देखिन्छ ।
हलिउडले बक्स अफिसको तथ्यांकलाई निकै महत्व दिन्छ, र पछिल्ला तथ्यांकले उद्योगका लागि दुई वटा बाटो देखाइरहेका छन् । एउटा, सन्देशप्रधान र प्रतिष्ठित फिल्महरू, जसले हालैका अस्करमा प्रभुत्व जमाए । यस वर्षको उत्कृष्ट फिल्म ‘वन ब्याटल आफ्टर अनदर’ त्यसको उदाहरण हो, यद्यपि त्यसमा पनि केही मनोरञ्जनात्मक तत्व थिए ।

अर्को बाटो भने दर्शकलाई सिधै मनोरञ्जन दिने फिल्मको हो । ‘प्रोजेक्ट हेल मेरी’ र ‘द हाउसमेड’जस्ता ठूला मनोरञ्जनात्मक फिल्महरू, साथै ‘वेपन्स’ र ‘सिनर्स’जस्ता हल्का, रोचक कथावाचन भएका फिल्महरू यसको उदाहरण हुन् । ‘सिनर्स’मा केही राजनीतिक सन्दर्भ भए पनि त्यसलाई संगीत र भ्याम्पायरको रमाइलोका रूपमा पनि हेर्न सकिन्छ ।
यदि रमाइलो केन्द्रित यो नयाँ चरणको कुनै प्रतिनिधि पात्र छ भने, त्यो अभिनेत्री सिड्नी स्विनी हुन् । उनले ‘एनीवन बट यू’ मार्फत रोमान्टिक कमेडी र ‘द हाउसमेड’मार्फत इरोटिक थ्रिलरलाई फेरि चर्चामा ल्याइन् । यी दुवै शैली दशकअघि फिल्म उद्योगमा लगभग हराइसकेका मानिन्थे ।
हलिउडको आधार नै मनोरञ्जन हो । मनोरञ्जनात्मक फिल्म सफल हुनुको एउटा ठूलो कारण भनेको ती फिल्मले दर्शकलाई अहिलेको समयसँग जोड्ने तर पुराना महान फिल्मकार बिली वाइल्डर वा फ्र्यांक क्याप्रालाई पनि चिनिन सक्ने किसिमको अनुभव दिनु हो । यस्ता फिल्महरू एउटा विश्वासबाट जन्मिन्छन्- फिल्म आफैंमा महत्वपूर्ण हुन्छन्, केवल समाजलाई प्रभावित गर्ने माध्यम मात्र होइनन् ।
प्रश्न यो होइन कि हलिउडले गम्भीर वा सामाजिक सन्देश भएका फिल्म बनाउनुपर्छ कि पर्दैन । अवश्य बनाउनु पर्छ, र बनाइनेछ पनि । तर ‘प्रोजेक्ट हेल मेरी’ र हालका अन्य सफल फिल्महरूले के देखाएका छन् भने, अहिलेको नयाँ चरणमा दर्शक फेरि रमाइलो खोजिरहेका छन् भन्ने स्पष्ट संकेत देखिएको छ ।
द न्युयोर्क टाइम्सबाट ।
लेखक राय प्राइस अन्तर्राष्ट्रिय आर्ट मेसिन नामक मनोरञ्जन स्टुडियोका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले यसअघि अमेजन स्टुडियोका प्रमुखका रूपमा काम गरिसकेका छन् ।
प्रतिक्रिया 4