News Summary
Generated by OK AI. Editorially reviewed.- इरानी सिनेमा १०० वर्षभन्दा पुरानो इतिहास बोकेको छ र सरकारको कडा सेन्सरसिप र कम बजेटका बाबजुद पनि सिर्जनात्मकता कायम राखेको छ।
इरानी सिनेमाको इतिहास १०० वर्ष बढी पुरानो छ । यहाँ सिनेमाको विकास अन्य धेरै देशहरूको जस्तो सरल छैन । सिनेमाले लामो समय सरकारको कडा सेन्सरसिप भोग्नु परेको थियो । कम बजेट त अर्को समस्या छँदैछ ।
त्यसका बाबजुद पनि इरानी फिल्म निर्माताहरू कहिल्यै पछि परेनन् । उनीहरूले सधैं आफ्नो कला प्रस्तुत गर्ने नयाँ र सिर्जनात्मक बाटाहरू खोजिरहे । बजेट अभाव भए पनि उनीहरूले सरलतालाई ध्यान दिइरहे । जसले उनीहरूलाई पृथक बनायो । यही कारण इरानी सिनेमा आज मानवीय संवेदनाहरू चित्रण गर्न विश्वमै सफल छ ।
यस लेखमा ९ इरानी सिनेमाको चर्चा गरिएको छ:
१.नो डेट, नो सिग्नेचर (२०१७)

वाहिद जलिलभान्ड निर्देशित यो फिल्मले आधुनिक इरानी समाजको नैतिक द्वन्द्वलाई देखाएको छ । कथा एक फरेन्सिक डाक्टरको वरिपरि घुम्छ, जसले चलाएको कार एउटा गरिब परिवार सवार मोटरसाइकलसँग ठोक्किन्छ । भोलिपल्ट उनले काम गर्ने अस्पतालमा त्यही परिवारको सानो बच्चाको शव ल्याइन्छ ।
डाक्टरलाई लाग्छ कि बच्चाको मृत्यु उसको गाडीको ठक्करले भएको हो, जबकि पोस्टमार्टम रिपोर्टले अर्कै कारण देखाउँछ । यो फिल्मले अपराधबोध, सामाजिक उत्तरदायित्व र इमानदारीलाई निकै मार्मिक ढंगले देखाएको छ । यो फिल्मले भेनिस फिल्म फेस्टिभलमा ओरिजोन्टी सेक्सन अन्तर्गत उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेताको अवार्ड जितेको थियो।
२.नो बियर्स (२०२२)

जाफर पानाही यस्ता निर्देशक हुन्, जसले जेल सजाय र फिल्म बनाउन प्रतिबन्ध भोग्दा पनि लुकीछिपी फिल्म बनाइरहे । ‘नो बियर्स’ उनले प्रतिबन्धित अवस्थामै बनाएको पछिल्लो फिल्म हो । यसमा उनले दुईवटा समानान्तर प्रेमकथाहरू देखाएका छन् ।
फिल्ममा उनी आफैं एउटा पात्रका रूपमा छन्, जो सीमावर्ती गाउँमा बसेर टाढैबाट टर्कीमा भइरहेको फिल्म सुटिङलाई निर्देशन गर्छन् । उनको यस फिल्मले गाउँका अन्धविश्वास, सरकारी डर र आम जनताले भोग्नुपर्ने राजनीतिक दबाबलाई निकै सटिक ढंगले प्रस्तुत गरेको छ । यो फिल्ममा भालुको डरलाई जनतालाई नियन्त्रण गर्ने प्रतीकको रूपमा प्रयोग गरिएको छ ।
३.स्टिल लाइफ (१९७४)

सोहराब शाहिद सालेस इरानी फिल्मलाई नयाँ दिशा दिने निर्देशकका रूपमा चिनिन्छन् । उनको ‘स्टिल लाइफ’ इरानी नयाँ सिनेमाको लहर ल्याउने एउटा महत्त्वपूर्ण फिल्म हो । यसले एक वृद्ध रेलवे गार्ड र उनकी श्रीमतीको अत्यन्तै सादा र एक्लो जीवनको कथा भन्छ ।
३० वर्षसम्म एउटै ठाउँमा काम गरिरहेका उनलाई एक दिन अचानक अवकाश दिइन्छ । त्यसपछि केके हुन्छ ? फिल्ममा कथा अघि बढाइएको छ । यो फिल्ममा कुनै ठूला घटनाहरू छैनन् ।दैनिक जीवनका सानातिना गतिविधिहरू नै बढी छन् । तर, ती दृश्यहरूबाटै समयको संवेदनहीनता र आधुनिकताले पुराना मान्छेहरूलाई कसरी पाखा लगाउँछ भन्ने कुरालाई देखाइएको छ । यो फिल्मले १९७४ को बर्लिन फिल्म फेस्टिभलमा ‘सिल्भर बियर’ जितेर इरानी सिनेमाको अन्तर्राष्ट्रिय ढोका खोलेको थियो ।
४.फिस एन्ड क्याट (२०१३)

यो फिल्म प्राविधिक र रचनात्मक दुवै हिसाबले विश्व सिनेमाकै एउटा चमत्कार हो । शाहराम मोक्रीले निर्देश गरेको यो फिल्म १३४ मिनेट लामो छ । तर, यो पूरै फिल्मलाई एउटै पनि कट नगरी खिचिएको छ । यसको कथा केही विद्यार्थीहरूको समूहको वरिपरि घुम्छ, जो एउटा तालको किनारमा चङ्गा उडाउन गएका छन् । त्यहाँको एउटा सानो रेस्टुरेन्टका मान्छेहरू अलि शंकास्पद छन् । फिल्मले समयको रेखीय प्रवाहलाई भत्काउँछ । एउटै घटनालाई फरक-फरक दृष्टिकोणबाट दोहोरिएको देखाइन्छ । यसमा थ्रिलर र हरर विधाका तत्त्वहरू पनि पाइन्छन् । तर फिल्मको मुख्य आकर्षण भनेको यसको ‘न्यारेटिभ फर्म’ हो । निर्देशक मोक्रीले यसलाई ‘समयमा दृष्टिकोण’ बनाउने प्रयास भनेका छन् ।
५.अबाउट एली (२००९)

अस्घर फरहादीले बनाएको यो फिल्मले उनलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्यो । समुद्री किनारमा छुट्टी मनाउन गएका केही मध्यमवर्गीय साथीहरूको कथा यो फिल्मले भन्छ । त्यसबेला उनीहरूले आफूसँगै छोराछोरीको शिक्षिका एलीलाई पनि साथै लगेका हुन्छन् । तर, एली अचानक बेपत्ता हुन्छिन् । उनैलाई खोज्दा फिल्मको कथा अघि बढ्छ । फिल्मले इरानी समाजमा महिलाहरूको स्थिति, सम्मान र एउटा सानो झुटले कसरी सबैको जीवन तहसनहस पार्न सक्छ भन्ने कुरालाई निकै यथार्थपरक ढंगले देखाएको छ ।
६.चिल्ड्रेन अफ हेभन (१९९७)

सबैभन्दा बढी मन पराइएको इरानी फिल्ममध्ये एकमा पर्छ, माजिद माजिदी निर्देशित चिल्ड्रेन अफ हेभन । फिल्मको कथा अत्यन्तै सरल छ । फिल्ममा अलि नामको केटाले आफ्नी बहिनी जोहराको जुत्ता हरादिन्छ । त्यो जोहराको एक मात्र थियो र गरिब भएकाले नयाँ जुत्ता किन्ने पैसा थिएन । त्यसैले उनीहरूले एउटै जुत्ता पालैपालो लगाएर स्कूल जाने गोप्य योजना बनाउँछन् । त्यस बीचमा के हुन्छ भन्ने कथा फिल्मले भन्छ । यसरी यो फिल्ममा गरिबीका बाबजुद पनि बालबालिकाको निर्दोषता र दाजुबहिनीको प्रेमलाई सुन्दर तरिकाले देखाइएको छ । यो फिल्म ओस्कारको अन्तिम पाँचमा पुग्ने पहिलो इरानी फिल्म समेत हो ।
७.टेस्ट अफ चेरी (१९९७)

अब्बास कियारोस्तामी फिल्मप्रेमीबीच प्रेमिल नाम हो । यो उनैको फिल्म हो । कान्स फिल्म फेस्टिभलको ‘पाल्मे डी’ओर’ जितेको यो फिल्मलाई उत्कृष्ट इरानी फिल्म समेत भन्ने गरिन्छ । मिस्टर बदी नामका एक व्यक्ति आफ्नो कार लिएर तेहरानको सडकमा यस्तो मानिस खोज्दै हिँड्छन्, जसले उनलाई आत्महत्या गरेपछि खाल्डोमा पुरिदिन सकोस्।
आफ्नो यात्रामा उनले फरक-फरक पृष्ठभूमि भएका मान्छेहरूलाई भेट्छन् । फिल्मले आत्महत्याको बारेमा भन्दा पनि ‘जीवन किन बाँच्ने?’ भन्ने बारेमा बढी कुरा गर्छ । फिल्मको अन्त्य निकै दार्शनिक र अर्थपूर्ण छ, जसले दर्शकलाई लामो समयसम्म सोच्न बाध्य बनाउँछ ।
८.अ सेपरेसन (२०११)

यो फिल्मले इरानका लागि पहिलो पटक ओस्कार जितेर इतिहास रच्यो । यसले नादर र सिमिन नामका एक दम्पतीको कथा भन्छ, जो सम्बन्धविच्छेदको संघारमा हुन्छन् । तर फिल्मले पारिवारिक कलहको कथा मात्र भन्दैन । यसले इरानी समाजको वर्गभेद, धर्म र न्याय प्रणाली पनि देखाउँछ । त्यस्तै दर्शकमा फिल्मको हरेक पात्र आफ्नो ठाउँमा सही लाग्छ । जसले गर्दा दर्शकलाई कुन पात्रको पक्ष लिने भन्ने निर्णय गर्न कठिन हुन्छ । यस फिल्मको पटकथालाई विश्वकै उत्कृष्ट पटकथाहरूमध्ये एक मान्ने समेत धेरै छन् ।
९.क्लोज अप (१९९०)

यो फिल्मलाई समालोचकहरूले ‘सिनेमाको बारेमा बनाइएको सबैभन्दा राम्रो फिल्म’ भन्ने गरेका छन् । होसेन सबजियन नामको एक गरिबले आफूलाई चर्चित निर्देशक मोहसेन मखमलबाफ भन्दै एउटा परिवारलाई ठग्छ । यो फिल्म सोही वास्तविक घटनामा आधारित भएर बनाइएको छ । र यसका निर्देशक हुन्, अब्बास कियारोस्तामी । र, उनले उक्त घटना सुन्ना साथै फिल्मको रूप दिएका थिए । साथै त्यस घटनामा संलग्न वास्तविक पात्रहरूलाई नै फिल्ममा खेलाए ।
यो फिल्मले शक्ति, मान्छेको पहिचानको खोज र मानवीय सहानुभूतिलाई केस्रा केस्रा तरिकाले ले केलाएएको छ । यसले हामीलाई सिनेमा हेर्ने दृष्टिकोण नै बदल्ने क्षमता समेत राख्छ ।
प्रतिक्रिया 4