News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्मकर्मीहरूले राष्ट्रियता र ऐतिहासिक विषयमा फिल्म बनाउन राज्यको न्यून सहयोग र सेन्सरको कडा दृष्टिलाई चुनौती मानिरहेका छन्।
चलचित्र ‘काँडेतार ।’ यो नाम कतिले सुने होलान् ?
प्रचार तामझामका साथ गरिएकै थियो । तर यो चलचित्र हलमा आएको र उत्रिएको दर्शकले चालै पाएनन् । जसोतसो प्रदर्शन भएको दोस्रो दिनमै निर्माण पक्षले ‘काँडेतार’लाई हलबाट उतारे ।
नेपाल-भारतबीच हुने सीमा विवादलाई केन्द्रमा राखेर बनाइएको यो चलचित्र एक करोड बढी लगानीमा बनेको निर्देशक नवल खड्का बताउँछन् । त्यसो त नवल यस्तै फिल्म बनाउनेमध्येमा पर्छन्, जसले ‘भीमदत्त’, ‘दशगजा’, ‘क्रान्ति’, ‘आवाज’ निर्माण गरे । तर, अपेक्षाकृत कुनैपनि फिल्म चलेनन् ।
नेपालमा राष्ट्रियता र ऐतिहासिक विषयमा आधारित फिल्महरू फाट्टफुट्ट रूपमा निर्माण भइरहेका छन् । प्रायः राजनीतिक आन्दोलन, माओवादी युद्ध, सामाजिक न्याय, राष्ट्रिय पहिचान जस्ता विषयमा आधारित हुने गर्छन् । तर यस्ता विषयवस्तु समेटिएका फिल्मले नवल खड्काकै नियती भोग्नुपरेको छ ।
करिब ३० वर्षअघि तुलसी घिमिरेले एउटा फिल्म निर्देशन गरेका थिए, बलिदान । देशप्रेमको भावले ओतप्रोत बनाउने यो फिल्म भने अपवाद थियो, जो दर्शकले औधि रुचाए । अहिले पनि यसको प्रसंग बेलाबखत चल्छ । फिल्ममा समावेश ‘गरिबको चमेली’ र ‘गाउँ गाउँबाट उठ’ सर्वकालीन गीत बने । अहिले पनि देशप्रेमको सन्दर्भमा यी गीत घन्काउने गरिएको छ ।
ठीक यही नाममा सन्तोष सेनले अर्को फिल्म बनाए, जुन दर्शकले रुचाएनन् । फिल्मका कार्यकारी निर्माता प्रेम पुरी भन्छन्, ‘हामी निर्माता–निर्देशकले करोडौँ खर्चेर यस्ता फिल्म बनाउँछौँ तर लगानी उठाउनै गाह्रो हुन्छ ।’
अचम्मको कुरा के छ भने, बलिउडमा राष्ट्र र राष्ट्रियताको विषयमा बन्ने फिल्मले राम्रै बजार पाउने गर्छन् । रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ले प्रदर्शनको पहिलो दिन नै २८ करोड भारतीय रुपैयाँभन्दा बढीको कलेक्शन गर्दै रणवीरको करियरमै सबैभन्दा ठूलो ओपनिङको रेकर्ड बनायो । यस चलचित्रले संसारभरबाट ६०० करोड माथिको व्यापार गरेर सबै रेकर्ड तोड्यो ।
त्यस्तै सन् २००१ मा रिलिज भएको फिल्म ‘गदर’ त्यसबेला सर्वाधिक कमाइ गर्ने बलिउड फिल्ममध्ये एक बन्यो । उक्त फिल्मले त्यसैबेला १३५ करोड भारु कमाएको थियो । यसको कथा भारत–पाकिस्तान विभाजनको पृष्ठभूमिमा आधारित थियो । यसको सिक्वेल ‘गदर २’ ले त झन् ठूलो व्यापार गर्यो । यसको विश्वव्यापी ग्रस करिब ६८६ करोड भारु छ ।
भारतीय सिनेमामा राष्ट्रवादी, इतिहास–वीरतामा आधारित फिल्महरूलाई दर्शकको असाध्यै चासो छ । राज्यले त ज्यान दिएर चौतर्फी सहयोग गर्छ । यही कारण पनि यस्ता कथामा निर्माताहरू करोडौं खर्चेर फिल्म बनाइरहेका छन् ।
केही वर्ष अगाडि रिलिज भएको ‘उरी – द सर्जिकल स्ट्राइक’ एउटा वास्तविक घटनामा आधारित युद्ध–ड्रामा हो । यस फिल्मले भारतीय सेनाको २०१६ को ‘सर्जिकल स्ट्राइक’ लाई चित्रित गर्छ । भारतीय मिडियाहरूका रिपोर्ट अनुसार यसले ३४२ करोड विश्वव्यापी कलेक्शन गरेको थियो ।
अर्को चलचित्र ‘एयरलिफ्ट’ ले १९९० को इराक–कुवेत युद्धको समयमा भारतीय नागरिकको उद्धारको कथा उठाएको छ । यस चलचित्रले विश्वव्यापी रूपमा करिब २२१ करोड माथिको व्यापार गरेर २०१६ मा नयाँ रेकर्ड राखेको थियो ।
भारतीय फिल्म पण्डितहरू यस्ता कथामा देशभक्ति, समर्पण र मानवीय संघर्षलाई जोडेर प्रस्तुत गरिएकोले दर्शकको भावनालाई प्रभावकारी रूपमा छोएको टिप्पणी गर्छन् । वलिउडमा यस्ता कथामा वनेका अन्य चलचित्र केशरीले विश्वव्यापी रूपमा करिब २0७ करोड कमायो । छावाले ३00 करोड प्लसको व्यापार गर्यो ।
तर, नेपालमा यो किसिमका कथामा फिल्म बनाउने मेकर्सहरू आफ्नै लगानी जुटाउन नसकेर छटपटाइरहने अवस्था छ । सतप्रतिशत जोखिममा आफ्नै पसिना र संघर्षमार्फत फिल्म बनाइरहेका छन् मेकर्स ।
यस्ता फिल्मले राज्य र समाजका लागि धेरै महत्वपूर्ण भूमिका खेल्न सक्छ । ऐतिहासिक वीरता, राष्ट्रिय संघर्ष र समर्पणको कथा देखाएर युवामा गर्व र जिम्मेवारीको भावना विकास हुन्छ । भाषा, परम्परा र ऐतिहासिक तथ्यलाई फिल्ममार्फत अगाडि सार्न सहयोग गर्छ । विद्यालय र विश्वविद्यालयमा ऐतिहासिक विषय बुझाउन यस्ता फिल्महरु उपयोगी हुन सक्छ ।
यदि राज्यले उचित समर्थन दिएको भए, नेपाली फिल्मकर्मीहरू यस्ता संवेदनशील कथाहरूमा सजिलै फिल्म निर्माणमा उत्साहित हुने देखिन्छ । एक निर्माता भन्छन्, ‘यदि राज्य सक्रिय र बलियो हुन्थ्यो भने हामी हाम्रा धेरै कथाहरू फिल्ममार्फत बोल्न सक्थ्यौं । तर राज्य निरीह छ । हामी फिल्ममार्फत राष्ट्रको सम्मान, देशको सुरक्षा र हकहितमा सधैं नेपाली मर्न तयार छ भनेर देखाउन चाहन्छौं, तर यथार्थ प्रस्तुत गर्न कहिलेकाहीँ डर पनि लाग्छ ।’
उनको यो अभिव्यक्तिले नेपाली फिल्मकर्मीहरूको सीमित स्रोत, राज्यको न्यून सहयोग र संवेदनशील विषय प्रस्तुत गर्दा सामना गर्ने चुनौतीहरू प्रस्ट देखाउँछ ।
बलिदानका कार्यकारी निर्माता पुरी भन्छन्, ‘यी फिल्म प्रत्यक्ष रूपमा राज्यको हित, पक्ष र राष्ट्रिय विषयसँग जोडिएका हुन्छन् । तर राज्यले यस्ता फिल्म प्रदर्शन हुँदा माहोल तयार पारिदिनुपर्छ, केही कर छुट दिनुपर्छ, प्रचार–प्रसारमा सहयोग गर्नुपर्छ ।’
निर्माता पुरीले आगामी दिनमा सरकारले समग्र फिल्म उद्योग र फिल्मकर्मीको हकहितका लागि थप काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । विशेषगरी राष्ट्रियताको विषय बोकेका फिल्मलाई छुट्टै दृष्टिकोणबाट सम्बोधन गर्दै प्रोत्साहनको नीति ल्याउनुपर्ने उनको धारणा छ ।
मनोज पण्डित/चलचित्र विश्लेषक
राज्यले राष्ट्रियता बोकेका चलचित्रलाई हेर्ने दृष्टिकोणमा केही विरोधाभास देखिन्छ । ‘राष्ट्रियता’ भन्नेबित्तिकै छिमेकी देशहरूसँगको सम्बन्धमा असर पर्न सक्छ भन्ने आशंकाले यस्ता फिल्महरूमा सेन्सरको कडा दृष्टि लाग्ने गरेको छ । त्यस अर्थमा राज्यले राष्ट्रियता बोकेका फिल्मलाई दबाउन वा खुम्च्याउन खोजेको जस्तो अनुभूति हुन्छ ।
मेरो फिल्म रिलिज गर्दा पनि यस्तै परिस्थिति सामना गर्नुपरेको थियो । ठूलो संघर्षपछि मात्रै मैले आफ्नो प्रोजेक्टलाई दर्शकमाझ ल्याउन सकेँ । तर, दर्शकको रुचि भने स्पष्ट देखिन्छ । मैले बनाएको ‘ग्रेटर नेपाल’ नामक डकुमेन्ट्री सामान्य बजेटमा निर्माण गरिएको थियो, तर त्यसले लगानीको करिब ८०० गुणा आम्दानी गर्यो । यसको अर्थ ठूलो संख्यामा दर्शकले त्यो फिल्म हेरेका थिए ।
यसले के देखाउँछ भने राष्ट्रियताको विषयमा बनेका फिल्म हेर्न दर्शकको चासो छ । तर, प्रश्न उठ्छ– के हामीले वास्तवमै राष्ट्रियतालाई केन्द्रमा राखेर सिनेमा बनाएका छौँ ? हेर्दा त्यस्ता फिल्महरू निकै कम देखिन्छन् ।
राजनीतिक उद्देश्यले प्रेरित फिल्म र राष्ट्रियताको विषयमा बनेका फिल्म फरक हुन्छन् । राष्ट्रियताको फिल्मले राष्ट्रको सार्वभौमिकता, इतिहास र पहिचान जस्ता गम्भीर विषयमा कुरा गर्छ । तर यस्ता विषयमा फिल्म बनाउन धेरै नेपाली फिल्म निर्माता डराउने गर्छन् । पहिले यस्ता फिल्मलाई सहज रूपमा चल्न दिइएन, अब पनि नदिइने हो कि भन्ने मानसिकता धेरै मेकर्समा देखिन्छ ।
यद्यपि, थोरैले बनाएका केही फिल्महरूको प्रतिक्रिया हेर्दा दर्शक यस्ता विषयवस्तु भएका फिल्मप्रति उत्सुक रहेको स्पष्ट हुन्छ । समस्या दर्शकको रुचिमा होइन, सही ढंगले र प्रभावकारी रूपमा यस्ता सिनेमा निर्माण हुन नसक्नुमा देखिन्छ ।
नेपाली दर्शकहरू प्रायः मनोरञ्जनात्मक फिल्म हेर्न रुचाउँछन्। प्रेम, हास्य, व्यक्तिगत संघर्ष र भव्य दृश्य वा आकर्षक सिनेमाटोग्राफी भएका फिल्महरूतर्फ उनीहरूको झुकाव बढी देखिन्छ । यसको विपरीत, देशको सीमामा कांडेतार र पर्खाल निर्माणसँग जोडिएका कथाहरू, मधेसका विपन्न नागरिकले नागरिकता नपाउँदा भोग्नुपरेका संघर्ष, वा स्वदेशको राजनीतिक परिस्थितिका कारण विदेशिन बाध्य भएका युवाहरूको कथामा भावनात्मक कथा र आँसु मिसिएको भए पनि तिनले व्यापक रूपमा दर्शकको मन जित्न सकेका छैनन्।
यस्ता विषयमा काम गरिरहेका अधिकांश फिल्मकर्मीहरूको भनाइ उस्तै छ– राष्ट्रियता र ऐतिहासिक विषयमा आधारित फिल्म निर्माणका लागि राज्यले उचित सहयोग र प्रोत्साहन गरेन । राज्यको साथ र सहयोग नहुँदा यि किसिमका फिल्म निर्माण गर्नु वा नगर्नु लगभग उस्तै जस्तो हुने उनीहरूको तर्क छ ।
प्रतिक्रिया 4