News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशमा ३ चैतदेखि ६ चैतसम्म कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अधिकृतहरूका लागि तीन दिने नवीनतम कृषि प्रविधि तालिम सम्पन्न भएको छ।
- तालिमको उद्घाटनमा मन्त्री बीरबहादुर थापाले कृषि विकासका लागि नार्कसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो।
- तालिममा बालीनाली, बीउबिजन, रोगकीरा नियन्त्रण, माटो व्यवस्थापन र जलवायु-मैत्री कृषि प्रविधि विषयमा प्रशिक्षण दिइएको थियो।
६ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशका कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यरत अधिकृतहरूका लागि आयोजना गरिएको नवीनतम कृषि प्रविधिसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) द्वारा विकसित नयाँ प्रविधिहरूबारे जानकारी दिने उद्देश्यले ३ चैतदेखि धनगढीमा उक्त तालिम सञ्चालन गरिएको थियो ।
तालिमको उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीरबहादुर थापाले कृषि विकासका लागि नार्कसँग सहकार्य गर्न प्रदेश सरकार सधैं तयार रहेको बताए ।
उनले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउने र किसानका समस्या समाधान गर्न अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । समापन कार्यक्रममा मन्त्रालयका सचिव शंकर साहले बीउबिजन र प्रविधिको उपलब्धताका लागि अनुसन्धान र प्रदेशबीच सहकार्य आवश्यक रहेको बताए । उनले यस्ता कार्यक्रमले कृषि प्राविधिकहरूलाई नयाँ प्रविधिबारे अद्यावधिक रहन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक विनेशमान साखःले परिषद्ले स्थानीय र प्रदेश स्तरका प्राविधिकहरूका लागि निरन्तर तालिम सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने बताए ।
तालिममा सहभागीहरूका तर्फबाट बोल्दै दिपकराज ओझाले किसानका समस्या समाधानका लागि अनुसन्धानबाट प्राप्त उपलब्धिहरू सिक्न पाउँदा खुसी लागेको बताए ।
तालिममा बालीनाली, बीउबिजन, कृषि यान्त्रिकीकरण, माटो व्यवस्थापन, रोगकीरा नियन्त्रण, फलफूल, तरकारी, खाद्य तथा उत्पादनपश्चात् हुने क्षति न्यूनीकरण, आलु, सामाजिक-आर्थिक तथा जलवायु-मैत्री कृषि प्रविधिजस्ता विषयमा परिषद्ले विकास गरेका नयाँ प्रविधिहरूबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा विनेशमान साखः, डा. कालिकाप्रसाद उपाध्याय, डा. श्रीप्रसाद बिष्ट, डा. सुधा सापकोटा, डा. उमेश आचार्य, डा. घनश्याम भण्डारी, दिपक पाण्डे, रोमन कार्की, सागर महर्जन लगायतले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया 4