News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको खक्रौलामा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि आक्रमण गरेको अभियोगमा रामबहादुर साउदलाई पक्राउ गरिएको छ।
- सशस्त्र प्रहरीको बीओपीमा प्रवेश गरी आक्रमण गरेको आरोपमा पाँच जना फरार व्यक्तिहरूको खोजी भइरहेको छ।
- घटनाको छानविनका लागि सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ।
६ चैत, धनगढी । कैलालीको खक्रौलामा सशस्त्र प्रहरीको बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
डीएसपी पौडेलले दिएको जाहेरीका आधारमा टीकापुर नगरपालिका—९ बस्ने ४० वर्षीय रामबहादुर साउदलाई पक्राउ गरिएको हो ।
कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय टीकापुरले उनलाई पक्राउ गरेको जानकारी दिए । तिमिल्सिनाका अनुसार सशस्त्र प्रहरीका डीएसपी पौडेलले दिएको अपराधिक उपद्रव मुद्दामा साउदलाई पक्राउ गरिएको हो ।
साउदसँगै अन्य ५ जनाको नाममा समेत जाहेरी दिइएको छ । बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का र भारतको लखिमपुरखिरी बस्ने रशिद आलिखानविरुद्ध समेत जाहेरी दिइएको छ । फरार रहेका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको बीओपी खक्रौलाले जिएसटी बिल र भारतीय भन्सार पास गरेको टीकापुरका व्यवसायीको सामान मंगलबार जफत गरेपछि विवाद भएको थियो । सोही विषयमा छलफल गर्न टीकापुर उद्योग वाणिज्य संघको टोली छलफलका लागि बीओपी खक्रौलामा पुगेका बेला बुधबार सशस्त्र प्रहरीमाथि एक समूहले आक्रमण गरेको थियो ।
बिल बिजक भेटिएपछि भने सशस्त्र प्रहरीले व्यवसायीले भारतबाट ल्याएको सामान उद्योग वाणिज्य संघ मार्फत सम्बन्धीत व्यवसायीलाई फिर्ता गरेको थियो । घटनाको छानविनका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक(एसपी) अनिल कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ ।
प्रतिक्रिया 4