News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीमा वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका थिए, तर मुद्दा कमजोर बनाउन प्रहरीको भूमिका भएको पाइएको छ।
- प्रहरी निरीक्षक दानसिंह भण्डारीसहितका प्रहरीमाथि छानबिन समितिले कारबाही सिफारिस गरेको छ, तर चुनावका कारण कारबाही ढिलाइ भएको छ।
- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन प्रतिवेदन बुझाएर कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।
१ चैत, धनगढी । कैलालीमा वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेको घटनामा मुद्दा कमजोर बनाउन भूमिका खेलेको आरोपमा केही प्रहरीमाथि कारबाही सिफारिस गरिएको छ । तर प्रहरी नियमावलीअनुसार सिफारिसमा परेका प्रहरीलाई कारबाही गर्न भने ढिलाइ भइरहेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीले गत ९ साउनमा गोदावरी नगरपालिका–८ बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित स्थानीय २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरीलाई पक्राउ गरेको थियो ।
तर, पक्राउ परेकामाथि मुद्दा चलाउने क्रममा भने चित्तलको सिङ र खुट्टा विवरणमा नदेखाएर गायब पारिएको पाइएपछि तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दानसिंह भण्डारीसहितका प्रहरी कर्मचारीमाथि छानबिन गरिएको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तव नेतृत्वको समितिले यो प्रकरणको छानबिन गर्दै गत पुसको पहिलो साता प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनअनुसार प्रहरी निरीक्षक भण्डारीसहितका प्रहरीले बरामद वन्युजन्तुको अंग लुकाउने कार्यमा भूमिका खेलेको पाइएको भन्दै नियमावलीबमोजिम कारबाही सिफारिस गरिएको छ ।
तर, छानबिन समितिले प्रतिवेदन बुझाएको तीन महिना बितिसक्दा समेत सिफारिसअनुसार उनीहरूमाथि कारबाही भएको छैन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले निर्वाचनका कारण कारवाही गर्न ढिलाइ भएको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीलाई छानबिन समितिको सिफारिसअनुसार कारबाही गर्न निर्देशन भइसकेकाले चाँडै गरिने रानाले बताए ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले पनि चुनावका कारण केही ढिलो भए पनि छानबिनको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार छानबिन समितिको सिफारिसअनुसार घटनामा मुछिएका प्रहरी निरीक्षक भण्डारीसहितका प्रहरीलाई स्पष्टीकरण सोधिएको र जवाफ आएपछि थप कारबाही प्रक्रिया अघि बढाइने छ ।
वन्यजन्तुको अंग लुकाउन भूमिका खेलेको आरोपमा कारबाही सिफारिस परेका इप्रका मालाखेतीका मुद्दा शाखाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारी अहिले इलाका प्रहरी कार्यालय साँफेबगरमा कार्यरत छन् ।
बन्दुक र वन्यजन्तुको अंगसहित दुई जना पक्राउ परेको घटनामा आर्थिक चलखेल गर्दै वन्यजन्तुको अंग लुकाएर मुद्दा कमजोर बनाएको भन्दै भण्डारीविरुद्ध प्रहरी प्रधान कार्यालयमा बेनामे उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार प्रदेशले इलाका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
सो समितिले बुझाएको प्रतिवेदन चित्तबुझ्दो नदेखिएको भन्दै पुन: प्रदेशले डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
प्रतिक्रिया 4