News Summary
Generated by OK AI. Editorially reviewed.- सोनी पिक्चर्सले सार्वजनिक गरेको 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे'को ट्रेलरले २४ घण्टामा ७१८.६ मिलियन भ्युज पाउँदै सबैभन्दा धेरै हेरिएको ट्रेलर बनेको छ।
- टम हल्याण्ड अभिनित 'ब्रान्ड न्यू डे'को कथाले 'नो वे होम'पछि चार वर्ष बितिसकेको देखाउँछ र पिटर पार्करले एक्लै जीवन बिताइरहेका छन्।
- फिल्म आगामी जुलाई ३१ मा विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ र यसमा जेन्डाया, स्याडी सिङ्क, मार्क रफालो लगायतको अभिनय छ।
लस एन्जलस । ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’को ट्रेलरले रिलिजसँगै इतिहास रच्न थालेको छ । सोनी पिक्चर्सले बुधबार बिहान सार्वजनिक गरेको ट्रेलरले २४ घण्टाभित्रै ७१८.६ मिलियन भ्युज पाउँदै अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको ट्रेलर बनेको छ ।
यस ट्रेलरले यसअघि ‘डेडपुल एन्ड वुल्भरिन’को नाममा रहेको ३६५ मिलियन भ्युजको रेकर्ड तोडेको हो । रोचक कुरा के भने, ‘ब्रान्ड न्यू डे’को ट्रेलरले मात्र ८ घण्टामै ३७३ मिलियन भ्युज पाउँदै ‘डेडपुल ३’को रेकर्ड समेत पार गरिसकेको थियो, जुन २०२४ को सुपर बाउलका क्रममा सार्वजनिक गरिएको थियो ।
यसअघि ‘डेडपुल ३’ले २०२१ मा आएको ‘स्पाइडर-म्यानः नो वे होम’को ट्रेलरको २४ घण्टामा ३५५.५ मिलियन भ्युजको रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको थियो ।
यसले गत वर्ष निकै प्रतिक्षित भिडियो गेम ‘ग्रान्ड थेफ्ट अटो भीआई’को ट्रेलरलाई पनि पछि पारेको छ, जसले २४ घण्टामा ४७५ मिलियन भ्युज पाउँदै सबैभन्दा धेरै हेरिएको भिडियो ट्रेलरको कीर्तिमान बनाएको थियो ।
‘ब्रान्ड न्यू डे’को ट्रेलरप्रति उत्साह बढाउनका लागि सोनीले यसको पूर्ण भिडियो आउनुभन्दा एक दिनअघि नै साना-साना झलक सार्वजनिक गरेको थियो। त्यसले दर्शकको चासो अझ बढाएको देखिन्छ ।
‘ब्रान्ड न्यू डे’ टम हल्याण्डले ‘नो वे होम’पछि फेरि स्पाइडर-म्यानको रूपमा देखिएको पहिलो फिल्म हो । ‘नो वे होम’ले अघिल्ला स्पाइडर-म्यान टबी म्याग्वायर र एन्ड्र्यु गारफिल्डलाई एउटै कथामा जोड्दै ठूलो सफलता हासिल गरेको थियो । उक्त फिल्मले विश्वव्यापी बक्स अफिसमा करिब १.९ अर्ब डलर कमाएको थियो ।
‘ब्रान्ड न्यू डे’को कथाले भने ‘नो वे होम’पछि चार वर्ष बितिसकेको देखाउँछ । अहिले पिटर पार्कर पूर्ण रूपमा एक्लै जीवन बिताइरहेका छन्, किनकि उनले आफूलाई आफ्ना प्रियजनहरूको सम्झना र जीवनबाट हटाउने निर्णय गरेका थिए ।
अब उनी न्यूयोर्क सहरमा, जहाँ कसैले उनको वास्तविक पहिचान थाहा पाउँदैन, पूर्ण रूपमा अपराध नियन्त्रणमा केन्द्रित छन् । स्पाइडर-म्यानको भूमिकामा उनी दिनरात सहरको सुरक्षामा खटिरहेका छन् ।
तर जिम्मेवारी बढ्दै जाँदा उनीमाथि पर्ने दबाबले शारीरिक रूपमा पनि अनौठो परिवर्तन ल्याउन थाल्छ, जसले उनको अस्तित्वमै खतरा पैदा गर्न सक्छ । यहीबीच नयाँ प्रकारका अपराध देखा पर्न थाल्छन्, जसले उनलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चुनौतीसँग सामना गराउँछ ।
फिल्ममा टम हल्याण्डसँगै जेन्डाया, स्याडी सिङ्क, ज्याकब बटालोन, जोन बन्र्थल, ट्रामेल टिलम्यान, माइकल माण्डो र मार्क रफालोको अभिनय छ ।
निर्देशन डेस्टिन ड्यानियल क्रेटनले गरेका हुन् भने पटकथा लेखन क्रिस म्याकेना र एरिक सोमर्सले गरेका छन् । निर्माता टोलीमा केभिन फाइगी, एमी पास्कल, एभी अराड र राचेल ओ’कोनर छन् । कार्यकारी निर्मातामा लुइस डी’एस्पोसिटो र डेभिड केन छन् ।
‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ आगामी जुलाई ३१ मा विश्वभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ ।
प्रतिक्रिया 4