६ फागुन, जनकपुरधाम (धनुषा) । तीनपटक काठमाडौंबाट चुनाव जितेका कांग्रेस सभापति गगन थापा यसपटक संसदीय भूगोल बदलेर सर्लाही-४ मा झरेका छन् ।
यही सर्लाही-४को भूमिबाट केही किलोमिटर पर मधेशको राजधानी जनकपुरमा बुधबार उनले अब आफ्नो संसदीय भूगोल मात्र बदलिएको कुरा गरेनन्, मूलुक बदल्ने प्रतिज्ञा गरे ।
अहिले बलिएको कांग्रेसको चित्रण गर्न ‘कांग्रेस- २.०’ को ह्यासट्याग चल्न थालेको छ । जसको ट्रेलर बुधबार जनकपुर सभाबाट सार्वजनिक गरियो ।
कांग्रेसको पूर्वनिर्धारित कार्यतालिका अनुसार चुनावी प्रतिज्ञापत्र गत फागुन ३ गते नै कांग्रेसको पार्टी कार्यालय सनेपाबाट सार्वजनिक गर्ने भन्ने थियो । तर, यो कार्यतालिका बदलेर प्रतिज्ञापत्र सार्जनिक गर्ने स्थान मधेशको राजधानी जनकपुरलाई रोजियो ।
यहाँबाट भावी प्रधानमन्त्रीका रुपमा पार्टीले तय गरेका गगन थापाको सरकारले पाँच वर्षमा देश बदल्ने खाका पनि सार्वजनिक भएको छ । जसलाई नाम दिइएको छ : भिजन-१० ।

फागुन २१ को चुनावका लागि कांग्रेसले पहिलो चुनावी सभा मधेशमै किन रोज्यो र यहाँबाट के सन्देश दिन खोजिएको हो ? के सभापति गगन थापा सर्लाही झरेको कारण पहिलो शक्ति प्रदर्शन गर्ने स्थल जनकपुर छानिएको हो ?
सभामा आएका सहभागी र नेताहरूका अभिव्यक्तिअनुसार कारण त्यति मात्र होइन ।
किनकी, अहिले चुनावमा कांग्रेसले पनि पुराना भन्दा नयाँ उदाएका राजनीतिक शक्तिहरुलाई आफ्नो मूल प्रतिस्पर्धी ठानेको छ । मधेशकै भूमिको व्यक्ति भावी प्रधानमन्त्री भन्दै रास्वपाले केही साताअघि जनकपुरमै नेता बालेन शाहलाई ल्याएर सभा गरेको थियो ।
रास्वपाले नै सभा गरेको स्थल तिरहुतीया गाछीमा कांग्रेसले बुधबार सभा गरेर मधेशकै भूमिबाट निर्वाचित हुने व्यक्तिले देशको नेतृत्व गर्ने उद्घोष गर्यो । सभाबाट सभापति थापाले भने- ‘कांग्रेस बदलिएर आएको छ । अब देश बदल्छ ।‘
कांग्रेसका ३२ जना उम्मेदवारहरू समेत उपस्थित रहेको सभामा कांग्रेसका मुख्य शीर्ष नेताहरू पनि सहभागी थिए ।
विशेष महाधिवेशनबाट चिरा परेको मनोविज्ञानलाई जोड्न खोजिएको थियो ।
थापा लगायतका नेताहरूले बोलाएको विशेष महाधिवेशनको विपक्षमा रहेका नेता विमलेन्द्र निधिले सँगै बसेर सभामा उपस्थितलाई अभिवादन गरे ।

सभाबाट कांग्रेसभित्र आएको बदलावप्रति स्वीकार्यता बढेको छ भन्ने सन्देश दिन खोजिएको थियो ।
मुलुकको भविष्य तय गर्ने खाका सार्वजनिक गर्दै गर्दा कांग्रेसको सभामा इतिहासको स्मरण गर्न सभापित गगनले भुलेनन् ।
मधेशको भूमिबाट नेपालका प्रजातान्त्रिक आन्दोलनका योद्दाहरू कामेश्वर- कुशेश्वर, मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोदेखि जनेजी आन्दोलनका शहिदहरूको समेत सम्झना गरे ।
‘नेपाली कांग्रेस सुविधामा जन्मेको होइन, अप्ठेरोमा बनेको हो,’ थापाले भने,’अब त्यसलाई पुनर्जागृत गर्नुपर्छ ।‘
इतिहास देखि नै मधेश कांग्रेसको शक्तिको स्रोत थियो । मधेशकै नेताहरू कांग्रेसको प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू पनि थिए ।
तर,२०६२/०६३ को आन्दोलनपछि मधेशमा क्रमश कांग्रेसको शक्ति कमजोर हुँदै गयो । महन्थ ठाकुर लगायतका नेताहरूले मधेशी मुद्दा बोकेर छुट्टै पार्टी गठन गरेर हिँडेपछि अहिलेसम्म पनि कांग्रेस पुरानो लयमा फर्किन सकेको छैन ।
शुरुमा संघीयताप्रतिको उदार नीतिको अभाव र संघीयता लागू भएपछि सरकारको नेतृत्व गर्दा पनि कांग्रेसले संघबाट गर्न नसकेका कामका कारण मधेशमा कांग्रेसको लय फर्केको थिएन ।
त्यसैले यसपटक मधेशबाट शक्ति पुर्जिवित गर्ने योजना कांग्रेसले बुधबारको सभाबाट दिन खोज्यो ।

मधेश प्रदेशमा मात्र अहिले ३६ लाख ३६ हजार मतदाता छन् । यहाँका ८ वटा जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । यदी यो प्रदेशमा राम्रो जित हासिल गर्न नसकेको अवस्थामा प्रतिनिधि सभामा उल्लेख्य उपस्थिति हुन गार्हो छ ।
अहिले नै चुनावी अभियानमा ‘अबकी बार १०० पार’ नारा तुल ब्यानरमा टाँगिइसकेका छन् । यो लक्ष्य पार गर्नका लागि पनि कांग्रेसका लागि मूल आधार भूमि मधेश हुन्छ ।
त्यसैले यहाँका मुख्य मुद्दाहरूलाई सम्बोधन गर्न सभापति थापाले संघीयतालाई मजबुत पार्नेदेखि वैदेशिक रोजगारीका समस्या समाधान गर्ने सम्मका विषय उठाए ।
‘११७ जनाको साहदतपछि संघीयता आएको हो । संघीयता किन चाहिन्छ भनेर पुष्टि गर्न चाहन्छौं’ सभापति थापाले भने,’कतारमा भएका साथीहरुलाई सलाम र सम्मान छ । कुनै न कुनै दिन मालिक बन्न सकिन्छ । हामी हजारौं रोजगारी सिर्जना हुने यही बनाउँछौं ।
३० औं वर्षमा नगरेका कामलाई पाँचै बर्षभित्र पुरा गर्न सकिने दाबी गर्दै गर्दा उनले उपस्थित नेता कार्यकर्ताहरूलाई ढाडस पनि दिए । ‘ जो-जो यहाँ आउनुभएको छ, सबैले अब आफ्नो क्षेत्रमा गएर भन्नुहोस् । हामी मत माग्न मात्र होइन विश्वास माग्न आएका हौं । कांग्रेस तपाईंहरूसँगै हिँड्छ ।‘
मधेशीहरूलाई काठमाडौंमा गरिने व्यवहारदेखि नेपाली सेनामा मधेशीहरू कम रहेको भन्दै बेलाबखत चर्चा हुने गरेको छ । यसले मधेशीहरूमा सिर्जना भएको मनोविज्ञानलाई चिर्ने प्रयास पनि सभापति थापाले गरे ।

‘म मधेशको बेटा हुन आएको हो । मेरो रगतमा कामेश्वर-कुशेश्वरको सपना छ । म मधेशको माइको सपना पुरा गर्न आएको छु । म यहाँ हिजोका विषयहरूको प्रेरणा लिएर आएको छु’ उनले भने,’ मधेशको भूमि राष्टपति राष्ट्रपति बनाउने कांग्रेसले । अब सेनापति मधेशको सेनापति बनाउने हो । सिंहदरबार र बालुवाटारमा धोतिकुर्ता सानका साथ लाउने हो ।‘
भदौं २३ र २४ को जेनजी आन्दोलनले अहिले मुलुक अहिले करिब ध्रुविकृत जस्तो पनि छ । कसैले २३ गतेको घटनालाई दमन भनिरहेका छन् । कसैले २४ गतेको घटनालाई विध्वंस भनिरहेका छन् । यी दुवै धारणा लिएर हिंड्ने भन्दा बीचको बाटो कांग्रेसले लिइरहेको सन्देश पनि सभाबाटै नेताहरूले दिए । यी दुवै घटनाका कर्ताहरूप्रति आलोचना गर्दै अब यस्तो खालको अवस्था नै आउन नदिने वाचा गरे ।
‘भदौ २३ जसरी अब युवा मारिन्नन्, नकावधारीले सिंहदरबार जलाउन पाउन्न । यो हाम्रो प्रतिज्ञा हो । हामी यस्तो नेपाल बनाउन चाहन्छौँ ’ थापाले भने ।
भदौ २३ र २४ गते सडकमा आएका युवाको भावना कांग्रेसले सम्बोधन गर्ने उनले दाबी गरे । ‘ती हाम्रै भाइभतिजा हुन् । जेनजी भनेको कहीँबाट आएको होइन हाम्रै कमजोरीले आएको हो,’ सभापति थापाले भने ।
कांग्रेसको २.० को यो खाका गगन थापाको नेतृत्वमा कार्यान्वयन गर्ने योजनामा धेरै सारथीहरू जोडिएका छन् । त्यसमध्येका एक नेता उपसभापति विश्वप्रकाश शर्माले पनि जनकपुरको सभामा बदलिएको कांग्रेसको भावी स्वरुप कस्तो हुन्छ भन्ने धारणा राखेर कार्यकर्ताहरूलाई विश्वासमा लिन खोजे । ‘भदौ २३ र २४ दुवै खालको प्रबृत्ति गलत छ,’ उनले भने, ‘अब बदलिएको कांग्रेसले यस्ता प्रबृत्तिहरू आउन दिन्न ।’

उनले अब जसले आफूलाई बदल्न सक्छ उसले मात्र देश बदल्ने सक्ने भएकाले बदलिएको कांग्रेसलाई विश्वास गर्न आग्रह गरे ।
‘हामी नयाँ पुस्ताका भावना सम्बोधन गर्नका लागि तयार छौं । निर्वाचन सकिएपछि संविधान संशोधन गर्न तयार छौं’ उपसभापति शर्माले भने ।
बदलिएको कांग्रेसको सन्देश दिने सभामा विगतमा भन्दा स्पष्ट भिजनहरू पेश भएका थिए । मुलुकको पटकपटक नेतृत्व गरेपनि देश परिवर्तनको भिजन दिने मामिलामा अल्छी बन्दै आएको कांग्रेसमा बुधबार स्पष्ट भाषामा गगन र विश्वले आफ्ना योजनाहरू राखेका थिए । ती धारणा सुन्दा मञ्च तल बसेका कार्यकर्ताहरूले ताली पनि बजाए ।
राजनीतिक भेला र मञ्चहरुमा कहाँ कति व्यक्ति आएका थिए वा सहभागी भए भन्ने आधारमा शक्ति मापन गर्ने शैली अहिले पनि बदलिएको छैन । त्यसैले जनकपुरका चोकहरूमा कांग्रेसको सभामा एकमहिना अघि भएको रास्वपाको भन्दा बढी मान्छे आएका छन् कि छैनन् भन्ने रमिता हेर्न आएकाहरू पनि थिए । बसमा ओसारेर आएका व्यक्तिहरू पनि थिए ।
यसरी आएका मान्छेहरूले त शक्तिको कति मापन होला अनुमान गर्न गार्हो होला । तर, तिरहुतीय गाछीको मैदानबाट कांग्रेसले धेरै लामो समयपछि आत्मविश्वासकासाथ आफ्नो भिजन सार्वजनिक गरेको छ । नेतृत्व गर्ने सक्ने दाबी गरेको छ । मधेशको भूमिमा गढेको इतिहासको जरा खोज्दै आएको कांग्रेसको रुख अब चुनावमा झांगिन्छ कि उस्तै रहन्छ ? फागुन २१ को प्रतिक्षा छ ।
तस्वीर/भिडियो : कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4