+
+

आजदेखि एनएसएल, काठमाडौं रेजर्स र स्पोर्टिङ इलामबीच उद्घाटन खेल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते ७:३२

८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।

साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका युवा स्ट्राइकर हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै यथावत छन् । यस्तै पहिलो सिजन काठमाडौं च्याम्पियन बन्दा मार्की र कप्तान रहेका गोलकिपर विकेश कुथु यस पटक इलामको मार्की छन् ।

इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसी पहिलो सिजन एफसी चितवनका प्रशिक्षक थिए ।

काठमाडौंको टिममा यसपटक धेरै पेरबदल भएको छ । पहिलो संस्करणको उपाधि जित्दाका डिफेण्डर अन्जन राई मात्र टिममा छन् ।

उता इलाममा भने काठमाडौंबाट पहिलो सिजन उपाधि जितेका कप्तान विकेशसहित डिफेण्डरद्वय विमल पाण्डे, आशिष गुरुङ र आशिष राई छन् ।

काठमाडौंमा कप्तानसहित युवा खेलाडीहरुको बाहुल्य छ भने इलाममा राष्ट्रिय टिमबाट खेलेका अनुभवी खेलाडीहरु छन् । गत सिजन चितवनका मार्की रहेका फरवार्ड भरत खवास पनि यस पटक इलाममा छन् । यस्तै राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि इलामकै टिममा छन् ।

साविक विजेता भएकोले काठमाडौंको एक मात्र लक्ष्य उपाधि रक्षा नै रहेको छ । मुख्य प्रशिक्षक बालगोपालले यस सिजन पनि च्याम्पियन नै बन्ने उसको लक्ष्य छ । ‘हामी काठमाडौंको घरेलु टोली हौं । पहिलो सिजन जितेर एउटा तारा राख्यौं अब त्यसमा अर्को तारा थप्ने लक्ष्य छ,’ उनले भनेका छन् ।

त्यसैले नयाँ टोली इलामविरुद्धको पहिलो खेलमा सुखद नतिजासहित उपाधि रक्षा अभियान थाल्ने काठमाडौंको योजना छ । ‘पहिलो खेल सधैं महत्वपूर्ण हुन्छ । प्रिसिजनको तयारी र मैत्रीपूर्ण खेलको प्रदर्शन अनुसार पहिलो खेल खेल्दै राम्रो नतिजाबाट सुरुवात गर्न चाहन्छौं,’ बालगोपाल महर्जनले भने ।

उता डेब्यूटान्ट इलामका प्रशिक्षक केसीले साविक विजेता टोलीविरुद्ध जित निकालेर प्रतियोगिताको सुरुवात गर्न चाहेको बताएका छन् । ‘पहिलो खेलका लागि हाम्रो टिम तयार छ । हामी राम्रो फुटबल नेपाली दर्शकको माझ दिएर पहिलो जितसहित प्रतियोगिता सुरु गर्न चाहन्छौं ।’

यसपटक एनएसएलमा पाँच विदेशी खेलाडी राख्ने पाउने प्रावधान छ । जसले गर्दा सहभागी टोलीहरु पनि उत्साहित छन् । काठमाडौंका प्रशिक्षक बालगोपालले त विदेशी खेलाडी नै धेरै हदसम्म निर्णायक बन्न सक्ने बताए । ‘विदेशी खेलाडीको संख्या बढाएर पाँच बनाइएको छ । जसले गर्दा फाइदा हुन्छ । उनीहरुबाट युवा खेलाडीबाट सिक्ने अवसर पनि हुन्छ । विदेशी खेलाडीको प्रदर्शन निर्णाक हुन सक्छ ।’

काठमाडौंको टिममा घरेलु फुटबलमा खेलिसकेका आन्द्रे निया र जुनिएर एनकुनगुएसहित क्यामरुनका तीन र उज्वेकिस्तानका पाँच खेलाडी छन् ।

पहिलो सिजन च्याम्पियन बन्दा मेसुके ओलोमोउ र स्टेफेन विनोङको जोडी खुबै जमेको थियो । यसपटक पनि विदेशी खेलाडी त्यस्तै प्रभावकारकी हुने हुने प्रशिक्षक महर्जनको विश्वास छ ।

उता इलाममा भने सेनेगलका एकेडेमीबाट चार खेलाडी आएका छन् । उनीहरु क्षमतावान रहेको इलामका प्रशिक्षक केसीले बताए ।

काठमाडौं र इलामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । त्यसअघि उद्घाटन समारोह हुनेछ । जहाँ विभिन्न सांगीत प्रस्तुति हुनेछन् ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार उद्घाटन समारोहमा गायकद्वय सुशान्त केसी र वाङ्गदेन शेर्पा तथा ट्वीनी गर्ल्स (प्रिन्सी र प्रिज्मा खतिवडा) को प्रस्तुति हुनेछ ।

कोभिड महामारीका कारण पहिलो संस्करण विना दर्शक आयोजना हादा दर्शकहरुले घरमै बसेर टेलिभिजनमा हेरेका थिए । यसपटक दर्शकसहितको एनएसएल हुँदा आयोजक, सहभागी क्लब र खेलाडी सबै उत्साहित छन् ।

यस्तै आयोजकले डिजे, चियरलिडरदेखि फुड स्टल समेत राख्ने जनाएको छ । मैदानमा एलइडी विज्ञापन बोर्ड पनि राख्ने आयोजकले जनाएको छ ।

एनएसएलमार्फत नेपाली फुटबलको स्तर विकास गर्ने र संस्कार फर्काउने प्रयास रहेको आयोजकले जनाएको छ ।

यस्तो छ खेल तालिका

यसपटक तीन नयाँ टोलीसहित कुल ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता काठमाडौं रेजर्स एफसी, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसी यथावत छन् भने पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसी यस पटक सहभागि छैन ।

यस्तै नयाँ टोलीमा झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगंज युनाइटेड थपिएका छन् ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।

सिंगल राउण्ड रोविनमा हुने लिगमा लिगमा कूल ४० खेल हुनेछ । जसमा लिग चरणमा हरेक टोद्यीले एक आपसमा खेल्नेछन् र ३६ खेल हुनेछ । त्यसपछि प्लेअफमा चार खेल हुनेछ । जहाँ शीर्ष दुई टिमले क्वालिफायर खेल्नेछन् र विजेता फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछन् र यसको विजेताले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

६ दिन दुई/दुई खेल हुनेछ । जसमा पहिलो पहिलो दिउँसो १ बजे सुरु हुनेछ र साँझको खेल साढे ५ बजे सुरु हुनेछ । दिउँसो जम्मा ६ खेल मात्र हुनेछ । बाँकी सबै खेल साँझ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?