News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानले १४औँ दक्षिण एसियाली खेलकुद सन् २०२७ अप्रिल २० देखि २८ सम्म इस्लामाबाद, लाहोर र पेसावरमा गर्ने निर्णय गरेको छ।
- पाकिस्तानमा राजनीतिक अस्थिरता, आर्थिक मन्दी र सुरक्षा चुनौतीका कारण साग पटक–पटक सारिँदै आएको छ।
- भारतले बैठकमा भर्चुअल सहभागिता जनाए पनि आफ्ना खेलाडी पाकिस्तान पठाउने विषयमा आधिकारिक सहमति जनाएको छैन।
पाकिस्तानको आन्तरिक राजनीतिक अवस्था, कमजोर सुरक्षा व्यवस्था, आर्थिक मन्दी र क्षेत्रीय कूटनीतिक तनावजस्ता प्रमुख कारणले गर्दा आयोजक राष्ट्र पाकिस्तानले १४औँ दक्षिण एसियाली खेलकुद (साग) पटक–पटक सार्दै आएको छ।
विगत केही वर्षयता तीव्र राजनीतिक अस्थिरताबाट पाकिस्तान गुज्रिरहेको छ, जसले गर्दा सरकार परिवर्तन भइरहने र राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्वका कारण खेलकुद प्राथमिकतामा पर्न सकेको छैन।
सन् २०१९ मा नेपालले सफलतापूर्वक १३औँ साग सम्पन्न गरी पाकिस्तानलाई १४औँ साग आयोजनाको जिम्मेवारी दिँदा इमरान खान सरकार प्रमुख थिए। उनी अहिले आर्थिक अनियमिततालगायत विविध आरोपमा जेलमा छन्।
त्यसपछि पनि सरकार परिवर्तनको क्रम चलि नै रहेको देखिन्छ। यसरी सरकार परिवर्तनपिच्छे खेलकुद मन्त्रालय र खेलकुदका पदाधिकारी फेरबदल हुँदा साग आयोजनाको तयारीले पनि गति लिन नसकेको देखिन्छ।
पाकिस्तानमा हालैका वर्षहरूमा भइरहेको चरम आर्थिक मन्दी र मुद्रास्फीतिले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको भन्ने छ। वैदेशिक ऋणको भार र आर्थिक संकटका कारण पाकिस्तान सरकारको प्राथमिकतामा खेलकुदभन्दा देशको अर्थतन्त्र सुधार गर्ने विषय केन्द्रित हुँदै आएको थियो, जुन अहिले पनि निरन्तर छँदै छ।
यसका साथै अर्को मुख्य विषय भनेको पाकिस्तानभित्रको सुरक्षा चुनौती नै हो। पाकिस्तानमा सुरक्षाको अवस्था सधैँ संवेदनशील रहँदै आएको पाइन्छ। भारत–पाकिस्तानबीच मात्र नभई अफगानिस्तानसँग सीमा जोडिएका प्रान्तहरूमा सुरक्षा अवस्था पछिल्लो समय निकै संवेदनशील बन्दै गएको छ।
त्यहाँ भइरहने विस्फोटन र लडाकु समूहहरूको सक्रियताका कारण जहिल्यै पनि खेलकुदलगायत अन्य अन्तर्राष्ट्रिय ठूला सभा–समारोह गर्न चुनौतीपूर्ण बन्ने गरेको छ। सन् २००९ मा लाहोरमा श्रीलंकाली क्रिकेट टोलीमाथि भएको आतंककारी हमला अझै पनि धेरैको मानसपटलमा ताजै हुनुपर्छ।
उक्त आक्रमणमा ८ जना पाकिस्तानी सुरक्षाकर्मी र सर्वसाधारणको मृत्यु हुनुका साथै केही श्रीलंकाली क्रिकेट खेलाडीसमेत गम्भीर घाइते भएका थिए। उक्त घटनालगत्तै श्रीलंकाली टोलीले आफ्नो भ्रमण बीचमै रद्द गरी स्वदेश फर्किनुपरेको थियो भने पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको ढोका लामो समयका लागि बन्द भएको थियो।
विदेशी टोलीहरूले सुरक्षाको कारण देखाउँदै पाकिस्तानमा खेल्न अस्वीकार गर्दा लामो समयसम्म उसले आफ्ना घरेलु खेलहरू अन्यत्र खेल्नुपरेको थियो। लामो समयपछि सन् २०१५ मा आएर बल्ल पाकिस्तानमा क्रिकेट खेल्न जिम्बाब्वे टोली पुगेको थियो। यस्तो अवस्थामा हजारौँ विदेशी खेलाडी र अफिसियलहरूलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सक्नु पाकिस्तानका लागि ठूलो चुनौती बनेको छ।
यसपालि सागलाई उच्च प्राथमिकतामा राख्दै पाकिस्तान सरकारले खेलकुदका लागि बजेट स्वीकृत गरी संघीय राजधानी इस्लामाबाद, पन्जाबको राजधानी लाहोर र खैबर पख्तुनख्वाको राजधानी पेसावरमा प्रतियोगिता सञ्चालन गर्ने योजनासहित आवश्यक तयारी गर्दै आएको पाइन्छ।
यी तीन सहरमध्ये अफगानिस्तानको सीमा नजिक रहेको पेसावरलाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील सहरका रूपमा लिइन्छ। हालैका दिनमा पाकिस्तान–अफगानिस्तानबीचको बिग्रँदो सम्बन्ध र लडाकु समूहहरूका गतिविधि भइरहने क्षेत्र भएका कारण अन्तर्राष्ट्रिय समुदायले पेसावर सहरमा हुने प्रतियोगितालाई सुरक्षाका दृष्टिले चुनौतीपूर्ण रूपमा लिएको देखिन्छ।
यद्यपि पाकिस्तान सरकारले सागलाई सुरक्षित रूपमा सम्पन्न गर्न खेलाडी, प्रशिक्षक, अफिसियल र कूटनीतिज्ञहरूका लागि विशेष सुरक्षा योजना तयार गरेको भन्दै विश्व समुदायलाई आश्वस्त पार्ने प्रयास गरेको देखिन्छ।
भारत–पाकिस्तानको पुरानो आपसी द्वन्द्वका कारण दक्षिण एसियाका विभिन्न क्षेत्र प्रभावित रहँदै आएको परिप्रेक्ष्यमा खेलकुद क्षेत्र पनि अछुतो नरहेको जगजाहेरै छ। हालै अमेरिकामा सम्पन्न संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा समेत यी दुई देशका प्रतिनिधिहरूले एकअर्का देशलाई छेडखानी गर्न छोडेनन्।
कार्यक्रममा सम्बोधन गर्ने क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले विवादित कश्मीरको मुद्दा उठाएका थिए भने भारतीय विदेशमन्त्री एस. जयशंकरले पाकिस्तानमाथि आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएका थिए।
यसरी यी दुई देशबीचको कटु सम्बन्ध हाल पनि निरन्तर चलिरहेको देखिन्छ। भारत–पाकिस्तानबीच विभिन्न समयमा भएका ठूला युद्धहरू र आतंकवादसम्बन्धी गतिविधिका कारण आफ्ना खेलाडी र अफिसियलहरूको सुरक्षा चासोलाई मध्यनजर गर्दै यी दुई देशले एकअर्काको देशमा हुने खेल गतिविधिमा सहभागिता जनाउन आनाकानी गर्दै आएका छन्, जसले गर्दा दक्षिण एसियाली खेलकुदलगायत क्षेत्रीय खेलकुदका कार्यक्रमहरू प्रभावित बन्दै आएका छन्।
पाकिस्तानलाई समेट्नु नपरोस् भन्ने हेतुले नै भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’भन्दा बिमस्टेकलाई महत्त्व दिँदै आएको सन्दर्भमा खेल क्षेत्रमा पनि भारतले सागभन्दा एसियाली खेलकुद, कमनवेल्थ र ओलम्पिक खेलमा बढी तयारी गर्न थालेको देखिन्छ।
हुन त पछिल्लो समय उसले गरेको प्रगतिले विभिन्न खेलमा विश्वभरिका अब्बलभन्दा अब्बल खेलाडीसँग मुकाबिला गर्ने क्षमता राख्न थालेको पाइन्छ। भर्खरै जापानमा सम्पन्न २०औँ एसियाली खेलकुदमा २१ स्वर्णसहित कुल ८५ पदक जित्दै भारत पदक तालिकाको चौथो स्थानमा पर्न सफल भएको थियो।
केही समयअघि मात्र (२०२६ अगस्ट २२ मा) पाकिस्तानको इस्लामाबादमा बसेको साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले १४औँ दक्षिण एसियाली खेलकुद सन् २०२७ को अप्रिल अर्थात् यही वर्षको चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले यस क्षेत्रका समग्र खेलकर्मीहरूलाई उत्साहित बनाएको छ। यद्यपि यसभन्दा अघि सन् २०१९ पछि पटक–पटक गरी चार पटक मिति सरिसकेको सन्दर्भका कारण यसपटक पनि दक्षिण एसियाली खेलकुद जगतले निर्धारित मितिमै यो प्रतियोगिता हुनेमा शंका गरिरहेको पाइन्छ।
गत अगस्टमा पाकिस्तानमा सम्पन्न बैठकमा समेत भारतबाट प्रत्यक्ष सहभागिता नजनाई भर्चुअल माध्यमबाट सहभागिता जनाइएको थियो। यसर्थ अहिले पनि यी दुई देशबीचका खेलकुद पदाधिकारीहरू एकअर्काको देशमा हुने खेलकुदलगायत विभिन्न कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी हुन संकोच मानिरहेको अवस्था छ। त्यसैगरी कश्मीरलगायत क्षेत्रहरूमा रहेको सीमा विवाद एवं सिन्धु जल सन्धिसहितका थुप्रै विषयमा सुरक्षाका दृष्टिकोणले मतभेद यथावत् रहेको पाइन्छ।
भारतले उक्त बैठकमा प्रत्यक्ष सहभागिता नजनाई भर्चुअल माध्यमबाट नयाँ आयोजनाको मितिलाई अनुमोदन गरेको विषय सकारात्मक नै भए तापनि आफ्ना खेलाडी पाकिस्तान पठाउने विषयमा भारत सरकारले आधिकारिक सहमति नजनाइसकेको सन्दर्भमा उसको सहभागितालाई विभिन्न दृष्टिकोणबाट यो क्षेत्रका खेल समाजले संशयका साथ हेरिरहेको पाइन्छ। यसका साथै भर्खरै जापानमा सम्पन्न एसियाली खेलकुदका दौरान पनि दक्षिण एसियाली राष्ट्रका ओलम्पिक कमिटीका पदाधिकारीबीच यो विषयलाई लिएर छलफल भएको थियो।
पटक–पटक सर्दै आएको प्रतियोगितालाई लिएर दक्षिण एसियाली क्षेत्रका विभिन्न देशले विशेष चासो राखेका छन्। पाकिस्तान सरकारले पनि यसलाई उच्च प्राथमिकतामा राख्दै उपप्रधानमन्त्रीसहितको सरकारी संयन्त्रको सहभागितामा विभिन्न खेलका पूर्वाधार, बजेट र सुरक्षा व्यवस्थापनका लागि विविध समिति तथा उपसमितिहरू गठन गरेको पाइएको छ। पाकिस्तानले यसपटक सागलाई आफ्नो प्रतिष्ठाको विषय बनाई यसलाई सफलतापूर्वक आयोजना गर्न आफ्नो खेलकुद पूर्वाधारमा व्यापक सुधार र आधुनिकीकरण गरिरहेको देखिन्छ।
साग प्रतियोगिता हुने तीनै सहरका रंगशालाहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गर्दै गरेको पाइन्छ। सागको उद्घाटन र समापन समारोह हुने भनिएको इस्लामाबादस्थित पाकिस्तान स्पोर्ट्स कम्प्लेक्स, जिन्ना स्पोर्ट्स स्टेडियम, पेसावर स्पोर्ट्स कम्प्लेक्स, पन्जाब स्टेडियमलगायतका खेलकुद संरचनाहरूको पुनर्निर्माण, व्यवस्थित ड्रेनेज प्रणाली, इन्डोर हलहरू, आधुनिक कोर्ट, फ्लडलाइट जडान, हाई पर्फर्मेन्स सेन्टर, चेन्जिङ रुमहरू, डिजिटल स्क्रिनलगायत अन्य अन्तर्राष्ट्रियस्तरका सेवा–सुविधा प्रदान गर्ने योजनामा आयोजक राष्ट्र देखिन्छ।
दक्षिण एसियाली क्षेत्रमा रहेको भारतको वर्चस्व र उसले देखाउने गरेको नेतृत्वकारी भूमिकालाई लिएर बेलाबेलामा सकारात्मक तथा नकारात्मक धारणा आइरहेको पाइन्छ। साथै यही कारण हुन सक्छ, छिमेकीहरूसँगको सम्बन्धमा समेत उतारचढाव आउने गरेको। दक्षिण एसियाली मुलुकमा नेपाल–भारतको सम्बन्ध सुमधुर रहेको पाइन्छ।
भारतको पाकिस्तानसँग रहेको पुरातन वैमनस्यता त छँदै छ, त्योबाहेक बंगलादेशसँगको सम्बन्ध पनि केही समययता कूटनीतिक हिसाबले चिसिएको पाइन्छ। सन् २०२४ मा बंगलादेशमा भएको जेनजी आन्दोलनपश्चात् भारत निर्वासित हुन पुगेकी तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेदको सुपुर्दगीको विषयलाई लिएर यी दुई देशबीचको सम्बन्धमा दरार आएको पाइन्छ।
यसका अलावा पनि पूर्वी भारतमा अवस्थित चिकेन नेकको सुरक्षा चासो, पश्चिम बंगालमा ठूलो जनसंख्यामा रहेका बंगलादेशी र रोहिंग्या शरणार्थीहरूको स्वदेश फिर्तीलाई लिएर पछिल्लो समय सरकारले गरेको धरपकडलगायत विषयमा समेत दुई देशबीच मनमुटाव रहेको पाइन्छ। जसले गर्दा दक्षिण एसियाली खेलकुद क्षेत्रमा पहिलो संस्करणदेखि नै प्रभुत्व जमाउँदै आएको भारत सहभागी नहुने हो कि भन्ने संशय बढ्दै गएको छ।
भारतको गैरसहभागितामा अन्य मुलुकहरूलाई पदक तालिकामा माथि उक्लने मौका त मिल्ला, तर मुख्य प्रतिस्पर्धीबिना भएको प्रतियोगिताको ओज पक्कै घट्नेछ।
१४औँ दक्षिण एसियाली खेलकुदको भविष्य धेरै हदसम्म भारतको सहभागितामा निर्भर रहनेछ भने यो विषय भारत सरकारले गर्ने महत्त्वपूर्ण राजनीतिक निर्णय पनि हुनेछ। भारत सहभागी नभएमा प्रतियोगिताको व्यावसायिक मूल्य र प्रतिस्पर्धात्मक साख खस्कनेमा सबै सहमत छन्। तसर्थ अहिले सागमा भारतको सहभागितालाई लिएर कस्तो निर्णय आउला भनेर सबैको कौतूहलताको विषय बनेको छ।
दक्षिण एसियाली मुलुकहरूबीचको सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा रहेको साग नेपाली खेलाडीहरूका लागि पनि आफ्नो प्रतिभा देखाउने मुख्य प्लेटफर्म बन्दै आएको छ। एसियन गेम्स र ओलम्पिकजस्ता ठूला प्रतियोगिता त अनुभव बटुल्ने ठाउँ मात्र हो भन्दा अत्युक्ति नहोला। हालै जापानमा सम्पन्न एसियाली खेलकुद र त्यहाँ प्राप्त परिणामले यो कुरालाई अझ पुष्टि गर्दछ।
तसर्थ नेपाली खेलकुद जगतले पनि केही वर्ष आफूलाई अब्बल बनाउनतिर लाग्ने र त्यो स्तरसम्म नपुगुन्जेल यस्ता ठूला प्रतियोगिताका केही संस्करणहरूमा सहभागिता नजनाउनु नै उचित देखिन्छ। साथै क्षेत्रीयस्तरका प्रतियोगितालाई ध्यानमा राखी आफ्ना खेलाडीहरूलाई खेलकुद विज्ञानसँग जोड्दै ग्रासरुट लेभलदेखि नै तयार पार्दै जानुपर्ने अपरिहार्य भइसकेको छ।
गत संस्करणको सागमा ५१ स्वर्णसहित ऐतिहासिक उपलब्धिबाट हौसिएको नेपाली खेलकुद जगतले आसन्न १४औँ सागमा कस्तो नतिजा ल्याउनेछ भनी सबै नेपाली खेलप्रेमी उत्सुक देखिन्छन्। यस क्षेत्रको प्रतिष्ठित प्रतियोगिता नियमित रूपमा सञ्चालन नहुँदा सबैभन्दा ठूलो मार नेपालका मात्र नभई समग्र दक्षिण एसियाली क्षेत्रका हजारौँ खेलाडीमा परेको छ।
सन् २०१९ को १३औँ सागपछि धेरै खेलाडीहरू आफ्नो उच्च फर्ममा थिए। तर प्रतियोगिता चार पटक सर्नु र अझै सुनिश्चित नहुनुले धेरै खेलाडीको उमेर हद नाघिसकेको छ भने कतिपय पलायनसमेत भइसकेका छन्। अझै पनि निर्धारित समयमै प्रतियोगिता हुन्छ कि हुँदैन भन्ने अन्योलताका बीच प्रशिक्षण गर्नुपर्दा खेलाडीहरूमा उत्प्रेरणाको कमी देखिन्छ भने प्रतियोगिताकै लागि वैदेशिक रोजगारी वा अन्य अवसर छाडेर बसेका खेलाडीहरू आर्थिक एवं मानसिक दबाबमा देखिन्छन्।
तसर्थ खेलकुदलाई राजनीतिक दाउपेचबाट अलग राखी क्षेत्रीय एकता, पारस्परिक सद्भाव, विश्व शान्ति र आर्थिक उन्नयन एवं सर्वाङ्गीण विकासको माध्यमका रूपमा लिनुका साथै खेलाडीहरूको सबल भविष्यका लागि समेत सम्पूर्ण दक्षिण एसियाली राष्ट्रहरूका साथै अन्य सरोकारवाला निकायहरूबाट यो प्रतियोगिताको नियमितताका लागि दबाब र सहयोग बढाउनु अपरिहार्य देखिन्छ।
(प्रजापति पूर्वराष्ट्रिय बक्सर एवं आईबीए वान स्टार जज हुन्)
प्रतिक्रिया 4