+
+

नदीजन्य पदार्थको ठेक्का नलागेपछि सुदूरपश्चिम सरकारले गर्‍यो कार्यविधि संशोधन

जनक विष्ट जनक विष्ट
२०८० मंसिर ९ गते १४:४५

९ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि संशोधन गरेको छ । प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी र ५० प्रतिशत रकम अग्रिम तिर्नुपर्ने व्यवस्थाकै कारणले नदीजन्य पदार्थ उत्खननको ठेक्का लाग्न नसकेको गुनासो स्थानीय तहहरुले गरेका थिए ।

शुक्रबार बसेको सुदूरपश्चिमको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि संशोधन गर्दै स्वीकृत ठेक्का रकमको २० प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो । ठेक्कामा सम्बन्धित फर्मले कबोल गरेको अंकको कर वापतको रकम भने स्थानीय तहलाई अग्रिम बुझाउनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयका राजस्व शाखा प्रमुख धनबहादुर रोकायाले नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० संशोधन गर्दै अग्रिम बुझाउनुपर्ने रकम ५० प्रतिशतबाट २० प्रतिशतमा झारिएको बताए ।

ठेकेदारले कबोल रकमको ५० प्रतिशत अग्रिम बुझाउनुपर्ने प्रावधानका कारण कैलाली, कञ्चनपुरसहितका अधिकांश स्थानीय तहले नदीजन्य वस्तु उत्खननको ठेक्का लगाउन सकेका छैनन् । स्थानीय तहहरुको गुनासोपछि कार्यविधि संशोधन गरेर प्रदेश सरकारले निकास दिएको रोकायाले बताए ।

तर नदीजन्य वस्तुको वृद्धि गरेको रोयल्टी भने घटाइएको छैन । नदीजन्य पदार्थको ठेक्का रकम एक सय तीन रुपैयाँबाट बढाएर दुई सय ६ रुपैयाँ पुर्‍याइएको थियो । ‘मूल्य हेरफर गर्न कार्यविधि संशोधन गरेर मात्र पुग्दैन । त्यसका लागि मूल ऐनमा भएको व्यवस्था नै परिवर्तन गर्नुपर्ने हुन्छ’, रोकायाले भने ।

सुदूरपश्चिमका स्थानीय तहहरुले ठेक्काको बन्दोबस्त गरेर असोजदेखि नदीजन्य वस्तु उत्खनन् गर्नुपर्नेमा पटक–पटक सूचना आह्वान गर्दा समेत कसैले बोलपत्र नहालेपछि अहिलेसम्म काम ठप्प छन् । कैलालीको धनगढी उपमहानगरपालिकाले तीन पटक सार्वजनिक सूचना आह्वान गर्दा समेत ठेक्का नपरेपछि आफैले नदीजन्य वस्तु संकलन गरिरहेको छ ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका लगायतका स्थानीय तहले समेत नदीजन्य पदार्थ उत्खनन तथा बिक्रि वितरणको ठेक्का लगाउन सकेका छैनन् ।

स्थानीय तहले ठेक्का लगाएर संकलन गर्ने नदीजन्य वस्तुको राजश्वको ४० प्रतिशत प्रदेश सरकारलाई दिनुपर्ने कानुनी व्यवस्था छ भने कर निर्धारण गर्ने अधिकार पनि प्रदेश सरकारलाई छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?