+
+

लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ९:५६

१२ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको प्रदूषण रोक्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् ।

चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको भन्दै सुनवलवासीले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरेका छन् ।

मिल सञ्चालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर पानी न्यूनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलवासी त्यसको प्रत्यक्ष मारमा परिरहेको संघर्ष समितिका संयोजक युवराज ढकालले बताए । मिलले प्रदूषण न्यूनीकरण नगरे मिल चलाउन नदिने उनले चेतावनी दिए ।

संघर्ष समितिका उपसंयोजक टेकप्रसाद न्यौपानेले चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने दूषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर गरिरहेको बताए ।

२०४६ सालमा तत्कालीन श्री ५ सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार सुनवल नगरपालिका वडा १ मा लुम्बिनी चिनी कारखाना लिमिटेड स्थापना भएको थियो । सो समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएको थियो । ८६ विगाहा क्षेत्रफलमा फैलिएको उक्त चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छन् ।

चिनी मिलबाट सुनवल नगरपालिकाका वडा १, ३, ४ र ६ वडा प्रत्यक्ष मारमा परेको र यसबाट करिब ७० हजार जनसंख्या प्रभावित बनेको स्थानीयको भनाइ छ । चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्यूनीकरणका लागि विभिन्न सहमति सम्झौता गरेपनि हालसम्म कार्यान्वयन नगरेको आरोप पनि स्थानीयले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?