+
+

स्वीडेनले बनायो पानीमाथि उड्ने पानी जहाज

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १२:४३

युरोपेली मुलुक स्वीडेनले विश्वमै पहिलोपटक यात्रुबाहक विद्युतीय उड्ने पानी जहाज तयार गरेको छ । परीक्षण सफल भएसँगै पानीमाथि उड्ने यो पानीजहाजको व्यवसायिक उत्पादन गरिनेछ ।

स्टकहोम यातायात विभागले यसलाई परिवहनका रुपमा आगामी वर्षदेखि सार्वजनिक सेवा उपलब्ध गराउन अनुमति दिएको छ ।

यो उड्ने पानी जहाजको नाम ‘क्यान्डेला पी १२’ हो । स्वीडिस कम्पनी क्यान्डेला टेक्नोलोजी एबीले यसको निर्माण गरेको हो ।

३९ फिट लामो यो पानी जहाज २५२ किलोवाट प्रतिघण्टा ऊर्जा दिने ब्याट्रीबाट चल्दछ । यो जहाजमा एक पटकमा अधिकतम ३० जना यात्रु बस्न सक्छन् ।

यो जहाजले पानीमाथि औसत ४६ किलोमिटरको गतिमा यात्रा गर्ने भए पनि यसको अधिकतम गति भने ५६ किलोमिटर प्रतिघण्टा रहेको छ । एकपटक पूरा चार्ज गरेपछि यसले ९२.६० किलोमिटरको दूरी पार गर्न सक्दछ ।

क्यान्डेला कम्पनीका सीईओ गुस्ताव हेसेल्सकोगका अनुसार पानीमा हुने सबै यात्राहरुमा यसले नयाँ परिवर्तन ल्याउनेछ । यात्रुहरु पानीकै माथि जहाजमा उडिरहेका हुनेछन् ।

World's First Electric Flying Ship

यो जहाज हाइड्रोफोइल्सको मद्दतले पानीमाथि उड्न सक्छ । यो एउटा यस्तो प्रणाली हो जसले डुंगालाई पानीमाथि उठाइदिन्छ । यो हवाईजहाजमा भएको एयरफोइल्स जस्तै हो, जसले हवाईजहाजलाई हावामा उड्न सहयोग गर्दछ ।

हाइड्रोफोइल्सले पानीमा चलिरहेको बेलामा उल्टो दिशामा पर्ने दबाबलाई हटाइदिन्छ जसबाट अधिकतम गति प्राप्त हुन्छ अनि कम ऊर्जा खपत हुन्छ । यसबाट पारम्परिक जहाजको तुलनामा कम खर्चमा यात्रा गर्न सकिन्छ । यसमा कम्प्युटर गाइडेड हाइड्रोफोइल्स हुन्छन् ।

सामान्य विद्युतीय डुंगाको तुलनामा यसले ३० प्रतिशत कम ऊर्जा खपत गर्दछ ।

क्यान्डेला कम्पनीले आफ्ना जहाजको लागि इन्जिन बनाएको छ । एउटा इन्जिनले अधिकतम ३४० किलोवाटसम्म ऊर्जा पैदा गर्दछ । जसका कारण जहाजको हाइड्रोफोइल्सले छाल, हावा तथा पानीमुनिका तरंगहरुलाई सजिलैसँग निस्तेज पारेर अगाडि बढ्न सक्दछ ।

गुस्तावका अनुसार यो जहाजमा चढेर जलयात्रा गर्दा सामुद्रिक सिकनेस जस्ता समस्या पैदा हुँदैन । यो पर्यावरणमैत्री रहेको दाबी पनि कम्पनीको छ ।

भविष्यमा यस्तै विद्युतीय लग्जरी पानीजहाजहरु ल्याउने कम्पनीको तयारी छ, जसको नाम क्यान्डेला भोइजर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?