+
+
टी-२० राष्ट्रिय क्रिकेट :

घर जान टिकट काटिसकेको टिम मधेश यसरी बन्यो च्याम्पियन

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० मंसिर १५ गते २०:०८

१५ मंसिर, पोखरा । राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै मधेश प्रदेश राष्ट्रिय स्तरमा पहिलो पटक च्याम्पियन बन्यो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रथम केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेटको उपाधि जित्ने क्रममा मधेश प्रदेशले ११ रनको जित निकालको हो ।

प्रतियोगिताको पहिलो खेलमा हारेसँगै घर फर्किन टिकट काटिकेको मधेश प्रदेशका खेलाडीहरु अब उपाधि लिएर फर्किने भएका छन् ।

हरिशंकरको घातक बलिङ

बिहीबार पोखरा रंगशालामा फाइनल खेलमा सुरु हुँदासम्म आर्मी उपाधिको बलियो दावेदार थियो । नयाँ अनुहारको बाहुल्य रहेको मधेशले समूह चरणमा एक खेल मात्र जितेको थियो, र सुदूरपश्चिमले पुलिसलाई हराएका कारण मात्र अघिल्लो चरणमा पुगेको थियो ।

जबकी विनोद भण्डारी नेतृत्वको टिममा राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलका साथै कुशल मल्ल, सोमपाल कामी, कुशल मल्लदेखि विवेक यादवसम्म थिए । अनि फाइनलमा पुग्ने क्रममा सबै खेल जितेकाले पनि आर्मीलाई उपाधिको बलियो दोबदारका रुपमा हेरिएको थियो ।

मधेशका कप्तान हरिशंकरले टस जितेर ब्याटिङ रोजे । १७ रन जोड्दा पहिलो विकेट गुमाएको मधेशका कप्तान हरिशंकर आफैं दोस्रो विकेटका रुपमा आउट भए । २१ बलमा २७ रन बनाएर आउट हुँदा टिमको स्कोर ४२ रन थियो ।

५५ रन जोड्दा ५ विकेट गुमिसकेको थियो । तर सातौं नम्बरमा आएका विशाल पटेलले महत्वपूर्ण पारी खेले । छैटौं विकेटका लागि हिमांशु दत्तसँग २७ रनको साझेदारी गरेका उनले सातौं विकेटका लागि विशाल शुसलिङसँग अर्को २७ रनकै साझेदारी गरे ।

अन्तिम बलसम्म क्रिजमा टिकेर खेलेका विशालको अविजित ४९ रनको मदतमा मधेशले २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको योगफल खडा गर्‍यो । मधेशका लागि विशाल र हरिशंकर बाहेक हिमांशु (१४) र विशाल (१०) बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेशलाई मध्यम स्कोरमा रोक्ने क्रममा आर्मीका शाहब आलम र विवेक यादवले समान ३/३ विकेट लिए । सोमपाल कामी र वशिर अहमदको नाममा १/१ विकेट रह्यो ।

जवाफमा आर्मीले कप्तान विनोद भण्डारीको ३२ रनको मदतमा २० ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । आर्मीलाई जितबाट रोक्ने क्रममा मधेशका कप्तान हरिशंकरले लिड फ्रम द फ्रन्ट भनेझै बलिङ गरे ।

मधेशलाई सुरुवाती २ विकेट पवन शरार्फ र प्रतिक यादवले दिलाएका थिए । त्ससपछि लगातार ४ विकेट कप्तान आफैंले लिए । त्यसमा पनि टर्निङ प्वाइन्ट हरि शंकरकै एक ओभर थियो ।

११औं ओभरमा उनले आर्मीका कप्तान विनोद भण्डारी, वशिर अहमद र कुशल मल्लको विकेट लिए, जम्मा एक रन दिए ।   उनले अर्को ओभरको पाँचौं बलमा राजेश पुलामीलाई आउट गरेपछि आर्मी टिम ६४/६ मा रह्यो ।

१७औं ओभरको चौथो बलमा पवनले भीमको विकेट लिए । आर्मीलाई २० बलमा ४३ रन चाहिएको थियो । नयाँ ब्याट्सम्यानका रुपमा आएका विवेक यादवले पहिलो बलमै छक्का हान्दै आर्मीको आश पनि जगाएका थिए ।

तर १८ औं ओभरमा रुपेश सिङले कसिलो बलिङ गर्दै मात्र चार रन दिए भने अर्को ओभरमा विशाल पटेलले पनि ९ रन मात्र खचिए । आर्मीलाई अन्तिम ओभरमा २४ रन चाहियो ।

मधेशका कप्तान हरिशंकरले रुपेशलाई बल थमाए । उनको पहिलो बलमा चौका हानेका विवेक यादवले दोस्रो बलमा छक्का हाने । तर त्यसपछि रुपेशले ४ बलमा मात्र २ रन दिएपछि मधेशले ११ रनको एतिहासिक जित हात पारेको छ ।

‘यहाँ अली ट्रिक्की विकेट थियो । हामीले अनुशासित बलिङ गर्‍यौं भने १२० सम्म रोक्न सक्छौं भन्ने थियो’ मधेशका कप्तान हरिशंकरले भने, ‘मलाई आफ्नो कप्तानीमा विश्वास थियो । त्यसमा हामीले एज ए टिम राम्रो प्रदर्शन गर्‍यौं ।’

पहिलो पटक राष्ट्रिय स्तरको उपाधि जित्नु विशेष उपलब्धी भएको उनले सुनाए । ‘समूह चरणमा सुदूरपश्चिमले पुलिस क्लबलाई हराएपछि हामीलाई फाइदा भयो’ कप्तान हरिशंकरले भने, ‘सबैको मिहिनेतले आज च्याम्पियन बन्न सफल भयौं ।’

टिकट काटेर घर फर्कन तयार थियो टिम

मधेशको फाइनल यात्रा रोचक छ ।  समूह सीमा परेको मधेशले पहिलो खेलमै नेपाल पुलिस क्लबसँग ५७ रनको पराकिलो हार व्यहारेको थियो । तीन टिम मात्र रहेको समूहबाट विजेता मात्र सेमिफाइनल पुग्ने भएकोले एक हारले आशा कमजोर बनेको थियो ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले सहजै पराजित गरेर मधेशले केही आशा जगायो । सुदूरपश्चिमले दिएको ५९ रनको लक्ष्य मधेशले ४.४ ओभरमा २ विकेट मात्र गूमाएर पूरा गर्दै रनरेट राम्रो बनाएको थियो ।

तर पुलिस दोस्रो खेलमा सुदूरपश्चिमसँग खेल्न बाँकी थियो । सुदूरपश्चिमले पुलिसलाई हराएमा मधेशको पनि समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने सम्भावना थियो । तर मधेश टिमका खेलाडीहरलाई राष्ट्रिय टिमका महत्वपूर्ण सदस्यहरु रहेको पुलिस टिमले सुदूरपश्चिमलाई हराउँछ भन्ने लागेको थियो ।

त्यसपछि मधेशको खेलाडीहरुले घर फर्कन बसको टिकट काटे । ‘पुलिस नहार्ला भनेर हामीले पर्कने तयारी गरिसकेका थियौं । दाइहरुले टिकट काट्ने हो भन्दा काट्दिनु भनेका थियौं’ हरिशंकरले सम्झिए ।

ओपनर अनिलकुमार शाह त काठमाडौं फर्किसकेका थिए । ‘म व्यक्तिगत कामले काठमाडौं पुपगिकेका थिए । मंगलबार पोखरा रंगशालामा पुलिस र सुदूरपश्चिमको खेल चलिरहँदा मधेशका बाँकी खेलाडीले होटल चेकआउट गरे ।

पोखरा छाड्नु अघि खेलको अपडेट लिइरहे । सुदूरपश्चिमले पुलिसलाई ४ विकेटले हरायो । सबै टिमको २/२ अंक भएपनि नेटरनरेटमा मधेशको भाग्य चम्कियो । मधेशको रनरेट १.४७२ थियो भने पुलिसको १.०८४ थियो । ‘हामी समूह विजेता भएपछि त खेलाडीहरुमा छुट्टै उत्साह आयो, एकदमै खुशी भयौ’ कप्तान हरिशंकर भन्छन्, ‘यसले टिमलाई मोटिभेट गर्‍यो ।’

अनिल पोखरा पुगे । सेमिफाइनलमा एपीएफलाई हराउँदा प्लेअर अफ दि म्याच बने । फाइनलमा ६ रनमै आउट भएपनि  टिम च्याम्पियन बन्न खुशी छन् । प्रदेशको टिम कमजोर नभए पनि खेलाडीहरुले  आफ्नो क्षमता देखाउने अवसर कम पाउने गरेको भन्दै उनले भने, ‘यदि प्रदेशको टिमले पनि निरन्तर प्रशिक्षण गर्ने र खेल्ने अवसर पाउने हो भने जुन सुकै टिमलाई हराउनसक्छ ।’

प्रतियोगितामा मधेशका कप्तान हरिशंकर नै बेस्ट प्लेअर बने । कूल १० विकेट लिएका उनले कूल ४१ रन बनाएका छन् । ‘व्यक्तिगत उपलब्धीमा खुशी त छु, टिमले जित्दा अझ धेरै खुशी हुन्छ । टिमको जित ठूलो हो’ उनले भने ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?