+
+

हिसुब थपलिया : कम समयमै ठूलै छलाङ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १९:१४

नेपाल सुपर लिग २०२३ को पहिलो खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलामको सामना गरेको थियो । त्यसमा डिफेन्डिङ च्याम्पियन काठमाडौं उत्रेको थियो, हिसुब थपलियाको नेतृत्वमा ।

यसअघि काठमाडौंले उनलाई ‘मार्की प्लेयर’ पनि घोषणा गरेको थियो । प्रतियोगिताको आफ्नो डेब्युमै उनले काठमाडौंको कप्तानी गर्ने अवसर पाए । नेपाली घरेलु फुटबलमा पछिल्लो साढे एक वर्षमा मात्र देखिएका हिसुब छोटो समयमै चम्किएका खेलाडी हुन् ।

सुरुआती करियर झापाको विर्तामोडका हिसुबको जन्म ०५५ सालमा भएको हो । त्यहीँ हुर्के/बढेका उनले अरू साथीभाइले जस्तो विद्यालय उमेरदेखि नै फुटबल खेल्न सुरु गरे । तर उनले औपचारिक रूपमा फुटबलको प्रशिक्षण भने लिएका छैनन् ।

झापातिर हुने स्थानीय प्रतियोगितामा सहभागी भइरहेका हिसुबले छिमेकी भारतीय सहरमा गएर साना ठूला प्रतियोगितमा पनि खेले । उनले पहिलो पटक काठमाडौंमा खेलेको भनेको वर्ष ०७९ को शहीद स्मारक लिग ‘सी’ डिभिजन छनोट नै हो ।

त्यसमा उनले सुनाकोठीका लागि खेलेका थिए । तर उनको टिम भने छनोट भएन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट खेलेकाले पनि अन्य डिभिजनमा खेल्न पाउने नियम बनाएपछि उनी जावलाखेल युथ क्लब गएका थिए र त्यहीं ‘ट्रायल’ दिए । उनी छनोट पनि भए र शहीद स्मारक लिग ‘ए’ डिभिजन ०७९–०८० मा सहभागी गए । उनलाई जावलाखेलका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो खेलमै खेल्ने अवसर पनि दिए ।

हिसुबले जावलाखेलका लागि ‘ए’ डिभिजनमा डेब्यु गरेको मछिन्द्रविरुद्ध फागुन १९ को खेलमा हो । त्यसमा जावलाखेल ३–१ले विजयी रहेको थियो । जावलाखेलका लागि उनले नै ६० औं मिनेटमा गोल गरे । त्यससँगै उनको वास्तविक चर्चा सुरु भएको थियो ।

पूरा लिगमा जावलाखेलको प्रदर्शन उच्च रह्यो र अधिकांश समय उपाधि दौडमै रह्यो । जावलाखेल लिगको अन्त्यतिर लिग उपाधि समीकरणबाट बाहिरिए पनि हिसुबको खेलले सबैको नजर तानेको थियो ।

त्यस लिगमा उनले जावलाखेलका लागि २५ खेल खेले र चार गोल गरे । उनी अग्रपंक्तिमा खेल्ने खेलाडी हुन् र यसका सबैखाले भूमिकामा आफूलाई सक्षम मान्छन् । उनी राइट विन्गर र लेफ्ट विन्गर दुवैमा खेल्न माहिर छन् । चाहिएको बेला उनी सबैभन्दा अगाडि स्ट्राइकरका रूपमा पनि खेल्न सक्छन् । उनी छिटो छरितो छन् र बललाई आफ्नो नियन्त्रणमा राखेर आकर्षक खेल पस्कने गर्छन् । प्रतियोगितामा खेलाडीलाई बिट गर्दै बल अगाडि बढाउन रूचाउने गर्छन् ।

राष्ट्रिय टिममा डेब्यु

जावलाखेलका लागि राम्रा प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय टिममा पनि बोलाउने काम भयो । एकपछि अर्को खेलाडी विदेश पलायन भएपछि पनि उनलाई राष्ट्रिय टिमसम्म पुग्ने बाटो सजिलो भएको हो ।

उनलाई राष्ट्रिय टिममा प्रवेश गराउने प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस नै हुन् । इटालीका यी प्रशिक्षकले उनलाई सबैभन्दा पहिले म्यानमारमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न गएको राष्ट्रिय टिममा समावेश गरे र उनी याङ्गुन पुगे ।

सन् २०२३ को सेप्टेम्बर ८ मा नेपालले म्यानमारविरुद्ध पहिलो खेल खेलेको थियो र त्यसमै हिसुबले डेब्यु पनि गरे । उनले खेलको ८३ औं मिनेटमा अञ्जन विष्टको स्थानमा सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । त्यसयताका सबै खेलमा उनले नेपालका लागि खेलेका छन् ।

उनले अहिलेसम्म नेपालको ‘स्टार्टिङ–लाइनअप’ भने स्थान पाएका छैनन् । उनले जतिपल्ट पनि नेपालका लागि खेले, सबैमा सब्टिच्युट खेलाडीकै रूपमा खेलेका छन् ।

नेपालका लागि प्रदर्शन

कुल क्याप : ६

अहिलेसम्म खेलेका प्रतियोगिता : म्यानमारविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय सिरिज, एसियाली विश्वकप छनोट प्रारम्भिक चरण र दोस्रो चरण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?