+
+

चितवनको हिंस्रक बाघलाई बर्दिया पठाइयो

रासस रासस
२०८० मंसिर १९ गते १३:४९
बाघको फाइल तस्वीर ।

१९ मङ्सिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोर अभाव भएपछि एउटा बाघ बर्दिया राष्ट्रिय निकुञ्ज पठाइएको छ ।

हिंस्रक बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिए पनि ठाउँ नभएपछि बर्दिया पठाइएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

अन्दाजी चार वर्षको भाले बाघ बर्दिया पठाइएको हो । खैरहनी नगरपालिका– १२ को कुमरोज बस्तीमा मान्छे खाएपछि बाघलाई गत साउनमा नियन्त्रणमा लिइएको थियो ।

कसराको खोरमा चारवटा र सौराहामा दुईवटा हिंस्रक बाघ छन् । केही दिनअघि मकवानपुरको मनहरिमा मान्छेलाई आक्रमण गरेको अन्दाजी १० वर्षको पोथी बाघ सौराहामा राखिएको छ । यस्तै सौराहामै गतवर्ष मेघौलीमा मानिसलाई आक्रमण गरेको अन्दाजी १० वर्षको भाले बाघ पनि छ ।

तिवारीका अनुसार निकुञ्जको मुख्य कार्यालय कसरामा गत भदौमा अमलटारीबाट ल्याइएको अन्दाजी दुई वर्षको भाले बाघ छ । यसैगरी बाँकेबाट दुईवर्ष अघि ल्याइएको अन्दाजी नौ वर्षको भाले बाघ त्यही खोरमा राखिएको छ ।

माडीको वनकट्टाबाट ल्याइएको अन्दाजी १३ वर्षको पोथी बाघ र तीन वर्षअघि देवनगरको बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिइ ल्याइको अन्दाजी १२ वर्षको भाले बाघ कसरामा रहेका छन् । थप बाघ नियन्त्रणमा लिनु पर्दा तत्कालै राख्ने ठाउँ छैन ।

निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र बनाउँदै छ ।

सोही ठाउँमा बाघ राख्नका लागि दुईवटा खोर बनाइँदै छ । देवनगरका खोरमा राखिएका बाघलाई पर्यटकलाई देखाउने गरी व्यवस्थापन गरिँदै छ ।

हिंस्रक बाघ बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको छ । एउटा बाघलाई एक दिन बिराएर पाँच किलो राँगाको मासु खुवाउने गरिएको छ । ठाउँ, जनशक्ति र आहाराका कारण बाघको व्यवस्थापन कठिन बनेको हो ।

सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ र देशभर तीन सय ५५ वटा बाघ छन् । निकुञ्जले यस आर्थिक वर्षमा दुईवटा हिंस्रक बाघलाई स्थानान्तरण गरेको छ । यसअघि एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा पठाएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?