+
+

घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते २०:४०

१९ मंसिर, धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करणमा मंगलबार भएको दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन्।

समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्‍यो । प्रतियोगितामा सुदूरपश्चिमाञ्चलको यो दोस्रो हार हो ।  सुदूरपश्चिमाञ्चलले दिएको १११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

घोडाघोडीको ब्याटिङमा ओपनर बिपिनबिक्रम शाहीले सर्वाधिक ३१ रनको योगदान दिए। सञ्जय बोहराले २२ तथा कृष कार्कीले २० रन बनाए । ८१ रनमा ६ विकेट गुमेको अवस्थामा सञ्जय र कृषले ३२ रनको साझेदारी गर्दै जितसम्म पुर्‍याएका थिए ।

बलिङमा सुदूरपश्चिमाञ्चलका वीरेन्द्र चन्द र पारस सुनारले २/२ तथा सौर्य श्रेष्ठ र निसान रेग्मीले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चल एकेडेमीले १८.५ ओभरमा ११० रन बनाउँदा सबै विकेट गुमायो । उसका आशिष लुहारले सर्वाधिक ४२ रन योगदान दिए । ३६ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरेका थिए । सन्दीप विष्टले २७ तथा किरण कार्कीले १४ रन बनाए ।

घोडाघोडी क्रिकेट एकेडेमीका हरिश बस्नेतले ४ ओभर बलिङ गर्दा २२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सञ्जय बोहराले ३ विकेट लिए भने कृष कार्कीले २ तथा भुपेश जोशीले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अलराउण्ड योगदान दिएका सञ्जय बोहरा घोषित भए।

दोस्रो खेलमा समूह ‘ए’ अन्तर्गत शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले विजयी सुरुवात गर्ने क्रममा खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ११२ रनको विशाल अन्तरले पराजित गरेको छ।

शुक्लाफांटाले दिएको १७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रन मात्र बनायो।

खप्तडको लागि पुकार चन्दले १३ तथा प्रकाश पाण्डेले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खप्तडलाई सस्तोमा सीमित गर्न शुक्लाफांटाका दायाँ हाते पेसर कैलाश ऐर एक्लैले ५ विकेट लिए । प्लेयर अफ द म्याच ऐरले ३.१ ओभरमा १५ रन खर्चिएका थिए । सुशील रावल, भरत चन्द, बसन्त खत्री र सुरज तिरुवाले १/१ विकेट लिए।

टस हारेर ब्याटिङ गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

शुक्लाफांटाको लागि ओपनर अशोक विष्टले सर्वाधिक ४१ रन योगदान दिए जुनक्रममा उनले ३५ बलमा ६ चौका प्रहार गरे । किरण ठगुन्नाले २२ बलमा ४ चौका र २ छक्का मद्दतले ३५ रन बनाए । बसन्त खत्रीले २३ तथा लोकेश जोशीले २० रन बनाए।

खप्तड इन्डोर स्पोर्ट्सको बलिङमा रवि विष्टले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा २१ रन खर्चिए । प्रकाश पाण्डेले २ तथा मुकेश विष्ट, नगेन्द्र उपाध्याय र दीपक टमाटाले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत चौथो दिन पनि दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे आयोजक लिटल फ्लावर र घोडाघोडी क्रिकेट एकेडेमी बीच तथा दोस्रो खेल १ बजे कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टर बीच हुनेछ ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौं संस्करण हो । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?