+
+

चिनियाँ लसुनले अमेरिकामा सुरक्षा खतरा !

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते ९:५६

काठमाडौं । अमेरिकामा आयात भैरहेको चिनियाँ लसुन देशको सुरक्षाका लागि उपयुक्त नभएको दाबी एकजना अमेरिकी सांसदले गरेका छन् ।

ती अमेरिकी सिनेटरले चिनियाँ लसुन आयातबाट राष्ट्रिय सुरक्षामा पर्ने असरको जाँच गर्न पनि सरकारसँग माग गरेका छन् ।

रिपब्लिकन सिनेटर रिक स्कटले वाणिज्यमन्त्रीलाई पत्र लेखेर चिनिया लसुन असुरक्षित भएको दाबी गरेका हुन् । चिनियाँ लसुन निकै घिनलाग्दो तरिकाबाट उब्जाइने दाबी उनको छ ।

स्मरण रहोस् चीन विश्वमा सबैभन्दा धेरै लसुन निर्यात गर्ने मुलुक हो र अमेरिका उसको सबैभन्दा ठूलो आयातकर्ता हो । यद्यपि लामो समयदेखि चिनियाँ लसुनको यो व्यापार विवादमा परिरहेको छ । चीनले आफ्नो देशमा निकै कम मूल्यमा लसुन उत्पादन गरिरहेको आरोप अमेरिकाले लगाउने गरेको छ ।

सन् १९९० को दशकको मध्यदेखि अमेरिकाले चीनका विभिन्न सामानहरुमा भारी महसूल तथा कर लगाउने गरेको छ ताकि अमेरिकी उत्पादनहरुलाई बजारमा मूल्यमा गिरावट आउनबाट बचाउन सकियोस् ।

सन् २०१९ मा ट्रम्प प्रशासनको कार्यालयले उक्त महसूललाई अझै बढाएको थियो ।

के छ सिनेटरको दाबी ?

अमेरिकी सिनेटरले आफ्नो पत्रमा चिन्ता व्यक्त गर्दै भनेका छन्– विदेशमा उत्पादित लसुनको सुरक्षा तथा गुणवत्ताको विषय जनताको स्वास्थ्यमाथि एक गम्भीर चिन्ताको विषय हो, खासगरी कम्युनिष्ट देश चीनमा उत्पादन गरिएको लसुन ।

रिपब्लिकन सिनेटर रिक स्कट

उनले पत्रमा लसुन उब्जाउने तरिकाका विषयमा विभिन्न जिकिर प्रस्तुत गरेका छन् जसमा अनलाइन भिडियो, कुकिंग ब्लग तथा डकुमेन्ट्री समेत सामेल छन् ।

उनले मलमुत्रको पानीको बीचमा लसुन फलाइने गरिएको दाबी गर्दै सो विषयमा कारवाही गर्न समेत माग गरेका छन् ।

साथै उनले कुनै खास वस्तुको आयातले अमेरिकी सुरक्षामाथि पर्ने असरको जाँच गर्न पनि वाणिज्य मन्त्रालयलाई आग्रह गरेका छन् ।

चीनबाट आयात हुने हरेक प्रकारका लसुनमाथि निगरानी गर्नुपर्ने भन्दै उनले चिनियाँ लसुनको विषय अमेरिकाको खाद्य सुरक्षाका लागि आपतकालीन अवस्था रहेको र यसले राष्ट्रिय सुरक्षा, जनताको स्वास्थ्य तथा मुलुकको आर्थिक समृद्धिमा गम्भीर खतरा पैदा गर्नसक्ने जिकिर गरेका छन् ।

वैज्ञानिक विषयलाई विस्तारमा बुझाउने क्युबेकको म्याकगिल विश्वविद्यालयस्थित द अफिस फर साइन्स एण्ड सोसाइटीले भने चिनियाँ लसुन उब्जाउनका लागि दिसायुक्त पानीलाई मलको रुपमा प्रयोग भैरहेको दाबीलाई प्रमाणित गर्ने कुनै सबूत नरहेको बताएको छ ।

यद्यपि विश्वविद्यालयले सन् २०१७ मै एक आलेख प्रकाशित गर्दै कुनै पनि बाली उब्जाउनका लागि मानव मलको प्रयोग गर्ने कुरामा भने कुनै समस्या नरहेको प्रष्ट पारेको थियो ।

उसले भनेको छ– मानिसको मलले अन्य जनावरको मलले जस्तै प्रभावकारी उर्बरकको काम गर्दछ । मानिसको दिसालाई खेतमा छरेर बालीनाली उब्जाउने कुरा सन्दा राम्रो लाग्दैन, तर यो कुरा तपाईं–हामीले सोँचेभन्दा धेरै सुरक्षित छ ।

–बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?