+

लसुनमा के कस्तो औषधीय गुण हुन्छ ?

२०८० पुष  २० गते १७:३० २०८० पुष २० गते १७:३०
Shares
लसुनमा के कस्तो औषधीय गुण हुन्छ ?

लसुनको स्वादबारे त धेरै बखान गर्नुपर्दैन । काँचो खाँदा यो पर्रर पिरो स्वादको हुन्छ । जब यसलाई दाल, तरकारीमा मिसाइन्छ स्वाद बदलिन्छ ।

मूलत: नेपाली भान्सामा लसुनको प्रयोग स्वादकै लागि गरिन्छ । यद्यपि यो औषधीय गुणले पनि भरिपूर्ण मानिन्छ । त्यसैले त प्राचीनकालदेखि औषधिकै रुपमा लसुनको प्रयोग हुँदै आएको पाइन्छ । लसुनलाई संस्कृतमा ‘रसोन’ भनिन्छ । किनभने धर्तीमा हुने ६ रस (पिरो, तीतो, नुनिलो, टर्रो, अमिलो, गुलियो) मध्ये लसुनमा पाँच रस हुन्छ । लसुनमा ‘अमिलो’ रस मात्र हुँदैन ।

‘रस उन’ अर्थात् एक रस कम भएकाले यसलाई ‘रसोन’ भनिएको हो । आयुर्वेदमा लसुनलाई दुखाइ कम गर्ने द्रव्यको वर्गमा राखिएको छ ।

लसुनको इतिहास

चीन र इजिप्टमा हजारौं वर्षअघिदेखि लसुनको उपयोग हुँदै आएको इतिहास छ । ईसापूर्व १३२५ मा मिश्रका सम्राट तुतांकखेमानको चिहानमा लसुन राखिएको थियो, लासलाई सुरक्षित राख्ने हेतुले । त्यसताका मिश्रका बासिन्दाहरु कसैको मृत्युपछि चिहानमा यसैगरी लसुन राख्थे । यस्तो मान्यता थियो कि मान्छे मृत्युपछि जब अर्को लोकमा पुग्छन् उनलाई रोगव्याधिले नसताओस् ।

यसैगरी लामो यात्रामा निस्किने सिपाहीहरुले पनि लसुन बोक्ने गर्थे, ताकि कुनै समस्या भएमा औषधिको रुपमा प्रयोग गर्न सकियोस् ।

मानिसहरुको बसाइँसराइसँगै लसुनको प्रयोगले व्यापकता पाउँदै गयो । ईसापूर्व छैटौं शताब्दीमा लसुनले चीन र भारतमा प्रवेश पाइसकेको इतिहासमा उल्लेख छ । त्यसबेला यसलाई उपचारका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यसपछि क्रमशः लसुनको प्रयोग उपचारमा मात्र नभएर दैनिक जीवनमा हुन थाल्यो ।

पौराणिक कथामा पनि लसुनको महत्व उल्लेख गरिएको छ । कथाअनुसार भगवान इन्द्रसँग अमृत खोसेर पृथ्वीमा ल्याउँदा खसेका अमृतको थोपाबाट लसुनको उत्पति भयो ।

यी कथाहरुबाट के अनुमान गर्न सकिन्छ भने सदियौंदेखि लसुनलाई औषधीय वनस्पतिको रुपमा प्रयोग गरिन्थ्यो ।

के हुन्छ लसुनमा ?

मेडिकल रिसर्चअनुसार काँचो लसुनमा मुख्यत: एलिसिन भन्ने यौगिक पाइन्छ । यो त्यही तत्व हो, जसमा एन्टिब्याक्टेरियल (जीवाणुनाशक) र एन्टिफंगल (ढुसीनाशक) गुण हुन्छ । साथै लसुनमा फस्फोरस, जिंक, पोटासियम र म्याग्नेसियम जस्ता लवण पदार्थ पनि भरपुर हुन्छ । सल्फर पदार्थ हुने भएकाले लसुनको गन्ध तिख्खर हुन्छ ।

के गर्छ लसुनले ?

त्यसो त दाल–तरकारीमा लसुनको प्रयोग गरिरहेकै हुन्छ, जसबाट प्रत्यक्ष–परोक्ष लाभ मिलेको हुनसक्छ । त्यसबाहेक बिहान खाली पेटमा दुई–चार केस्रा लसुन खाँदा फाइदा गर्छ । लसुनमा भएको ‘एलिसिन’ तत्वले विभिन्न किसिमको संक्रमणबाट बचाउन सहयोग गर्छ । टाइफाइड, ज्वरो, एलर्जीको संक्रमण हुन दिंदैन ।

शरीरमा हुने दुखाइ कम गर्न पनि लसुन प्रयोग गरिन्छ । सुन्निएको वा दुखेको ठाउँमा लसुन राखेर तताएको तेलले मालिस गर्न सकिन्छ । काँचो लसुनमा एन्टिअक्सिडेन्ट सल्फहाइड्रिल तत्व पाइन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।

लसुनको नियमित प्रयोगले रक्तनलीमा जम्मा भएको खराब कोलेस्टेरोल बाहिर निकाल्छ । यसले मुटुमा हुनसक्ने जोखिम कम गर्छ । लसुन उचित मात्रामा सेवन गर्दा रक्तनलीमाथि हुने दबाब कम हुन्छ । रक्तचाप नियमित गराउन पनि लसुन उपयोगी मानिन्छ । कतिपय छालाको समस्यामा लसुनको प्रयोग गर्न सकिन्छ ।

कसले खानु हुँदैन ?

लसुनको एलर्जी, रगतको कमी र बिरामीले रगत पातलो बनाउने औषधि सेवन गरिरहेका छन् भने पनि लसुनको सेवन नगर्दा उपयुक्त हुन्छ । किनकि यस्तो अवस्थामा लसुन सेवन गरेमा अन्य समस्या बढ्न सक्छ । अल्सर भएमा पनि यसको सेवन उचित हुन्छ ।

औषधिको रुपमा लसुन प्रयोग गरिरहँदा कुनै पनि औषधि खाइरहेका वा उपचार गराइरहेकाले चिकित्सकको परामर्श लिनुपर्छ ।

लसुन स्वास्थ्य
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित

नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित

चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण

चिकित्सक संघ निर्वाचन : एकताको उत्सव र साझा स्वास्थ्य दृष्टिकोण