+
+

सामुदायिक शैक्षिक सुधार कार्यक्रमका लागि काठमाडौं महानगरले गर्‍यो केयूसँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १८:५६

२६ मंसिर, काठमाडौं । काठमाडौ महानगरपालिकाले सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं विश्वविद्यालयसँग नीतिगत सम्झौता गरेको छ । २५ मंसिरमा भएको प्रमुखस्तरीय निर्णयअनुसार उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको उपस्थितिमा मंगलबार शिक्षा अधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पत्रमा महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य रहेको उल्लेख छ ।

‘सम्झौतामा उल्लेख भएको योजनामा टिचर कलेज कार्यक्रम समावेश भएको छ, यसले शिक्षकहरुको क्षमता विकास तालिम उपलब्ध गराउँछ,’ शिक्षा अधिकारी सीताराम कोइरालाले भने । उनका अनुसार शिक्षकसँगै शैक्षिक गुणस्तर सुधारमा लाग्न  चाहने व्यक्ति यो कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

के के छन सम्झौतामा ?

सम्झौताअनुसार शिक्षामा सीप, पुस्तकरहित शुक्रबार तथा बालसञ्जाल गठन तथा सशक्तीकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सीप विकास कार्यक्रम, शिक्षण सिकाइ पेडागोजीमा सुधार, विद्यार्थीको नतिजा सुधार र प्रारम्भिक बालविकास कक्षाको स्तरोन्नतिका लागि सहकार्य हुनेछ । कार्यक्रम विश्वविद्यालयको स्कुल अफ एजुकेसनमार्फत कार्यान्वयनमा आउनेछ ।

महानगरपालिकाका अनुसार जनशक्तिको क्षमता विकासका क्षेत्र र आवश्यकता पहिचान गर्ने, पाठ्यक्रम र शिक्षण सिकाई विधि तयार पार्ने कार्यक स्कुल अफ एजुकेसनले गर्नेछ । यसका लागि आवश्यक पर्ने समय, जनशक्ति तथा अन्य प्रशासनिक खर्चको लागत अनुमान तयार पारेपछि कार्यक्रमगत सम्झौता हुनेछ ।

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले असल नागरिक उत्पादन गर्न महानगरपालिकाले शिक्षा सुधारका लागि लगानी गरेको बताइन् । ‘हामीले तयार पारेका कार्यक्रम तत्काल कार्यान्वयन गर्न चाहन्छौं,’ उनले भनिन्, ‘एउटा होइन, सबै सामुदायिक विद्यालय नमुना हुनुपर्छ । नानीबाबुलाई विद्यालय पठाउने बेला हरेक अभिभावकको मनमा सामुदायिक विद्यालयको चित्र आउने बनाउनुपर्छ ।’

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले टिचर कलेज कार्यक्रमबारे बोल्दै व्यक्ति, समुदाय र देशको उन्नतिका लागि परम्परागत तथा रैथाने ज्ञान र छोटो अवधिको तालिमले शिक्षकलाई प्रोत्साहित गर्दै उत्पादनशील बनाउने बताए ।

शिक्षा विभागका प्रमुख कोइरालाले महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दुई हजार २०२ जना शिक्षकले अध्यापन गराउने उल्लेख गर्दै सामुदायिक शिक्षाको स्तर उकास्दै संस्थागत विद्यालयमा पनि कार्यक्रम लैजानुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?