+
+

महानगर स्वयंसेवक : अमूर्त सम्पदा दस्तावेजीकरणदेखि संरक्षणको जिम्मेवारीसम्म

सम्पदा र संस्कृति जगेर्ना गर्ने र त्यसमा योगदान दिन प्रोत्साहन गर्ने प्रशिक्षकलाई तारे होटलमा प्रशिक्षण दिँदा सैद्धान्तिक ज्ञान मात्रै दिन सकिने भन्दै सम्पदा क्षेत्रलाई नै प्रशिक्षण स्थलका रूपमा छनोट गरिएको महानगरपालिकाले जनाएको छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ वैशाख ८ गते २०:५०

८ वैशाख, काठमाडौं । परालबाट बुनेको सुकुल, ऐतिहासिकताको झल्को दिने पुरानो वास्तुशैलीमा बनेको सत्तल । छेवैमा शिखर शैलीका तीन विशाल र सुन्दर मन्दिर छन् । झिँगटीको छानोमुनि काठको दलिनले चैतको प्रचण्ड गर्मीमा पनि गर्मीको महसुस हुन दिंदैन । न कुनै कोलाहल । यो शान्त र सांस्कृतिक माहोलमा काठमाडौं महानगरपालिकाले नगर स्वयंसेवक तालिम दिइरहेको छ ।

यो नगर स्वयंसेवक २०८० अन्तर्गत सम्पदाका लागि युवा तथा बालबालिकाको ‘टिम बिल्डिङ ट्रेनिङ फर हेरिटेज कन्जर्भेसन’ नामक तालिमको दृष्य हो, जुन चैतको दोस्रो साताबाट चलिरहेको छ ।

ठूलो उत्साह र ऊर्जा बोकेका युवा सहभागी यस कार्यक्रमको सुरुवात नौलो तरिकाले गरिएको छ । सम्पदा र संस्कृति जगेर्ना गर्ने र त्यसमा योगदान दिन प्रोत्साहन गर्ने प्रशिक्षकलाई तारे होटलमा प्रशिक्षण दिँदा सैद्धान्तिक ज्ञान मात्रै दिन सकिने भन्दै सम्पदा क्षेत्रलाई नै प्रशिक्षण स्थलका रूपमा छनोट गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको सहरी विकास विभागले करिब १२ वर्षअघि सुरु गरेको नगर स्वयंसेवक कार्यक्रमले २०७२ सालको भूकम्पमा ठूलो संख्यामा स्वयंसेवक जन्माएको थियो । तर, भूकम्पपछि रोकिएको यस अभियानलाई अहिले काठमाडौंका दुई विभागले विभिन्न संघसंस्थासँग मिलेर पुनर्जीवन दिंदैछन् ।

जसअन्तर्गत सम्पदा तथा पर्यटन विभागले संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रसँगको सहकार्यमा यस्तो कार्यक्रम सञ्चालन गरेको सम्पदामा युवा र बालबालिका (संयुवा) कार्यक्रमकी योजनाकार एवं काठमाडौं महानगरपालिकाकी सम्पदा महाशाखा प्रमुख श्रृजु प्रधानले जानकारी दिइन् ।

‘स्वयंसेवकलाई समुदायमा पठाउनुपूर्व उनीहरूलाई तालिम दिएर योग्य बनाउन जरुरी छ,’ उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाको यो प्रयासले जुनसुकै ठाउँमा पुगेर पनि स्वयंसेवकले नेपाली संस्कृति र सम्पदाबारे आफ्नो योगदान दिन सक्ने योग्य व्यक्ति तयार पार्ने विश्वास छ ।’

नगर स्वयंसेवकका दुई हाँगा

गत फागुन पहिलो साता काठमाडौं महानगरपालिकाले दुई समूहका १ सय ४० स्वयंसेवकका लागि आवेदन आह्वान गरेको थियो । उनीहरूका लागि माग भएको आवेदनमा २ सय ४७ जनालाई पहिलो चरणमा छनोट गरी अन्तर्वार्ताका लागि बोलाइएको थियो । जसमध्ये १ सय ६५ जना स्वयंसेवक अन्तर्वार्तामा सहभागी थिए ।

त्यसमध्ये संयुवा समूहमा ४० र शिक्षा विभागअन्तर्गत रहेको बालबालिका र वातावरण (बाबा) समूहमा १ सय गरी कुल १ सय ४० जना छनोटमा परेका थिए । जसमध्ये संयुवा स्वयंसेवक तालिम सुरु भइसकेको छ भने बाबा समूहको तालिम २२ चैत शुक्रबारबाट सुरु हुने शिक्षा विभागले जनाएको छ । बाबा समूहको गतिविधि भने विद्यालयको सरसफाइ र वातावरणमैत्री गतिविधिमा केन्द्रित रहने छ ।

यो तालिम एवं स्वयंसेवक परिचालन व्यवस्थापन संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले गरेको छ । विगत चार वर्षदेखि नेपाली इतिहास, संस्कृति र पुरातत्वको विषयमा अध्ययन अनुसन्धान एवम् यस्तै कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाले गत वर्ष काठमाडौंका विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई ‘स्टुडेन्ट एम्बेसडर’ नामक कार्यक्रममार्फत संस्कृति र सम्पदाबारे तालिम दिएको थियो ।

महानगरपालिकाले २०६७ सालमा ४० स्वयंसेवकमार्फत संयुवा कार्यक्रम सञ्चालन थालेको हो । २०७२ सालको भूकम्प अवधिमा करिब १ सय स्वयंसेवक सक्रियरूपमा काम गरिरहेका थिए । भूकम्पले पु¥याएको क्षति व्यवस्थापनमा उनीहरू सक्रिय थिए ।

‘प्रतिकुल अवस्थामा स्वयंसेवक व्यवस्थापनमा महानगरपालिकालाई कठिन भएपछि यो कार्यक्रम बिस्तारै निष्क्रिय हुँदै गएको थियो । पहिलो ब्याचका स्वयंसेवक निरोज महर्जन अनुभव सुनाउँछन्, ‘यो कार्यक्रमबाट आफूजस्तै जोशिला स्वयंसेवक उत्पादन गर्दै सामाजिक कामका लागि ठूलो सञ्जाल बनाउने लक्ष्य राख्नुपर्छ ।’

समुदायमा खटिन थाले युवा स्वयंसेवक

चार दिनको प्रशिक्षणपछि संयुवा स्वयंसेवक समुदायमा खटिन थालेका छन् । पछिल्लो समय काठमाडौंमा सुरु भएको जात्रापर्वसँगै संयुवा स्वयंसेवक जात्रापर्व व्यवस्थापन एवं त्यसको ‘डकुमेन्टेसन’ को काममा खटिन थालेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको सम्पदा महाशाखा प्रमुख प्रधानले संयुवा स्वयंसेवकलाई स्थानीय संस्कृतिबारे जानकारी गराउँदै उनीहरूबाट नै ती अमूर्त सम्पदाको तथ्यांक संकलन गर्न लगाउँदा एकै पटक दुईवटा काम सम्पन्न हुने जानकारी दिइन् । यसरी संकलन गरिएको तथ्यांकको सम्बन्धित विज्ञबाट पुष्टि गरेर त्यो प्रतिवेदनसमेत प्रकाशन गरिने जानकारी दिइन् ।

दुई कार्यक्रममध्ये संयुवा कार्यक्रम चालु आर्थिक वर्ष असार मसान्तसम्म सञ्चालन हुनेछ भने बाबा र बालबाालिका उपसमूहले २४ साताका लागि स्वयंसेवक छनोट गरेको छ ।

असार मसान्तसम्म चल्ने विभिन्न जात्रापर्वको तथ्यांक संकलन गरी त्यसको प्रतिवेदन तयार पार्नुका साथै सडक नाटकदेखि अन्य विभिन्न सिर्जनशील कार्यमा पनि उनीहरूलाई सहभागी गराइने महानगरपालिकाले जनाएको छ ।

सिटी भोलिन्टियर अन्तर्गत बाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रित छ । संयुवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । निर्धारित समयको ६० प्रतिशत समय दिन सक्ने स्वयंसेवकलाई प्रमाणपत्र दिइने छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?