+
+

शेखर–गगन समूहको संकट तत्काललाई टर्‍यो

कांग्रेस संसदीय दलको नेता चयनका बेला सुरु भएको असमझदारीलाई कोशी प्रकरणले उछालेको थियो । दूरी घटाउँदै संस्थापनइतर समूहलाई बलियो बनाउन शेखर र गगन सहमत देखिएका छन् । त्यसका लागि सोमबारका तीन घण्टा निकै महत्वपूर्ण रहे ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० मंसिर २६ गते १९:४१

२६ मंसिर, काठमाडौं ।  संवादहीनता तोड्दै नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाले सोमबार तीन घण्टा संवाद गरेपछि कांग्रेस संस्थापनइतरको संकट तत्काललाई टरेको छ ।

संसदीय दलको नेता चयन, कोशी प्रकरण हुँदै नेता शेखरले मंगलबार बैठक बोलाएपछि विश्वासको संकट थप चुलिएको थियो । महामन्त्री थापाले बैठक बस्नुअघि परामर्श नै नगरिएकाले बैठकमा उपस्थित नहुने अडान लिए । संस्थापनइतरको एक पक्ष शेखरले बोलाएको बैठकमा उपस्थित नहुने अवस्था बनेपछि उक्त समूहका केही नेताहरू एकता बचाउन सक्रिय भए ।

संस्थापनइतरका नेताहरूका अनुसार सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, सञ्जय गौतम, मधु आचार्य लगायत नेताहरू समूहको संकट टार्न सक्रिय भएका थिए । संस्थापनइतरका नेताहरूको सक्रियतापछि नेता अर्जुननरसिंह केसी निवासमा शेखर–गगन संवादका लागि तयार भए ।

सोमबार साँझ ५ बजे भेट भएका दुई नेताको संवाद तीन घण्टासम्म चलेको थियो । केन्द्रीय सदस्य मधु आचार्य भन्छन्, ‘हिजो उहाँहरूबीच मन माझ्ने काम भएको छ । दुई जनाले सल्लाह गरेर अघि बढ्ने नै कुरा भएको छ ।’ आपसी सहमति कार्यान्वयन नभए संकट पुनः निम्तिने जोखिम आचार्य देख्छन् ।

संस्थापनइतरका एक नेताका अनुसार दुई नेताबीच हालसम्म भएका निर्णय प्रक्रियाको आत्मसमीक्षा भएको छ । संसदीय दलको मत परिणाम, कोशी प्रकरण, आफ्ना समूहको मन्त्री छनोट, शेखरले मंगलबार बोलाइएको बैठक, सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट समूहका नेता माथि गरिएका दोषारोपण लगायतमा छलफल भएको संस्थापनइतरका एक नेताले बताए । उनका अनुसार जानेर वा नजानेर विगतमा गरिएका गल्तीलाई बिर्सिएर समूह एकढिक्का बनाउने बारे दुई नेता सहमतिमा पुगेका छन् ।

महामन्त्री थापाले शेखरसँग कोशीमा नयाँ मुख्यमन्त्री नियुक्तिबारे चालेको कदम थाहा नदिएको प्रति असन्तुष्टि व्यक्त गरेका थिए । प्रत्युत्तरमा शेखरले हतारको परिस्थिति भएकाले समूहका शीर्ष नेताहरूसँग छलफल हुन नसकेको जवाफ फर्काएका थिए ।

कोशीमा मुख्यमन्त्री माओवादीलाई दिने गठबन्धनमा निर्णय भएपछि शेखर पक्षीय प्रदेश सांसदले विद्रोह गरेका थिए । नेकपा एमालेका सांसदको बलमा कांग्रेसका आठ सांसदले मुख्यमन्त्रीमा केदार कार्कीलाई अगाडि सारेका थिए । कार्की शेखर निकट हुन् ।

दुई नेताबीच केन्द्रदेखि प्रदेशसम्म मन्त्री बनाउँदा यथेष्ट सल्लाह नभएको विषयलाई महामन्त्री गगनले उठान गरेको संस्थापनइतरका एक नेता बताउँछन् । प्रदेशका मन्त्रीमा शेखरले एकलौटी गर्दै आएको महामन्त्री थापापक्षीय नेताहरूको बुझाइ छ । केन्द्रमा उपसभापति धनराज गुरुङ र मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू निकट हुन् । प्रदेशमा मन्त्री हुनेहरू बागमतीका उत्तम जोशी, गण्डकीका महेन्द्रध्वज जिसी, कर्णालीका कृष्णकुमार बीसी लगायत शेखर निकट चिनिन्छन् ।

शेखरले मंगलबार बोलाइदिएको बैठक नै यो समूहमा पछिल्लो समय संकट थप उछाल्ने कारक बन्यो । आफ्नै समूहको पार्टी महामन्त्रीसँग समय, एजेण्डा लगायतमा पूर्व सल्लाह नै नगरी ‘हठात्’ बैठक डाकिएपछि संकट थपिएको थापापक्षीय नेताहरूको तर्क छ ।

‘बैठकमा आउनुस् भनेर बोलाउने पात्र मात्रै हुन् र महामन्त्री ?’ महामन्त्री थापा निकट एक नेता भन्छन्, ‘बैठकमा छलफल हुने विषयका लागि पूर्व तयारीका लागि गगनजीसँग छलफल गर्नुपर्ने होइन ?’ सोमबार भएको छलफलमा महामन्त्री थापाले उक्त विषयलाई जोड दिएर राखेका थिए । नेता शेखरले बैठक बोलाउने आफ्नो नियतमा शंका नगर्न आग्रह गरेका थिए ।

सानातिना विषयहरू उठेका भए पनि समूहमा खास संकट नरहेको केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल दाबी गर्छन् । पोखरेल भन्छन्, ‘एक÷दुई कुरामा असमझदारी हो । कुराकानीबाट त्यो हटिसक्यो ।’

शेखर–गगन बीचमा आफ्नै समूहभित्रका नेताहरूका अभिव्यक्तिका विषयमा पनि कुरा उठेको थियो । संस्थापनइतरका सार्वजनिक मञ्च तथा सामाजिक सञ्जालमा आफ्नै समूहका नेताले एकलाई अर्कोले खुइल्याउने कार्य रोकिनुपर्नेमा एकले अर्काको ध्यानाकर्र्षण गराएका थिए ।

कोशीका मुख्यमन्त्री केदार कार्कीले १९ मंसिरमा ओखलढुंगामा महामन्त्रीप्रति दिएको अभिव्यक्तिको समूहभित्र असन्तुष्टि छ । कार्कीले त्यसबेला भनेका थिए, ‘महामन्त्रीहरूको परिपक्वता देखिरहेका छैनौं । अर्को समानान्तर विद्रोही कार्यक्रम गर्दै हुनुहुन्छ । महामन्त्रीले द्वन्द्व व्यवस्थापन गर्ने हो । द्वन्द्व सिर्जना गर्ने होइन ।’ समूहका नेतालाई लाञ्छना लगाउने तथा उच्छृङ्खल अभिव्यक्ति दिनेहरूलाई सचेत बनाउने दुई नेताबीच समझदारी बनेको छ ।

दुई नेता छलफलमा जुटेपछि मंगलबारको बैठक बुधबारका लागि सारियो । बुधबार महामन्त्री थापा पनि सहभागी हुने भएका छन् । बुधबारको बैठक एकअर्कामा आरोप–प्रत्यारोपमा सकिने हो कि भन्ने आशंका समूहभित्रका नेतामा छ । ‘एकले अर्कालाई गाली गर्ने माध्यम बैठक हुनुहुँदैन’, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी भन्छन् । बैठकमा महासमिति बैठक, सुशासनका विषय, समूहले पार्टीभित्र उठाउँदै आएको रूपान्तरणको मुद्दा लगायतमा छलफल हुने केसीले जानकारी दिए । आसन्न राष्ट्रिय सभाको उम्मेदवारका लागि मापदण्ड बनाउनुपर्ने विषयमा छलफल हुने केसीले बताए ।

एकले अर्कालाई खुइल्याउने तरिकाले समूहका नेताहरू बैठकमा प्रस्तुत नहुने पोखरेल दाबी गर्छन् । समूहलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिने वातावरण बन्न नदिने पोखरेलले बताए । बुधबार हुने समूहको बैठक विषयकेन्द्रित हुने अपेक्षा केन्द्रीय सदस्य आचार्यले राखे । ‘आरोप–प्रत्यारोपमा जान हुँदैन । हाम्रा अगाडिका चुनौती सामान्य छैनन्’ आचार्य भन्छन्, ‘महासमितिले रूपान्तरणका ठोस निर्णयहरू लिनैपर्नेछ । वैचारिक धार एकताबद्ध भएर गए पार्टीमा रूपान्तरण ल्याउन पनि सक्छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?