+
+

ललितपुरमा उभिन पनि पाएनन् ई:

अमृत चिमरिया अमृत चिमरिया
२०८० मंसिर २६ गते २१:४१

२६ मंसिर, काठमाडौं । पूर्व घोषणाअनुसार अभियन्ता ईः मंगलबार अपराह्न ३ बजे ललितपुर महानगरपालिका अगाडि उभिए । लबिम मलको आडमा उभिएका ईः र सहकर्मीहरुले विस्थापन होइन, व्यवस्थापन गरौं भन्ने नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

ललितपुर महानगरले आइतबारदेखि मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यवसाय पूर्ण निषेध गरेको थियो । त्यही निर्णयको विरोध गर्न ईःले मंगलबार १०८ मिनेट महानगरअगाडि उभिने घोषणा गरेका थिए । तर उनलाई केही मिनेट पनि त्यहाँ बस्न दिइएन । केही स्थानीय उनको विरोधमा आइपुगे । उनीविरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीले ईःलाई आफ्नो कार्यालयमा लग्यो ।

जम्मा भएका स्थानीयबासीले भने अभियान्ता ईःविरुद्ध नाराबाजी मात्र गरेनन्, गालीगलौजमै उत्रिए । ललितपुरमा कुनै हालतमा फुटपाथमा व्यवसाय गर्न नदिने दाबी गरे ।

यो ललितपुर महानगर हो, जसले कुनै समय फुटपाथ व्यवसायको नमुना व्यवस्थापन गरेको भन्दै प्रशंसा पाएको थियो । फुटपाथमा व्यापार गरेको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ठेला तथा साइकलमा सामान बेञ्चेहरुलाई लखेल्ने, लछारपछार गर्ने थालेपछि मेयर बालेन शाह निकै आलोचित भए । महानगरको ध्यानाकर्षण गराउन अभियान्ता ईः आफैं ९ दिन लगातार उभिएका थिए । ललितपुरको फुटपाथ व्यवस्थापनको धेरैले तारिफ गरेका थिए ।

तर अहिले ललितपुर महानगर पनि काठमाडौंकै बाटोमा हिँडेको अभियन्ता ईः बताउँछन् ।

किन यो निर्णयमा पुग्यो महानगर ?

ललितपुर महानगरपालिकाले १९ मंसिरमा एउटा निर्णय ग¥यो, नम्बर वडामा पर्ने मंगलबजारदेखि लगनखेलसम्म २५ मंसिरदेखि फुटपाथ व्यवसाय पूर्ण निषेध गर्ने ।

ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथु स्थानीयको विरोध र भीड व्यवस्थापनको चुनौती आंकलन गरेर मंगलबजारदेखि लगनखेलसम्म फुटपथ निषेध गरिएको बताउँछन् ।

उनका अनुसार एक वर्ष अगाडिसम्म मंगलबजारदेखि लगनखेल क्षेत्रमा एक सयको हाराहारीमा फुटपाथ व्यवसायी थियो । ‘काठमाडौंको फुटपाथ व्यवसाय यता सरेपछि थेगिनसक्नु भयो’ उनले भने, ‘५०० भन्दाबढी पसल थापिएका छन् ।’

वडाध्यक्ष राजेन्द्र महर्जनका अनुसार फुटपाथ व्यवसायी बढेपछि स्थानीयले वडा कार्यालय नै घेराउ गरे । ‘ललितपुरमा यहाँ मात्रै बन्द गरिएको हो, बन्द गर्नुको कारण छ’, उनले भने, ‘पुराना व्यवसायी र फुटपाथ व्यवसायीबीच झगडा भइसकेको छ । स्थानीयले वडा कार्यालय नै घेरे । अब बन्द नगरेर भयो त ?’

यो क्षेत्रमा दमकल, एम्बुलेन्स लगायतका अध्यावश्यकीय साधन छिर्न नसक्ने अवस्था आएको र फोहोर व्यवस्थापन गर्न समेत हम्मेहम्मे भएको उनको दाबी छ ।

तर अहिले पनि विहान ८ बजेसम्म तरकारी बेच्न रोक नलगाएको भन्दै नगर प्रहरी प्रमुख हाछेथु भन्छन्, ‘हामी अहिले पनि फुटपाथ व्यवसायीलाई दुःख दिने, लखेट्ने सोचमा छैनौं ।’ हाछेथुको अनुसार ललितपुरको मुख्य चोकदेखि भित्री गल्लीहरुसम्म समय तोकेर विहान बेलुका फुटपाथ, ठेला र साइकल व्यवसाय गर्न पाइन्छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?