+
+

भ्रष्टाचार विरुद्ध लड्न संरचनात्मक चुनौती छन् : अख्तियार प्रमुख राई

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १६:४२

२९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालले भ्रष्टाचारविरुद्धको संघर्षमा संरचनात्मक चुनौतीहरुको सामना गरिरहेको बताएका छन् ।

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी (अन्क्याक) पक्ष राष्ट्रहरुको सम्मेलनमा सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरुमा नेपालले भ्रष्टाचार नियन्त्रणमा केही काम गरिरहे पनि चुनौतीहरुको सामना गर्नुपरेको बताएका हुन् ।

सम्मेलनमा उनले भने, ‘भ्रष्टाचार सामाजिक, राजनीतिक र कानुनी संरचनामा गहिरोसँग जरा गाडिएकोले यसको दिगो सफलताको लागि यी अन्तर्निहित कारकहरूलाई सम्बोधन गर्नु महत्वपूर्ण हुनेछ ।’

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धी (अन्क्याक)को प्रभावकारी कार्यान्वयनका लागि कानुनको कार्यान्वयन र न्यायिक सहयोग बलियो बनाउनुपर्ने भन्दै उनले सार्वजनिक र निजी क्षेत्रको पारदर्शिता र जवाफदेहिता बढाउनुपर्ने बताएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचारजस्तो गम्भिर अपराधले सरकारप्रतिको विश्वसनियता घटाउने भन्दै उनले महासन्धीको पक्षधर राष्ट्रहरुको सामूहिक संकल्प भ्रष्टाचार नियन्त्रणका लागि महत्वपूर्ण हुने बताए । उनले महासन्धीका प्रावधान कार्यान्वयनका लागि नेपालले कानुन निर्माणको प्रक्रिया अघि बढाएको र संस्थागत प्रयासहरु थालेको बताए ।

उनले अन्क्याक पक्ष राष्ट्रहरुसँग समेत सहकार्यको अपेक्षा गरेको बताए । अमेरिकाको एटलान्टामा अन्क्याक महासन्धीमा हस्ताक्षर गर्ने मुलुकहरुका १० औं सम्मेलन चलिरहेको छ । सोही सम्मेलनमा भाग लिन उनी अमेरिका पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?