+
+

घरैको कुकुर, जसले सातौं किताब लेखिरहेका सम्राट उपाध्यायलाई बालकथातर्फ लग्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १७:०१

३० मंसिर, काठमाडौं । ‘अरेस्टिङ गड इन् काठमान्डु’ कथासंग्रहका लागि ‘ह्वाइटिङ् अवार्ड’ विजेता सम्राट उपाध्याय ‘गुरु अफ् लभ’, ‘बुद्धज् अर्फान्स्’, रोयल गोस्ट्स, सिटी सन, म्याड कन्ट्री जस्ता किताबका लागि प्रसिद्ध छन् । आफ्नो नयाँ उपन्यास ‘द डार्क मदर ल्यान्ड’ अमेरिकाको सोहो प्रेसबाट छिटै प्रकाशित हुने जानकारी उनले दिए ।

इन्डियाना विश्वविद्यालयमा सिर्जनशील लेखन र साहित्य पढाउने प्राध्यापक सम्राट तीन दशकअघि अमेरिका गएका थिए । अंग्रेजी भाषामा लेख्ने नेपालीहरुमध्ये सम्राटको नाम अग्रपंक्तिमा पर्छ । उनले विश्वविद्यालयको क्रियटिभ राइटिङ डिपार्टमेन्टमा निर्देशक भएर नेतृत्व गरिसकेका छन् । न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट, लस एन्जेलस टाइम्स आदिमा उनको किताबबारे चर्चा भइसकेका छन् ।

यसै वर्ष ६० टेकेका सम्राट आफूमा सिर्जनात्मक उर्जा झन् थपिन थालेको बताउँछन् । अनलाइनखबरसँग आफ्ना नयाँ रचनाहरुको बारेमा जानकारी दिन बस्नुअघि उनी पत्नी बबितासँग सगरमाथा आधारशिविर पैदल गएका थिए ।

‘यात्राले शारीरिक रुपमा मात्रै होइन मानसिक रुपमा समेत बलियो बनाउँछ, म अमेरिका र युरोपमा पनि पाएसम्म ट्रेकिङ गइरहन्छु’ सम्राटले भने, ‘यात्रामा पाएको ऊर्जा र अनुभव लेखनमा कहीं न कहीं प्रतिविम्बित भइहाल्छ । त्यसैले म पोहोर पनि नेपाल आएर अन्नपूर्ण आधार शिविर गएको थिएँ ।’

आधा दर्जनभन्दा बढी कृति लेखिसकेपछि सम्राटले नयाँ उपन्यास सत्र सय पृष्ठमा लेखे । सम्पादक र एजेन्टसमेतको सुझावमा त्यो झन्डै आधा काँटछाँट भयो । सन् २०२४ मा त्यो डार्क मदर ल्यान्डका रुपमा आउने छ । डिस्टोपियन नोभलमा चित्रित काल्पनिक नेपाली समाज र अमेरिकी समाजको चित्रण रहेको उनले संकेत गरे ।

अंग्रेजीमा लेख्ने नेपालका नयाँ पुस्तालाई सम्राटले राइटिङ नेपाल कम्पिटिशनमा मुख्य निर्णायक रहेर योगदान गरिरहेका छन् । अमेरिकाका विश्वविद्यालयमा पढ्ने विभिन्न देशका विद्यार्थीलाई नेपालको इतिहास, संस्कृति आदिबारे परिचित गराउने बेलाबखत यहाँ ल्याउने गरेका छन् ।

सम्राट पछिल्लो दिनमा बालसाहित्यमा समेत हात हालिरहेका छन् । आफूले लेखेको पहिलो किताब ‘अरेस्टिङ गड इन् काठमान्डु’ किताबको नाममा रहेको गडलाई उल्टाएर डग बनाउन उनलाई प्रेरित गर्ने आफ्नै कुकुर ‘कोआ’ थियो ।

‘एकदिन ल्यापटपमा लेखिरहेका बेला कोआ मेरै छेउमा आएर बस्यो, मलाई अचानक बालकथा लेख्न उत्प्रेरणा आयो,’ सम्राटले आफ्नो कुकुरबारे अनलाइनखबरसँग साझा गर्दै भने, ‘त्यसैले मैले लेख्दैछु- अरेस्टिङ डग इन् काठमान्डु । कोआ नेपाल गएर पक्राउ पर्‍यो भने के होला भन्ने कल्पना गर्दै जाँदा यो किताब सिर्जना भयो ।’

सम्राट उपाध्यायसँग बसन्त बस्नेतले गरेको भिडियो कुराकानी ।

भिडियो तथा तस्बिर : शंकर गिरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?