+
+

लुम्बिनीमा विश्वशान्ति धामको निर्माण पुनः सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १९:२२

३० मंसिर, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा सात वर्षअघि सुरु भएको विश्वशान्ति धामको निर्माण पुनः सुरु भएको छ ।

वौद्ध धर्मगुरु श्याल्पा तेञ्जिङ रिन्पोछेले सुरु गरेको धाम निर्माणको काम कोरोना महामारीका कारण रोकिएको थियो । ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको धाम ४४ मिटर उचाइको चार तले र कमलको फूल आकारको हुने छ ।

शनिबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, धर्मगुरु रिन्पोछे, अमेरिकी दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर विश्व शान्ति धाम निर्माणको पुनः सुरुवात गरेका छन् । त्यसपछि उपस्थित धर्मगुरुहरु, संघसंस्थाका प्रतिनिधि पालैपालो श्रमदानमा सहभागी भएका थिए ।

विश्वशान्ति धाम निर्माणका लागि सरकारले ६६ रोपनी जग्गा उपलब्ध गराएको छ । धाम निर्माण पूरा गर्ने रिन्पोछेले बताए । धाम बनाउन लाग्ने उक्त लागत रकम जुटाउन हरेक व्यक्तिले एक रूपैयाँ, एक डलर, एक पाउन्डका दरले भए पनि सहयोग गर्न सक्ने उनले बताए ।

विश्व शान्ति धाम निर्माणका लागि सहयोग जुटाउन नेपालसहित विभिन्न मुलुकमा शान्ति महोत्सव, सांगीतिक कार्यक्रम गर्दै आएको रिन्पोछेले बताए । विश्वभरका मानिसले खोजिरहेको शान्ति लुम्बिनीमा पाइने भएकाले विश्व शान्ति धाम बनाउने कार्यमा पनि विश्वभरका व्यक्तिहरूको सहयोगको अपेक्षा गरिएको रिम्पोछेले बताए ।

‘विश्व शान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरू एक साथ आउन सक्ने र शान्तिको सन्देश विश्वभर फैलाउंदै मानव कल्याण र हितको लागि काम गर्न सक्ने खुला मञ्च हुनेछ’, रिन्पोछेले भने, ‘विश्वव्यापी रुपमा बढ्दो युद्ध, जलवायु परिवर्तन र मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न विश्व शान्ति धामले संसारभरका नागरिकलाई शान्तिको मार्गमा लाग्न प्रेरित गर्नेछ ।’

विश्व शान्ति धाम निर्माणले लुम्बिनी क्षेत्रको मात्र नभई नेपालको प्रचार–प्रसार विश्वभर हुने र यहाँको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउने धर्मगुरु रिम्पोछेको भनाइ छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुग्ने बताए ।

यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतीक बन्ने उनको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै सबैको सहयोगबाट यो निर्माण हुने बताए ।

नेपालका लागि अमेरिकी दूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न निर्माणाधीन विश्व शान्ति धामले सघाउ पु¥याएको उल्लेख गरिन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति अभियान्ता माइकल सङ र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे ।

धामको हरेक तला ३४ सय वर्गमिटर क्षेत्रफलका हुने र त्यहाँ १५ सय जना अट्ने शान्ति वार्ता हल, शान्ति संग्रहालय, शान्ति पुस्तकालय, प्रवचन कक्ष, ध्यान कक्ष, युनिभर्सल पिस इन्ष्टिच्युट, रिट्रिट सेन्टर आदि संरचना बनाइने धामकी सूचना अधिकारी पासाङ शेर्पाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?