+
+

लुम्बिनीमा एकीकृत समाजवादीको आपत्तिपछि भगवतीलाई मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १९:४९

६ वैशाख, बुटवल । लुम्बिनीमा नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउने मुख्यमन्त्री जोखबहादुर महराको निर्णय केही घण्टा पनि टिक्न सकेन ।

बिहीबार मुख्यमन्त्रीले १० सदस्यीय मन्त्रिपरिषद बनाउँदा एकीकृत समाजवादीका कसैलाई पनि मन्त्री बनाएनन् ।

मन्त्रिपरिषदको सूची सार्वजनिक भएपछि एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीले मुख्यमन्त्री र सत्ता गठबन्धनका दलहरुले आफ्नो दलमाथि बेइमानी गरेको भन्दै आपत्ति जनाइन् ।

२२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो ।

तर बिहीबार मुख्यमन्त्री महराले मन्त्रिपरिषद विस्तार गर्दा एमाले, माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद बस्नेतलाई मन्त्री बनाए, एकीकृत समाजवादीलाई वास्ता गरेनन् ।

सहमति अनुसार एकीकृत समाजवादीले मन्त्री नपाएको भन्दै प्रदेश सांसद अधिकारीले मुख्यमन्त्री महराप्रति रोष व्यक्त गर्दै अब मुख्यमन्त्री र सरकारलाई साथ दिन नसकिने बताइन् ।

सरकारका प्रवक्तासमेत रहेका माओवादी नेता दीपेन्द्र पुनले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनेबारे निर्णय नभएको पत्रकारहरुलाई प्रतिक्रिया दिए ।

तर त्यसको एक घण्टा नबित्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट नेकपा एकीकृत समाजवादीकी अधिकारीलाई पनि विना विभागीय मन्त्री नियुक्त गर्दै अर्को सूची सार्वजनिक भयो ।

चार दलबीच सहमति भइसकेको अवस्थामा नागरिक उन्मुक्ति पार्टीलाई पनि गठबन्धनमा मिसाएर आफ्नो दललाई हेपिएको एकीकृत समाजवादीकी सांसद अधिकारीले बताइन् ।

‘मुख्यमन्त्री र गठबन्धनका दलहरुले हाम्रो पार्टीलाई खेलौना जस्तो बनाउने दुस्साहस गर्नुभयो, अन्त पनि सरकार तलमाथि हुने डरले फेरि एक घण्टा नबित्दै मन्त्री नियुक्त गर्नुभयो’, अधिकारीले भनिन् ।

चार दलबीच भएको लिखित सहमतिमा जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र शहरी विकास तथा पर्यटन मन्त्रालय दिने सहमति रहेको जसपाको दाबी छ ।

उक्त सहमति पालना नभएको भन्दै जसपा प्रदेश अध्यक्ष अशोक यादवले आफूहरु सरकारमा नजाने बताएका छन् । तर जसपाका सांसद भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइसकिएको छ । जसपाका अरु दुई सांसद भने असन्तुष्ट छन् ।

मुख्यमन्त्री महराले एमालेले संसदीय दलका उपनेता अर्घाखांचीका चेतनारायण आचार्यलाई अर्थ मन्त्रालय, माओवादीका रोल्पाका दिपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई आजै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीका भगवती अधिकारी विना विभागीय मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?