+
+
Shares

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको घुइँचो

आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य भागका गणेश मन्दिरमा गणेश जन्मोत्सव मनाउन भक्तजनको लाम लागेको छ।

रासस रासस
२०८३ भदौ ३० गते ७:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजधानीलगायत देशका मुख्य भागका गणेश मन्दिरमा आज बिहानैदेखि गणेश चतुर्थीका अवसरमा भक्तजनको लाम लागेको छ।
  • नेवार समुदायले आजको मंगल चतुर्थीलाई चथा पर्वका रूपमा मनाउँदै बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ।
  • राष्ट्रिय धर्मसभाले २०६५ सालदेखि मनाउँदै आएको गणेश चतुर्थीका अवसरमा आज विभिन्न मन्दिरमा पूजा, प्रवचन र गणेश रथयात्रा गरिँदै छ।

३० भदौ, काठमाडौं । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको लाम लागेको हो ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्राईले बताए ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मंगल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । यस वर्ष यो पर्व मङ्गलबारकै दिन परेकोले यसको विशेष महत्व रहेको छ ।

यस अवसरमा २०६५ सालदेखि राष्ट्रिय धर्मसभा नेपालले विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ । आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनाका साथ प्रवचन कार्यक्रम आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।

यस अवसरमा आज विभिन्न गणेश मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गर्ने कार्यक्रम रहेको उनले सुनाए ।

राष्ट्रिय धर्मसभाले २०६५ सालदेखि नै गणेश रथयात्रा गर्दै आएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । यस वर्ष भाद्र शुक्ल पञ्चमी पनि आजकै दिन परेको समितिले जनाएको छ । त्यसैकारण गणेश रथयात्रा पनि आजै गरिँदै छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?