+
+

बच्चालाई तीक्ष्ण बनाउन एपको सहारा लिन्छन् भारतीय आमा

भारतमा परम्परागत तरिकामात्रै पर्याप्त नभएको ठानेर गर्भ संस्कारलाई आधुनिक युगसँग ढाल्दै नयाँ व्यापार सुरु भएको छ ।

द न्यूयोर्क टाइम्स द न्यूयोर्क टाइम्स
२०८० पुष १ गते १२:५१

काठमाडौं । बच्चालाई रतन टाटा जस्तो उद्योगपति बनाउने वा धर्म गुरु स्वामी विवेकानन्द जस्तो ? वैज्ञानिक प्रतिभा एपिजे अब्दुल कलाम जस्तो बनाउने वा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी जस्तो ?

आफ्नो बच्चालाई कस्तो बनाउने कस्तो आचरण वा स्वभाव दिने भन्ने मार्गनिर्देशनका लागि आमाहरुलाई लक्षित गरी भारतमा धेरै एप्लिकेशन बनेका छन् । गर्भावस्थाको स्याहार सुसार र आहार विहारमा पनि स्टार्टअपहरुले प्रविधिलाई जोडेका छन् ।

भारतीय आमाहरुले शताब्दीऔँदेखि बच्चा हुर्काउन सांस्कृतिक र परम्परागत तौरतरिकालाई मार्गनिर्देशनका रुपमा लिने गरेका छन् । यसलाई गर्भ संस्कार पनि भन्ने गरिन्छ । जहाँ बच्चा पेटमा आएसँगै अपनाउनुपर्ने खानपान शैली लगायत विभिन्न आचरणका विषय छन् ।

वर्तमान भारतमा परम्परागत तरिकामात्रै पर्याप्त नभएको ठानेर गर्भ संस्कारलाई आधुनिक युगसँग ढाल्दै नयाँ व्यापार सुरु भएको छ । प्रविधिमार्फत गर्भ संस्कार सिकाउने यो व्यापार भारतको पश्चिम राज्य गुजरातबाट सुरु भएको हो । डिजिटल भविष्यतर्फ लम्किरहेको मुलुकमा गर्भ संस्कार पनि डिजिटल बनिरहेको हो ।

गर्भ संस्कारलाई डिजिटल बनाउने होडमा लागेका साना र ठूला दुबै स्टार्टअपहरुले प्रसवपूर्व र प्रसवोत्तर मार्गदर्शनलाई वैज्ञानिक अनुसन्धान, आहार योजनासँगै योग, ध्यान र विभिन्न परम्परागत कलासँग जोडेका छन् ।

‘ड्रिम चाइल्ड’ नामक एपको प्रयोगकर्ता नीला चौहान गर्भ संस्कारका लागि यो एप निकै उपयोगी रहेको बताउँछिन् । ‘मेरी आमाले आफ्नी सासुबाट केही कुरा जान्नुभयो होला । आमाहरुको पालामा व्यवस्थित र वैज्ञानिक सूचना प्राप्त हुने माध्यम नै थिएन । अहिले मैले के खाने, मेरो बच्चालाई कस्तो खाना खुवाउने योजना एपको सहायताबाट बनाउँछु,’ उनले न्युयोर्क टाइम्ससँग भनेकी छिन् ।

सासु आमाबाट भन्दा अन्यत्रैबाट जानकारी पाउन रुचाउने नयाँ पुस्ताका बुहारीका निम्ति झकिझकाउ आवरणमा विभिन्न एप्स आएका छन् । तीनै मध्येको अर्को एप्स हो ‘गर्भ संस्कार गुरु’ एप्स । चौहानले चलाउने यस एप्सले उनलाई भ्रुणमा रहेको बच्चाको तर्फबाट सन्देश पठाएको छ, ‘प्यारी आमा मलाई वर्षामा नाच्न औधी मनपर्छ । कृपया तपाईं पानी पिइदिनुहुन्छ ?’

परम्परागत र नवीन शैलीबीच सन्तुलन राख्ने मामिलामा भारतले आफूलाई गर्व गर्छ । भारतमा मोदीको उदयपछि उनको राष्ट्रवाद र स्थानीय सामग्रीको विश्वव्यापी विस्तार गर्नसकिने अवधारणा व्याप्त छ । यसलाई वृहत्तर रुपमा अघि बढाउनका निम्ति नयाँ शीप र ज्ञानको आवश्यकता भएको एप विकासकर्ताहरुको मान्यता छ ।

यद्पयि भारतमा स्मार्टफोनको प्रयोगले युवापुस्ताहरुलाई परम्पराबाट पर धकेल्दै घृणा र विभाजनतर्फ अघि बढाइरहेको आरोप लाग्दै आएको छ । यस्तो आरोप खेपिरहेको अवस्थामा नयाँ पुस्ताका स्टार्टअपले परम्परालाई प्रविधिसँग जोडिरहेका हुन् ।

गर्भावस्थाका आमाहरुले एक्लोपनको महसुस नगरुन् भन्ने ध्येयले एप्सको प्रोगामिङ छ । जसले उनीहरुको निराशापन तनावलाई कम गर्न पनि सहयोग गरिरहेको छ भने जोडीबीच भावनात्मक सम्बन्ध विकासमा पनि थप सहयोग गरिरहेको छ ।

धरा जिंजेश पम्बार र उनका पति जिंगेश गत वर्ष दोस्रो बच्चा पाउने चरणमा थिए । दुबै अभिभावक तथा उनीहरुको पहिलो ६ वर्षाको बच्चाले एप्सले सिकाए अनुसारको अभ्यास गरे । कहिले उनीहरु कथा पढ्थे, कहिले लोरी गाउँथे । कहिले पम्बारको पेट वरपर हात राख्दै, ‘हामी यो संसारमा तिमिलाई स्वागतका लागि आतुर छौँ,’ भन्थे ।

एप्सले उनीहरुलाई बच्चा कस्तो किसिमको होस् भन्ने चाहनुहुन्छ भनेर सोध्यो । उनीहरुले कृष्ण जस्तो आवरण र हनुमान जस्तो शक्तिशाली होस् भन्ने चाहेको उल्लेख गरे । उनीहरुको चाहना अनुरुपम नै त्यसका निम्ति आमाले गर्नुपर्ने व्यायाम र खानपान एप्सले सुझायो ।

उनीहरुले आफूहरुझैँ बच्चाको उचाइ कम नहोस् भन्ने पनि चाहेको उल्लेख गरे । ६ वर्षको उनको छोराले कहिलेकाहिँ उनलाई सताइरहेकी हुन्छन् । यस्तो अवस्थामा परिवारका अन्य महिलाले उनलाई व्यंग्य गर्छन्, ‘गर्भ संस्कार एप्स प्रयोग गर्नेको छोरो किन यस्तो छ त ?’

पम्बारले न्युयोर्क टाइम्ससँग भनेकी छिन्, ‘यो एप्सले सबै अवस्थामा काम गर्छ भन्ने त छैन नी !’

‘ड्रिम चाइल्ड’ एप्सका संस्थापक हुन् जितेन्द्र तिमबादिया । एप्स बनाउनुअघि उनी बालबालिका क्रियाकलाप केन्द्रमा काम गर्थे । त्यहाँ काम गर्दागर्दै उनले हिन्दू अवधारणा अनुसार बालबालिका हुर्काउने संस्कारलाई विद्युतीयकरण गर्ने सोच बनाए । यही एप्सका अर्का संस्थापक चेता धाभल ब्रान्डिङ पृष्ठभूमिका थिए ।

तिमबादियाकी पत्नी सुयोगी योगा प्रशिक्षक थिइन् । उनकै सल्लाह अनुसार गर्भावस्थामा गरिने योगाभ्यास त्यहाँ राखियो । ‘गर्भावस्थाका ६ महिनादेखि ४ वर्षको अवधि भनेको बच्चाको समग्र भविष्यलाई आकार दिने बेला हो । आजकालका आमाहरुले विज्ञानसँग समायोजन गरिएका परम्परागत विषयलाई मात्रै पत्याउँछन्,’ तिमबादियाले न्युयोर्क टाइम्ससँग भनेका छन् ।

सन् २०१९ मा आएको ड्रिम चाइल्ड एप्सलाई शुल्क तिरेर प्रयोग गर्नेहरुको संख्या १५ हजार छ । सामान्य प्याकेजका लागि प्रयोगकर्ताले २५ डलर तिरेपछि नौ महिनासम्म प्रयोग गर्न पाउँछन् । वृहत प्याकेजमा निम्ति प्रयोगकर्ताले १०० देखि १८० डलसम्म तिर्नुपर्छ ।

अनलाइनसँगै ड्रिम चाइल्डले आफ्नो छुट्टै सेन्टर पनि सञ्चालन गरेको छ । सुरुवाती चरणमै त्यहाँ २० जना महिलाले सेवाका लागि दर्ता गरेको तिमबादिया स्मरण गर्छन् । त्यो सेवाग्राही मध्येकी थिइन् आखाँकी चिकित्सक हितल पाण्डव । ‘शिक्षित परिवारमा समेत गर्भसंस्कारबारे खुला रुपमा बहस हुँदैन । आफ्नो बच्चाको स्याहार गर्भावस्थादेखि नै गर्नका निम्ति यसको सेवा निकै नै उपयोगी छ,’ उनले भनेकी छिन् ।

ड्रिम चाइल्डले आफ्नो सेवा बिक्रीका निम्ति विभिन्न समयमा गोष्ठी पनि गर्छ । ‘गर्भावस्थामा आत्मविश्वासी र खुशी हुनुहोस्,’ उसको नारा हुन्छ ।

सेप्टेम्बरको गोष्ठीमा ५ सय महिला अहमदावादमा सहभागी भएका थिए । त्यहाँ सहभागी महिलाहरुले कागजको चिर्कटोमा आफ्नो बच्चालाई स्वाभिमानी, संवेदनशील, इमान्दार र रचनात्मक बनाउन चाहेको उल्लेख गरेका थिए ।

महिलाहरुलाई सेवातर्फ आकर्षित गर्नका निम्ति त्यहाँ महाभारतको सानो अंशको नाटकीय रुप पनि देखाइएको थियो । जहाँ भ्रुण अवस्थामा अर्जुनले युद्धका कथा र रणनीति सुनाएकाले अर्जुनका पुत्र अभिमन्यु बहादुर भएको प्रसंग देखाइएको थियो । उदघोषकले यस प्रसंगलाई थप सान्दर्भिक बनाउका निम्ति मोदीको उदाहरण लिए । मोदीकी आमा हिराबेनले मोदी गर्भमा आउँदा महाभारत र रामायण जस्ता ग्रन्थ दैनिक पाठ गरेको सुनाए ।

गर्भसंस्कार बारेको अर्को एप्स गर्भ संस्कार गुरुका संस्थापक हुन् प्रशान्त अग्रवाल । उनका अनुसार यस एप्सका १८ हजार प्रयोगकर्ता छन् । उनको अनलाइन गोष्ठीमा एकपटकमा १ सय २५ भन्दा बढी महिला सहभागी हुने गरेको अग्रवाल बताउँछन् ।

अनलाइन गोष्ठीमा महिलाहरुको सहभागिता बढेपछि उनले शुल्क तिरेर लिन सकिने सुविधा अघि सारे । निःशुल्कबाट सशुल्कमा जाँदा निकै चुनौती रहेको उनी बताउँछन् । डिजिटल भारतमा डिजिटल पर्सको नियन्त्रण पतिमा हुने भएकाले चुनौती रहको उनको अनुभव छ ।

अग्रवालले निःशुल्क अनलाइन गोष्ठी जारी नै राखेका छन् । त्यहाँ उनले गोष्ठी सके लगत्तैको ३० मिनेट समयमा सशुल्क सेवा लिन चाहनेका लागि आकर्षक छुट राखेका छन् ।

पम्बरले पहिलो र दोस्रो गर्भावस्थामा एप्सको प्रयोग गरेकी थिइन् । दुबैमा उनले बच्चालाई कस्तो बनाउने परिकल्पना गरेकी थिइन् । ६ वर्षको उनको बच्चाबारे उनले गरेको परिकल्पनाबारे उनले न्युयोर्क टाइम्ससँग भनेकी छिन्, ‘९ महिनासम्म मेरो बच्चाले मुलुकका निम्ति अब्दुलकलाम जस्तै केही योगदान दिनुपर्ने सोचेँ । त्यही बारेका सामाग्री पढेँ । त्यसका निम्ति आवश्यक योगा गरेँ । मेरो पहिलो बच्चाबारे गरेको परिकल्पना साकार होला वा नहोला केही छैन । कुनै दबाब मैले बच्चालाई दिनेछैन । न त म नै दबाब महसुस गरेर बस्ने छु,’ मुस्कुराउँदै उनी भन्छिन् ।

लेखकको बारेमा
द न्यूयोर्क टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?