+
+

राजबहादुर मल्ल हत्याका आरोपी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १६:४४

१३ वैशाख, काठमाडौं । कालिकोटका राजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएको आरोप लागेका पदमबहादुर रावत पक्राउ परेका छन् ।

उनलाई भारतबाट पक्राउ गरी सुर्खेतमा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले पक्राउ गरेको पुष्टि गरे । ४ दिनअघि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरे पनि आजसम्म घटनालाई गोप्य राखिएको थियो ।

यो प्रकरणमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको छ । तर आरोप लागेका ६ जनामध्ये अन्य कसैलाई पनि अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन ।

अन्य आरोपीहरूको खोजी भइरहेको दाबी प्रहरीले गरेको छ ।

२६ फागुन २०६५ मा १७ वर्षीय राजबहादुरको हत्या भएको थियो । हत्याका मुख्य आरोपी हाल पक्राउ परेका टाइगर समेत भनेर चिनिने पदमबहादुर रहेको दाबी गरिएको छ ।

राजबहादुरको हत्या आरोपमा अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध ९ माघ २०८० मा दोस्रो पटक पक्राउ पूर्जी जारी भएको थियो । यसअघि १३ साउन २०७९ मा पनि पक्राउ पूर्जी जारी भएको थियो ।

पञ्चा सिंहसँगै हाल पक्राउ परेका पदमबहादुर, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

के थियो घटना ?

कालीकोटका राजबहादुर सुर्खेतको जन उच्च माविमा कक्षा ११ मा पढ्दै थिए । कालीकोटकै पाखास्थित विद्यालयबाट एसएलसीमा प्रथम भएका उनी उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका थिए ।

विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका राजबहादुर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सचिव थिए । स्ववियु सचिव हुँदा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूसँग उनको विवाद बढेको थियो ।

गाउँमा आफूसँगै ६–७ कक्षा पढेर माओवादी बनेकाहरू एकाएक भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर उच्च शिक्षाका लागि भर्ना भएको भन्दै राजबहादुरले त्यसको विरोध गरेको र सोही विवादका क्रममा छोराका ज्यान गएको बुवा नन्दबहादुरको दाबी छ ।

राजबहादुरको २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा बाटोमै आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

नन्दबहादुरले छोराको हत्यामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहितका नेता–कार्यकर्ताहरूको संलग्नता देखिएको भन्दै १३ साउन २०७९ मा पूरक जाहेरी दिएका थिए । दैलेखका थप दुई जनाको भने पहिचान नखुलेकाले जाहेरीमा नाम राखिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?