+
+

पोखराको प्याराग्लाइडिङबारे चर्कियो विवाद, क्यानले रोक्यो उडान

अमृत सुवेदी अमृत सुवेदी
२०८० पुष १ गते १९:४२

१ पुस, पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ उडान रोकेको छ । प्याराग्लाइडिङको उड्नेका लागि शुल्क तोक्नेदेखि व्यवस्थापनसम्मको जिम्मेवारी सम्बन्धित कम्पनीलाई दिइएपछि उत्पन्न विवादलाई देखाउँदै प्राधिकरणले उडान रोकेको हो ।

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले शुल्क तोक्ने र पालो प्रणाली अपनाउने गर्दै आएको थियो । गत शुक्रबारबाट ‘ना’ ले बुधबार सबै अधिकार सम्बन्धित कम्पनीलाई दिएपछि एक सयभन्दा बढी पाइलटले असहमति जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) प्रति पनि असहमति जनाउँदै केही व्यवसायीले सम्पूर्ण अधिकार व्यवसायीलाई दिनुपर्ने माग राखेका थिए । संस्थाले नै शुल्क तोक्नेदेखि आलोपालो प्रणाली लागु गर्नु पनि सिन्डिकेट भएको भन्दै विरोध भएपछि नाले व्यवसायीलाई सबै अधिकार छाडेको हो ।

नाको यो निर्णयपछि पाइलटहरुले आफ्नो सुविधा घट्ने, अव्यवस्थित र असुरक्षित हुने, मनपरी शुल्क लिने क्रम बढ्ने भन्दै उडानसमेत बन्द गराएका थिए । एकद्वार प्रणालीका कारण व्यवसायी तथा पाइलटबीचमै विवाद बढेको छ ।

विवादकै मानसिकतामा उडान भर्न दिँदा झनै असुरक्षित हुने भएकाले समस्या समाधान नहुँदासम्मका लागि उडान रोकिएको नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

नेपाल हवाई खेलकुद संस्थालाई क्यानले प्यारापाइलटको लाइसेन्स दिने, नवीकरण गर्ने, अनुगमन गर्ने र प्याराग्लाइडिङ उडानलाई व्यवस्थित र सुरक्षित गराउने जिम्मेवारी दिएको छ । तर, संस्थाबाटै व्यवसायीहरु छुट्टिन चाहेको र शुल्क तोक्नेदेखि व्यवस्थापनसम्मको जिम्मेवारी आफूहरुले गर्न पाउने अधिकार दिन माग गरेपछि समस्या बढेको हो ।

‘शुल्कमा एकरुपता नहुने एकातिर छ भने अर्कोतिर पाइलटले नै आन्दोलन गरिरहेका छन् । व्यवसायीका विवाद पनि छन् । यस्तो अवस्थामा उडान भर्न दिँदा असुरक्षित पनि हुने भएकाले समस्या समाधान नहुँदासम्म रोकेका हौं,’ सूचना अधिकारी भुलले भने, ‘शुक्रबार नै संस्थामा के विवाद भएको हो ? प्याराग्लाइडिङ क्षेत्रलाई अब कसरी व्यवस्थित र शुल्कमा एकरुपता ल्याउने हो ? भन्ने लिखित रुपमै जवाफ पेश गर्न संस्थालाई भनेका छौं ।’ तर अहिलेसम्म जवाफ नआइपुगेको भुलले बताए । क्यानले दिएको जिम्मेवारी पूरा गरेबापत संस्थाले वार्षिक अनुदानसमेत पाउँदै आएको छ ।

क्यानका अनुसार पोखरामा अहिले प्याराग्लाइडिङ उडान गर्ने ७४ वटा कम्पनी छन् । ती कम्पनीहरुबीचमैै अहिले एकमना छैन । अहिलेसम्म संस्थाले नै शुल्क तोकिदिँदा प्याराग्लाइडिङ उडानको स्वदेशी, विदेशी दुबैका लागि १२ हजार रुपैयाँ तोकिएको थियो ।

अब शुल्क तोक्नेदेखि यात्रुलाई सुविधा दिनेसम्मको अधिकार व्यवसायीलाई नै दिँदा अस्वस्थ प्रतिस्पर्धा बढ्ने, पाइलटको सुविधा घट्ने र उडान क्षेत्र झनै अव्यवस्थित हुने पाइलट क्लबका अध्यक्ष दीपक थापा बताउँछन् ।

‘कसैले पनि शुल्क नतोकिदिने हो भने अस्वस्थ प्रतिस्पर्धा बढ्छ, मनपरी हुन्छ, कसै न कसैको नियन्त्रण त हुनुपर्छ र उडान क्षेत्र व्यवस्थित हुनुपर्छ भन्ने हाम्रो माग हो,’ थापाले भने, ‘हामी सिन्डिकेट पक्षधर होइनौं ।’

क्यानका उपप्रबन्धक भुल पनि शुल्कमा एकरुपता चाहिने तर अब त्यो कसरी कायम गर्ने भन्ने विषयमा पनि संस्थासँग जवाफ मागिएको बताए । ‘शुल्कमा एकरुपमा आएन भने त मनपरी हुने पक्का हो । क्यानको आधिकारिक अधिकार पनि प्यराग्लाइडिङ संस्थालाई दिइकाले शुल्क र व्यवस्थापनको जिम्मेवारीबारे पनि निर्णय गर्नुपर्ने छ,’ भुलले भने, ‘अब सबै समस्या समाधानपछि मात्र प्याराग्लाइडिङ उडान खुल्ने छ ।’

व्यवसायीहरुले नै एकद्वारा प्रणाली नमान्ने बताएपछि सम्पूर्ण अधिकार व्यवसायीलाई नै दिइएको अध्यक्ष सुनिल भट्टराईले बताए । ‘क्यानले विवादबारे जवाफ मागेको छ । समस्या संस्थाभित्रै, व्यवसायीबीचमै देखियो । हामीले सहमतिको प्रयास र समस्याको निकास खोजिरहेकै छौं,’ भट्टराईले भने ।

सराङकोटबाट उडान भर्दै आइरहेका व्यवसायीले अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि मान्द्रेढुंगा, तोरीपानी क्षेत्रबाट उडान भर्दै आएका छन् ।

एकातिर पोखराबाट विस्थापित नै हुने अवस्थामा पुगिसकेर रोकिएको प्याराग्लाइडिङलाई अझै व्यवस्थित बनाउनुपर्ने छ भने अर्कोतिर व्यवसायीबीचमै विवाद बढ्दा अहिले उडान नै बन्द हुने अवस्थामा आइपुगेको अध्यक्ष भट्टराईको भनाइ छ ।

सन् २००० बाट पोखरामा सुरु भएको प्याराग्लाइडिङ दक्षिण एशियामै उत्कृष्ठ मानिन्छ । नागरिक उड्डयन प्राधिकरणले ऐन बनाएर २०७५ सालदेखि सालबाट संस्थालाई नै पाइलटको लाइसेन्स र दिन थालेको हो । पोखराको प्याराग्लाइडिङ क्षेत्रमा करिब १ अर्ब लगानी छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?