+
+

श्रीलंकाका विदेशमन्त्री साब्री नेपाल आउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १७:५५

२ पुस, काठमाडौं । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन साब्री बुधबार नेपाल आउने भएका हुन् ।

नेपाल श्रीलंकाको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक २१ र २२ डिसेम्बरमा काठमाडौँमा हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रीलंकाका विदेशमन्त्री साब्री बैठक सकेर शुक्रबार स्वेदेश फिर्ता हुनेछन् ।

बैठकमा नेपाल र श्रीलंकाबीच रहिआएको बहुआयामिक सम्बन्धका विविध विषयमा छलफल हुनेछ ।

विदेशमन्त्री साब्रीको भ्रमण र आगामी बैठकका बारेमा छलफल गर्न नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिरानाले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका छन् ।

बैठकमा कूटनीतिक एवं व्यापारिक, सांस्कृतिक, शैक्षिक सम्बन्ध कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा बैठकमा व्यापक छलफल हुनेछ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१७ मेमा क्यान्डीमा आयोजित अन्तर्राष्ट्रिय वेसाक दिवसको समापन समारोहमा सहभागी हुन श्रीलंकाको भ्रमण गरेकी थिइन् । त्यसैगरी १८औँ सार्क शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेले नोभेम्बर २०१४ मा नेपाल भ्रमण गरेका थिए ।

यस्तै, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले चौथो बिमस्टेक शिखर सम्मेलनमा २०१८ मा नेपालको भ्रमण गरेका थिए । नेपाल र श्रीलंकाबीच सन् १९७९ अप्रिलमा द्विपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?