+
+

राष्ट्रिय सभाको अध्यक्षमा देउवाको चाहना सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १९:०९

२ पुस, काठमाडौं । अध्यक्ष गणेश तिमिल्सिनासहित १९ जना राष्ट्रियसभा सदस्यको ६ वर्षको कार्यकाल पूरा हुन लाग्दा ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष हुने गरी राष्ट्रियसभामा पठाउने चाहना राखेका छन् । हालैको पदाधिकारी बैठकमा राष्ट्रियसभा चुनावको उम्मेदवारबारे कुरा हुँदा नेता सिटौला र गोपालमान श्रेष्ठको नाम आएको एक पदाधिकारीले बताए । ती पदाधिकारी भन्छन्, ‘कृष्ण दाइ र गोपालमान दाइलाई राष्ट्रिय सभामा लानेबारे पदाधिकारी बैठकमा कुरा भएको छ ।’

उनीनिकट नेताहरुका अनुसार सिटौला राष्ट्रपति पदको आकांक्षी थिए । तर गत वर्ष राष्ट्रपति चुनावमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएपछि देउवाले त्यतिबेला नै सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने वचन दिएका थिए ।

राष्ट्रिय सभामाा सिटौलाले अहिलेसम्म सार्वजनिक रुपमा चाहना व्यक्त गरेका छैनन् । गत शुक्रबार भएको कार्यसम्पादन समिति बैठकबाट निस्किदै गर्दा पत्रकारले सोधेको प्रश्नको जवाफमा सिटौलाले राष्ट्रिय सभामा जाने विषयलाई इन्कार गरेनन् ।

निकटका नेताहरुले पनि सिटौलालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न सुझाव दिँदै आएका छन् । ‘कृष्ण दाइलाई राष्ट्रिय सभामा जाँदा हुन्छ भनेका छौं’, कोशीका कांग्रेस महामन्त्री भुपेन्द्र राईले भने, ‘नेताहरुको व्यवस्थापनका लागि नेतृत्व पनि लागेको बुझेका छौं । पार्टी नेतृत्वले उचित ठाउँमा उचित व्यक्ति व्यवस्थापन गर्नका लागि कृष्ण दाइलाई भूमिका दिन खोजेको होला ।’

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा कोशीबाट दुई जना निर्वाचित हुनेछन् । कोशीमा अन्य क्लष्टरबाट निर्वाचित कांग्रेसका रमेशजंग रायमाझी र महिला क्लस्टरबाट निर्वाचित माओवादी केन्द्रकी विना पोखरेलको कार्यकाल पूरा हुँदैछ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको राष्ट्रियसभा निर्वाचनमा पनि हालको सत्ता गठबन्धनबीच तालमेल हुँदैछ । त्यसैले गठबन्धनका नेताहरुले आफ्ना उम्मेदवार नै निर्वाचित हुने आकलन गरेका छन् ।

तर उम्मेदवारमा भागवण्डा मिलिसकेको छैन । कोशीमा रिक्त भएका दुई सिटमध्ये कांग्रेस र माओवादीले १/१ सिट लिने अघोषित समझदारी रहेको नेताहरु बताउँछन् । त्यसैले कोशीमा कांग्रेसको उम्मेदवार सिटौला बन्ने पक्काजस्तै रहेको कांग्रेसका नेताहरु बताउँछन् ।

संस्थापन इतरका एक केन्द्रीय सदस्यका अनुसार कोशीबाटै नेता डा. मिनेन्द्र रिजाल र गुरुराज घिमिरेले पनि राष्ट्रियसभा सदस्यराष्ट्रिय सभामा आकांक्षी छन् ।

नेता घिमिरेले आफ्नो दाबी स्वभाविक हुने बताए । पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनका लागि मापदण्ड बनाउनुपर्ने र त्यस मापदण्डभित्र आफू परेमा दाबी स्वभाविक हुने उनको भनाइ छ ।

आफ्नो नामको बारेमा छ वर्ष अगाडि नै पार्टीको संसदीय बोर्डमा छलफल भएको घिमिरेले बताए । ‘चुनाव लड्दै आएका, समानुपातिकको बन्द सूचीमा परेकाले बारबार मौका पाएका छन्’, उनले भने, ‘मेरो नाम त संसदीय बोर्डमा ६ वर्षअघि नै बहस भएको हो । त्यो बहस अहिले पनि आउनुपर्‍यो । होइन भने व्यक्ति असान्दर्भिक भन्नुपर्‍यो ।’

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय २३ पुसलाई तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?