+
+

भेरी–बबई डाइभर्सन आयोजनालाई गति दिन मन्त्री बस्नेतको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १७:२३

३ पुस, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको सूचीमा रहेको भेरी–बबई आयोजनालाई गति दिन निर्देशन दिएका छन् ।

मंगलबार आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्दै उनले तत्काल काममा गति दिन निर्देशन दिएका हुन् ।

आयोजनाको काममा ढिलाइ हुँदा सरकारले आम जनता र मुलुकलाई जवाफ दिनुपर्ने भन्दै उनले भने, ‘काममा ढिलाइ गर्ने छुट कसैलाई छैन ।’

यो आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भएपनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति भएको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण कार्यले गति लिन नसकेको मन्त्रालयले जनाएको छ ।

आयोजना सम्बद्ध अधिकारी आयोजना स्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको समेत मन्त्रालयको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय मातहत रहेको एक्सन रुम मार्फत आयोजनाबारे जानकारी लिएका थिए । काममा अपेक्षित प्रगति नभए सहन नसकिने भन्दै मन्त्री बस्नेतले आयोजनाका अधिकारी र निर्माण व्यवसायीलाई चेतावनी दिएका छन् ।

उक्त अवसरमा निर्माण व्यवसायी तथा रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महतोले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण आयोजना स्थलमा प्रभावकारी काम नभएको आरोप लगाए ।

आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको बताए ।

एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाइ गरेको भन्दै मन्त्री बस्नेतले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभाग र हरेक महिना मन्त्रालयका तर्फबाट आयोजना निरीक्षण गर्ने जानकारी दिए ।

आयोजना निर्देशक बमले दैनिक रुपमा दुई सय ६० घनमिटरका दरमा ढलान तथा कंक्रिटको काम हुनुपर्ने बताए ।

उनले आयोजनालाई दैनिक तीन वटा शत्रमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाए ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले राज्यको साधन र स्रोत लगानी भएको आयोजनामा कुनै पनि ढिलाइ नगर्न सम्बद्ध पक्षलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?