+
+

कोशीको सभामुख बन्न सिटौलाले मानेनन्, राप्रपाले दियो विष्टको नाम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते २०:३८

४ पुस, विराटनगर । कोशीमा सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सारेको छ ।

सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेको थियो । त्यसपछि राप्रपाले आफ्नो दलबाट सभामुख हुने सांसदको रुपमा विष्टको नाम दिएको हो । एक–दुई दिनभित्र औपचारिक निर्णय गर्ने तयारी भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

राजनीतिमा नाटकीय परिवर्तन नभए विष्ट एक साताभित्र कोशीको सभामुख बन्नेछन् ।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुख पदका लागि एक साताभित्र निर्वाचन गर्ने सत्ता गठबन्धन दलको तयारी छ ।

स्रोतका अनुसार सत्ता गठबन्धन दलका नेताले राप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई सभामुख बन्नका लागि प्रस्ताव गरेका थिए । तर सिटौलाले आफू नभई दलका ज्येष्ठ सदस्य विष्टको नाम सभामुखमा प्रस्ताव गरेका हुन् । ‘हाम्रो एक जना दाइ हुनुहुन्छ वरिष्ठ (अम्बरबहादुर विष्ट)’ सिटौलाले भने, ‘पाउने नपाउने टुङ्गो भएपछि उहाँलाई अघि सार्छाैं ।’

भक्ति सिटौला

राप्रपा र सत्ता गठबन्धन दलले विष्टलाई सर्वसम्मत सभामुख बनाउन चाहेका छन् । त्यसका लागि एमालेसँग छलफल गर्ने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । एमालेले उपसभामुख सृजना दनुवारलाई नै सभामुख बनाउन खोजेको छ । तर गठबन्धन दल राप्रपाको विकल्प खोज्न तयार छैनन् ।

‘हामीले इन्टरनेशनल प्राक्टिस पनि हेर्‍यौं, अपोजिसनले सभामुख लिने प्राक्टिस भएका रहेछन्’ सिटौलाले भने,‘सभामुखलाई सर्वसम्मत बनाउने मनस्थितिमा छौं ।’ एमालेसँग पनि सल्लाह गरेर सर्वसम्मत बनाउने प्रयास गर्ने उनले बताए । सरकारमा जाने योजना भने नरहेको उनले बताए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन् । सत्ता गठबन्धनकै दलबाट सभामुख चयन गर्दा सरकारलाई बहुमत नपुग्ने भएकाले गठबन्धनले राप्रपालाई सभामुखको प्रस्ताव गरेको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरु कांग्रेसको २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । प्रतिपक्षमा रहेको नेकपा एमालेको ४० र राप्रपाको ६ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?