+
+

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १८:५७

४ पुस, काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई पुन:अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको छ ।

रुस युक्रेन युद्धमा संलग्न ४ जना  नेपाली बन्दी अवस्थामा रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । बर्दियाको राजापुर गाउँपालिका-१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका-२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका-८ का प्रतिक पुन बेपत्ता छन् ।

युक्रेनमा बन्दी बनाइएका यी चार जनालाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ । साथै उनीहरुको रिहाइ र नेपाल फिर्तीको लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरु माध्यमबाट पनि कुटनीतिक पहल गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न बाहेक अरु नेपालीले रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र जान आग्रह गरेको छ । नो अब्जेक्सन लेटर परराष्ट्रको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिन्छ ।

नेपालबाट मात्र नभई भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरव इमिरेट्स, साउदी अरविया, कुवेत, कतार र बहराइनबाट रुस यात्रा गर्दा पनि ती देशमा रहेका नेपाली राजदूताबास तथा महावाणिज्यदूताबासबाट नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्न परराष्६र मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?