+
+

रुसी सेनाका मृतक परिवारलाई डीएनए परीक्षण गर्नै सकस

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० चैत ७ गते २१:३४

७ चैत, काठमाडौं । ओखलढुंगाकी १७ वर्षकी रेनुका भुजेल बुधबार काठमाडौंमा झरीको परवाह नगरी दिनभर प्रधान प्रहरी कार्यालय र शिक्षण अस्पताल ओहोर दोहोर गरिरहिन् ।

रुसी सेनामा भर्ना भएका दाइ खुमकुमारको शवको पुष्टिका लागि डीएनको नमुना दिन भनेर उनी अस्पताल पुगेकी थिइन् । बुधबार चौथो दिन हो उनी अस्पताल धाएको, तर अस्पतालले जनशक्ति नभएको कारण देखाएर डीएनएको नमुना नलिई फर्काइदियो ।

रुसले रुसी सेनामा मृत्यु भएका १५ जनाको शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन पत्राचार गरेको छ ।

रेनुकाका दाइ खुमकुमार भुजेल पोर्चुगल जान्छु भनेर गत कात्तिकमा घरबाट हिँडेका थिए । तर पोर्चुगल नभई उनी त रुसी सेनामा भर्ना हुन गएका रहेछन् । मंसिरदेखि परिवारको सम्पर्कमा नरहेका उनको गत माघमा मृत्युको अपुष्ट खबर आएको थियो ।

हप्ता दिनअघि भने सरकारले नै परिवारलाई सम्पर्क गरेर डीएनए दिन भनेपछि रेनुका यो दौडधुपमा लागेकी हुन् । ‘दाइको खबरले घरमा रुवाबासी छ’ उनी भन्छिन्, ‘कोही नभएपछि म आफैं कलेज छोडेर दौडिरहेकी छु ।’

रुस गएको भाइ क्षितिज बस्नेतको शव पहिचानका लागि डीएनए रिपोर्ट मागेको खबर आएपछि एक हप्ताअघि खोटाङका टेकराज बस्नेत काठमाडौं आए ।

तर उनले पनि डीएनए परीक्षणका लागि नमुना दिन पाएका छैनन् । बुधबार झरीकै बीच उनी डीएनएको नमुना दिन भनेर शिक्षण अस्पताल पुगेका थिए । तर अस्पतालले जनशक्ति अभावकै कारण देखाएर नमुना लिन मानेन र भोलि बोलाएको छ ।

‘चैत २ गते कन्सुलर विभागदेखि कागज मिलाउन भनेर पुगिरहेको छु’, उनले भने, ‘कहिले सम्बोधन मिलेन भनेर प्रहरी फर्काउँछ । यही गर्दागर्दै हप्ता दिन बित्न लाग्यो ।’

टेकराज बस्नेत

यता रुसबाट आएको भाइको खबरले गाउँमा परिवार पुरै शोकमा छ । उनी भने डीएनए रिपोर्ट दिन न पाएर यतै रोकिएका छन् ।

दुबइमा रहेका उनका भाइ क्षितिज गत दशैंको मुखमा रुस पुगेका थिए । परिवारमा सल्लाह पनि नगरी उनी रुसी सेनामा भर्ना भएका थिए । त्यहाँ पुगेको १५ दिनमै उनी सम्पर्कविहीन भएका थिए ।

कात्तिकबाटै सम्पर्कविहीन भए पनि परिवार भने उनको आशमै बसेको थियो । तर त्यहीबीच चैतको १ गते परराष्ट्र मन्त्रालयबाट शव पहिचानका लागि भनेर फोन आएको थियो । ‘अचानक यस्तो खबर आयो’ उनले भने, ‘घरमा रुवाबासी छ ।’

अजयबहादुर थोकर पनि डीएनए नमुना दिन भनेर मकवानपुरबाट काठमाडौं आएका छन् । गत कात्तिकमा रुसी सेनामा भर्ना भएका भाइ २६ वर्षका विजयबहादुर थोकर रुसी सेनामा भर्ना हुन गएका थिए । काठमाडौं आएका उनले पनि काजगात र पत्राचार नमिलेको भन्दै नमुना दिन सकेका छैनन् ।

कन्सुलर सेवा विभागले दाङका जीतबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बिसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ, प्यूठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको डीएनए नमुना पठाइदिन भनेको छ ।

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइएको छ ।
रुसी सेनामा गएका नेपालीको परिवारको हितमा काम गरिरहेकी कृृतु भण्डारीले नमुना डीएनए संकलन प्रक्रिया झञ्झटिलो भएकाले पीडित परिवारले हैरानी व्यहोर्नुपरेको बताइन् ।

‘पीडितहरुलाई नमुना संकलन गर्दा के कस्ता काजगात चाहिन्छ भन्ने थाहा छैन’, उनले भनिन्, ‘एक ठाउँबाट पत्र बोकेर पठाइन्छ । यसले अन्योलता थपेको छ ।’

कन्सुलर विभागमै स्वास्थ्य डेक्स स्थापना गरेर नमुना संकलन प्रक्रियालाई सहज बनाइदिनुपर्ने उनले बताइन् । ‘उहाँहरु आफैंमा पीडामा हुनुहुन्छ’, उनले भनिन्, ‘यसमा राज्यले सहज गरिदिनुको साटो दुःख दिने काम गर्नुहुँदैन ।’

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?