+
+
Shares

परराष्ट्रले भन्यो- विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भयो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते २०:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र मन्त्रालयले इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ।
  • इजरायलस्थित नेपाली राजदूतावासले आवश्यक प्रक्रिया पूरा गरी मृतक विपिनको शव नेपाल ल्याउने काम अघि बढाएको मन्त्रालयले बताएको छ।
  • इजरायल र हमासबीच युद्धविरामपछि हमासले सोमबार विपिन जोशीसहित ४ जनाको मृत्यु भएको जानकारी दिएको थियो।

२८ असोज, काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलबाट हमासको अपहरणमा परेर ज्यान गुमाएका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको जनाएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासमार्फत् आवश्यक प्रक्रिया पूरा गरेर मृतक विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मंगलबार इजरायलका परराष्ट्र मन्त्रालयका सचिव बार तालले नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईलाई टेलिफोन गरी जोशीको निधन भएको औपचारिक जानकारी दिएका थिए ।

‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विपिनलाई सन् २०२३ को अक्टोबर ७ मा हमासले अपहरण गरेर गाजामा बन्धक बनाएर राखेको थियो ।

इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि हमासले सोमबार विपिन जोशीसहित ४ जनाको मृत्यु भएको जानकारी गराएको थियो ।

सोमबार नै गाजा पुगेर विपिनसहित ४ जनाको शव रेडक्रसको टोलीले इजरायल ल्याएका थिए ।

इजरायलमा डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्यतिरै भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको छ ।

विपिनको शव नेपाल ल्याइसकेपछि पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन उचित पहल गरिने परराष्ट्र मन्त्रालयले भनेको छ ।

‘विपिन जोशीको शव नेपाल ल्याइसकेपश्चात पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालाहरुसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल जारी राखिने व्यहोरा अनुरोध छ,’ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्ति :

आज अपरान्ह परराष्ट्र सचिव श्री अमृत बहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी डाइरेक्टर जनरल महामहिम Mr. Eden Bar Tal सँग गरेको टेलिफोन कुराकानीमा Mr. Bar Tal ले नेपाली नागरिक विपिन जोशीको दु:खद निधन भएको औपचारिक जानकारी गराउँदै इजरायल सरकारको तर्फबाट मृतकप्रति श्रद्धान्जली ब्यक्त गर्दै निजको परिवार, नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।

हमासले विपिन जोशीको शव हिजो Red Cross मार्फत इजरायललाई हस्तान्तरण गरेपश्चात शव पहिचान भैसकेको ब्यहोरा इजरायलस्थित नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अविवस्थित National Centre of Forensic Medicine को भ्रमण गरी थप पुष्टि गरेको सन्दर्भमा नेपाली राजदूतावासले त्यहाँका सम्बन्धित निकायहरूसँग नजिकबाट सम्पर्क र समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया शुरू गरेको छ।

७ अक्टोबर २०२३ देखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका इजरायलको Learn and Earn कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत २ बर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको ब्यहोरा विदितै छ। इजरायल र हमासबीच युद्धविराम भएपछि 13 अक्टोवर 2025 का दिन इजरायली सेना (IDF) ले त्यहाँस्थित नेपाली राजदूत, विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत रिहा हुने बन्दीहरुमा विपिन जोशीको नाम समावेश नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो।

विपिन जोशीको मृत्युको खबरले हामी सबै स्तब्ध भएका छौँ। यस दुखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्दछौँ।

विपिन जोशीको शव नेपाल ल्याइसकेपश्चात पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालाहरुसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल जारी राखिने व्यहोरा अनुरोध छ ।

विपिन जोशीको अवस्थाका विषयमा निरन्तर रुपमा सूचना सम्प्रेषण गर्नुहुने संचारकर्मीहरु, सकारात्मक सहयोगको प्रतिबद्धता जनाउने मित्रराष्ट्रहरु र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई नेपाल सरकार धन्यवाद ज्ञापन गर्दछ।

——

परराष्ट्र मन्त्रालय

सिंहदरबार, काठमाडौँ।

२०८२ आश्विन २८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?