+
+

समापनका बेला सुस्तायो माओवादीको रुपान्तरण अभियान

दिपेश शाही दिपेश शाही
२०८० पुष ४ गते २०:४०
माओवादी रुपान्तरण अभियानको काठमाडौंमा प्रचण्डले गरेको उद्घाटन ।

४ पुस, काठमाडौं । भव्य उत्साहका साथ सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको रुपान्तरण अभियान समापनको सम्मुखमा पुग्दा सुस्त देखिएको छ ।

सुरुमा तीन महिनाका लागि घोषणा गरिएको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ बीचमा दशैं, तिहार, छठलगायत चाडपर्वहरू परेको भन्दै माओवादी केन्द्रले एक महिना थप गरेको थियो ।

समय थप गरे पनि पार्टी पंक्तिमा भने उत्साह नथपिएको नेताहरूको बुझाइ छ ।

मंगलबारदेखि जारी माओवादी केन्द्रको पार्टी सचिवालय बैठकमा प्रदेशका इन्चार्जहरूले अभियानका लागि निर्धारण गरिएको समय अनुकुल नभएको र पार्टी कार्यकर्ताले नै सदस्यता नवीकरणमा चासो नदिएको रिपोर्टिङ गरेका छन् ।

बैठकमा रिपोर्टिङ गरेका १० वटै प्रदेशका इन्चार्जहरूले अभियानको कार्यक्रमलाई परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् ।

नेताहरूले गरेको रिपोर्ट अनुसार माओवादी केन्द्रको पार्टी सदस्यता नवीकरण अहिलेसम्म करिब ५० प्रतिशतले मात्रै गरेका छन् । त्यसमा पनि केही प्रदेशमा त्यो संख्या ६० प्रतिशतभन्दा माथि छ भने केही प्रदेशमा ५० प्रतिशतभन्दा पनि तल छ । दुई वर्षअघि सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनका बेला माओवादी केन्द्रले ८ लाखभन्दा बढी पार्टी सदस्य रहेको दावी गरेको थियो ।

एक पदाधिकारीका अनुसार अभियानको सुरुवातमा उत्साह देखिए पनि पछिल्लो समय जिम्मेवार नेता कार्यकर्ताहरू नै अभियानमा जोडिएनन् । समय र अनुशासन पालनको विषयलाई कडा ढंगले लागू गर्नुपर्ने धारणा नेताहरूले बैठकमा राखेका छन् ।

‘सुरुमा जुन उत्साह थियो, त्यो चाडपर्वभन्दा पछि आएर निरन्तर रहन नसकेको देखियो । सीमित एजेन्डा लिएर लामो समयसम्म जनतामा गएर मात्रै केही हुँदैन भन्ने बुझाइ सबै नेता कमरेडहरूमा देखियो’, ती पदाधिकारीले भने, ‘आम जनतामा मात्रै होइन, पार्टीकै नेता कार्यकर्तामा समेत त्यो उत्साह देखिएन । कतिसम्म भने सदस्यता नवीकरण नै अहिलेसम्म सरदर ५० प्रतिशत मात्रै रहेको रिपोर्टिङ साथीहरूको छ ।’

माओवादी केन्द्रले सञ्चालन भएको दुई महिनासम्म अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको थियो । पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरेरै अभियानका विषयमा निरन्तर जानकारी गराउने गरेका थिए । साथै, अभियानको प्रचारलाई पनि माओवादीले आक्रामक बनाएको थियो ।

तर पछिल्लो समय माओवादीले अभियानको विषयमा प्रचार पनि कम गरेको छ । अभियानको सुरुवाती चरणमा माओवादीका नेता कार्यकर्ताहरू टोलमा सरसफाइ गर्नेदेखि भौतिक संरचना निर्माण र घरदैलोसम्मका कार्यक्रममा सक्रिय देखिन्थे । दशैं, तिहार, छठलगायत चाडपर्वसँगै उनीहरूको सक्रियता घटेको छ ।

माओवादी अभियानका क्रममा रुकुम पश्चिममा सरसफाइ गर्दै कार्यकर्ताहरु ।

पार्टी सचिव देवेन्द्र पौडेल अभियान जारी रहेकाले अझै पनि सदस्यता वितरण र नवीकरणको जारी रहेको, तर अभियानमा सुरुको तुलनामा सक्रियता कम भएको स्वीकार गर्छन् । यद्यपि, अभियानको मोडालिटी अन्तर्गत जनतासँग घरघरमा पुगेर अन्तक्र्रिया गरेर अहिले कार्यकर्तामा आइपुगेकाले पहिलेजस्तो नदेखिएको उनको तर्क छ ।

‘चाडपर्वलगायत समयका कारण अभियान बीचमा केही सुस्ताएको जस्तो देखियो । तर पछि हामीले समय थप गरेसँगै फेरि लयमा फर्किएको छ’, सचिव पौडेलले भने, ‘अहिलेसम्म पार्टी सदस्यता नवीकरणमा सबै समेटिएका छैनन् । यसपछि पनि हाम्रो आन्तरिक भेला, सम्मेलन र बैठकहरू गर्न बाँकी नै छ । त्यतिबेलासम्म नयाँ सदस्यता वितरण र पुरानो नवीकरण गर्नेको संख्यामा वृद्धि हुन्छ ।’

१६ भदौदेखि सुरु ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आगामी १६ पुसमा समापन हुँदैछ । अभियानका लागि माओवादीले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डदेखि पदाधिकारी र केन्द्रीय सदस्यसम्मलाई जिम्मेवारी तोकेको थियो ।

संगठनात्मक अवस्था कमजोर भएको निष्कर्षसहित केन्द्रदेखि तल्लो कमिटी सम्मका कार्यकर्तालाई अभियानमा सक्रिय गराएर जनतामा जाने घोषणा माओवादीले गरेको थियो ।

देशभरका छ हजार ७४३ वडामा एकसाथ पुग्ने र अभियानका क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने माओवादीको घोषणा थियो । सो क्रममा पार्टी नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार गरेको दाबीसहित प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने र प्रचार गर्ने लक्ष्य माओवादीको थियो ।

पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण र ललितानिवास जग्गा प्रकरणमा थालेको अनुसन्धानलाई देखाएर सुशासनको क्षेत्रमा काम गरेको भनेर माओवादीले प्रचार गर्न खोजेको थियो ।

प्रचण्डले अभियानको उद्घाटनकै क्रममा ‘विगतका कमजोरी स्वीकार्दै सच्चिने’ र ‘माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने’ समेत बताएका थिए । त्यसका लागि घरघरमा पुग्ने र हरेक मतदातासँग आफ्ना कमजोरीको बारेमा सोधेर सच्चिने प्रतिवद्धता गर्ने माओवादीको लक्ष्य थियो ।

त्यसमा माओवादी केही हदसम्म सफल भयो पनि । तर पछिल्लो समय सुन प्रकरणमा माओवादीकै पदाधिकारीका नाम जोडिन थालेपछि अनुसन्धान सुस्त भएको आरोप लाग्यो भने कार्यकर्ता पंक्ति पनि अभियानमा सुरुवाती उत्साहका साथ जोडिन सकेनन् ।

फिल्डमा खटिएका माओवादी नेताहरूले नै अभियानमा मूर्त योजनाको अभाव र कार्यकर्ता पंक्तिमा त्यसको कार्यान्वयनका लागि दृढताको अभाव रहेको बताउने गरेका छन् ।

पार्टी पोलिटब्यूरो सदस्य गणेशमान पुन यो अभियान पार्टी परिचालनको लागि पाठ भएको बताउँछन् ।

‘पार्टीले चलाएको अभियान अहिलेसम्म प्रभावकारी नै देखिएको छ । सधैँ एकैनासको हुन्छ भन्ने हुँदैन । कतै उत्साह, कतै आशंकाहरू देखा पर्छन्’, पुन भन्छन्, ‘तर यति मात्रैले पुग्दैन भन्ने पनि देखिएको छ । त्यसका लागि हामीले हरेक वर्ष बरु छोटो समयका लागि किन नहोस्, अभियानलाई निरन्तरता दिनुपर्छ ।’

अभियानका क्रममा लुम्बिनीमा रहेका नेता पुनले भनेजस्तै सचिवालय बैठकमा पनि अभियानको समय, अवधि र एजेन्डाका बारेमा पुनर्विचार गर्नुपर्ने धारणा नेताहरूले राखेका छन् ।

अभियनका क्रममा सुदूरपश्चिमको कैलालीमा रहेका माओवादी केन्द्रीय सदस्य ओमविक्रम भाट सिंगो पार्टी पंक्तिमा अध्यक्षसँगै सक्रिय र निष्क्रिय रहने प्रवृत्ति देखिएको बताउँछन् ।

‘अध्यक्ष पूर्व जाँदा सिंगो पार्टी पूर्व जाने, अध्यक्ष पश्चिम जाँदा सिंगो पार्टी पश्चिम जाने समस्या हामीमा छ’, उनी भन्छन्, ‘अध्यक्ष सरकार सञ्चालनमा व्यस्त भएपछि सरकारको जिम्मेवारीमा रहेका बाहेक अरू नेता कार्यकर्ता अभियानमा जोडिनुपर्छ । त्यसमा कतै न कतै समस्या देखिन्छ ।’

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?