+
+

विदेश धकेल्ने ‘पुसिङ फ्याक्टर’ : मान्छेले यहाँ भविष्य देख्नै छोडे

के कारणले व्यक्ति यो विघ्न ‘रिक्स’ उठाएर पनि विदेशिन चाहन्छ ? यस्तो अवस्था कसरी आउँछ ? मूल कारण यहाँको ‘पुसिङ फ्याक्टर’ हो । जब देशभित्र बस्न सक्ने स्थिति हुँदैन, तब मानिस जस्तोसुकै जोखिम मोल्न पनि तयार हुन्छ ।

रामेश्वर नेपाल, श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाल, श्रम तथा आप्रवासन विज्ञ
२०८० पुष ६ गते १०:२९

जब स्वदेशमा जीविकोपार्जन नहुने स्थिति बन्दै जान्छ तब मान्छे विदेशिने निर्णय लिन बाध्य हुन्छ । बाध्य नहुँदासम्म कोही पनि आफ्नो परिवार र देश छोडेर विदेशिन चाहँदैन । त्यसकारण हाम्रोमा विदेशिनु बाध्यता बन्दैछ ।

तर त्यसमा पनि हदैसम्मको जोखिम मोलेर नेपाली युवा किन तल्ला बाटो भनिने यो जोखिमपूर्ण यात्रामा निस्किरहेका छन् भनेर हामीले विवेचना गर्नैपर्छ । महिनौं लुक्दै हिंड्दै एक देशबाट अर्को देश हुँदै हाम्रा युवा विदेशिइरहेका छन् ।

त्यसमा पनि गम्भीर पक्ष के छ भने पढे–लेखेका, शिक्षित वर्गमा पर्नेहरू समेत यो जोखिम मोलेर विदेश गइरहेका छन् । यहाँ सामान्य अवसर पनि नपाएकाहरू मात्रै होइन, राम्रै अवस्थाका व्यक्तिहरू पनि यो जोखिममा सहभागी छन् । यो साह्रै चिन्ताको र सोचनीय विषय भएको छ ।

केही समयअघि मात्र रुकुमको सिंगो गाउँ नै अमेरिका हिंडेको समाचार आयो । यसरी एउटा गाउँ नै अमेरिका जान हिंडेको खबरले कति ठूलो संख्यामा युवाहरू यो जोखिमपूर्ण बाटो हिंडिरहेका छन् भन्ने चित्रण गर्छ ।

तर के कारणले मानिस जोखिम मोलेर विदेशिन तयार हुन्छ ? यस्तो अवस्था कसरी आउँछ ? यो हामीले एकदमै चिन्ता र चिन्तन गर्नुपर्ने विषय हो । यसरी विदेशिनुको मूल कारण भनेको ‘पुसिङ फ्याक्टर’ हो ।

जब देशभित्र बस्न सक्ने स्थिति हुँदैन, कसैले आफ्नो भविष्य सुरक्षित देख्दैन, तब मानिस जस्तोसुकै जोखिम मोल्न बाध्य हुन्छ । नेपालमा ‘पुस फ्याक्टर’ यति बलियो भयो कि यहाँ मान्छेले भविष्य देख्नै छोडे र विदेश धकेलिन बाध्य भए ।

यसरी जोखिम नै मोलेर विदेशिनुको ‘पुस फ्याक्टर’ के हो भन्ने सरकारले गरेको अध्ययन र प्रतिवेदनले देखाउँछ । केही समय अघि मात्र नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको एउटा सर्वेक्षणले मानिस आफ्नो दैनिक आधारभूत आवश्यकता पूरा गर्न नसकेर वैदेशिक रोजगारीमा गएको देखाएको थियो ।

यो अध्ययनले के देखायो भने ५८.७८ प्रतिशत मानिसहरू आफ्नो दैनिक जीवनयापन गर्ने खर्च धान्न मात्रै जाने रहेछन् । त्यही अध्ययनबाट के देखियो भने विदेशिएर कमाएकोमध्ये २२.४८ प्रतिशत शिक्षा र स्वास्थ्यमा खर्च हुँदोरहेछ ।

उनीहरूले कमाएको १०.०७ प्रतिशत त ऋण तिर्न खर्च हुँदोरहेछ । ९ प्रतिशत मात्रै मनोरञ्जन र अन्य चिजमा खर्चे गरेको देखिन्छ । यो अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने मान्छेहरू आधारभूत आवश्यकता परिपूर्ति गर्न नसकेर विदेश जान बाध्य छन् । यस्ता अरू थुप्रै सरकारी अध्ययन छन् ।

केही वर्षअघि नेपालमा श्रम शक्ति सर्वेक्षणमा नेपालमा श्रम गर्ने उमेरको संख्या दुई करोड सात लाख छ । तीमध्ये ७० लाखले मात्रै आंशिक वा पूर्ण रोजगारी पाएको देखियो । त्यसमा पनि हप्तामा एक घण्टा काम गर्नेलाई पनि आंशिक रोजगारी पाउनेको संख्यामा राखिएको छ । अब हेरौं नेपालमा रोजगारी नै नपाएको संख्या कति छ ?

यी र यस्ता थुपै्र अध्ययन र सर्वेक्षणले नेपालबाट विदेशिनुको पहिलो कारण बेरोजगारी नै देखिन्छ । रोजगारी पाइहाले पनि दैनिक गुजारा गर्न समेत नसक्ने अवस्था छ । जब मान्छेले आफ्नो र सन्ततिको भविष्य देख्दैन तब जस्तोसुकै जोखिम मोलेर भए पनि विदेशिन्छ ।

जीवनमा भोलि आइपर्ने दुःख बिमार पर्दा चाहिने सामाजिक सुरक्षा नहुँदा पनि विदेशिनु स्वाभाविक मान्न सकिन्छ । यसको अर्थ आफ्नो र सन्ततिको भविष्य सुरक्षित नभएपछि मानिस विदेशिएको देखिन्छ । प्रमुख कारण नै यही हो ।

अर्को कारण चाहिं अहिले विदेशिएर सम्पन्न जीवन जिउने चाहना र महत्वाकांक्षा पनि हो । मान्छेमा बढेको महत्वाकांक्षाले पनि जोखिम मोलेर गएको हुनसक्छ ।

सरकार जिम्मेवार छ

यस्ता विभिन्न कारणले मानिसलाई जोखिम मोल्न बाध्य बनाउँछ । अब जोखिमको कुरा गरौं । मानिसले असाध्यै ठूलो जोखिम मोलिरहेको हुन्छ । यो बाटो कति जोखिमपूर्ण हुन्छ भने सम्पूर्ण यात्रा गैरकानुनी हुन्छ । अरू कुनै व्यक्तिको भरमा हिंड्नुपर्छ । विभिन्न मुलुकका सीमाहरू पार गर्नुपर्छ । त्यो आफैंमा जोखिमपूर्ण काम हो ।

हिंड्दा हिंड्दै कतिले बाटोमै मृत्युवरण गर्छन् । जोखिम मोलेर हिंडेका मर्छन्, मारिन्छन् । जाँदाजाँदै समुद्रमा डुंगा पल्टेर, हप्तौं जंगलमा हिंड्दा हिंड्दै कमजोर भएर वा हत्या भएर बीच बाटोमै विभिन्न कारणले मानिसले ज्यान गुमाइरहेका हुन्छन् ।

मैले थाहा पाएसम्म कति यस्ता घटनाहरू त समाचारमा पनि आउँदैनन् । वर्षौंसम्म अज्ञात रहन्छन् । कहाँ, कसरी मृत्यु भयो भन्ने पनि यकिन सूचना समेत आउँदैन । त्यसकारण महिनौं वा वर्षौं अघि हिंडेका र कुनै खबर नआएका व्यक्तिहरूको बारेमा समेत यसै भन्न सकिन्न ।

त्यसमा पनि नेपालको कूटनीति एकदमै कमजोर भयो । ती नागरिक कहाँ, कसरी गए भन्नेबारे राज्य पूरै बेखबर छ । रूसी सेनामा गएर मृत्यु भएका र बन्धक बनाइएका नेपालीहरूका खबर अब बाहिर आउन थालेका छन् ।

रूसी सेनामा ६ जनाको मृत्यु भएको पनि महिना दिन पछि मात्रै बाहिर आयो । यसरी कति गएका छन्, कति कहाँका व्यक्ति मरेका छन् भन्ने राज्यसँग पनि पर्याप्त सूचना नै छैन । त्यस कारण बाटोमा मृत्यु भएका नेपालीका शव फर्काएर सांस्कृतिक सम्मानपूर्वक अन्त्येष्टि गर्ने अधिकारबाट समेत नेपाली वञ्चित हुँदै गएका छन् । मृतकका परिवारहरू वर्षौंसम्म शवको पर्खाइमा छन् । तर उनीहरूको अवस्था बेखबर र अज्ञात नै छ ।

यसमा हाम्रो सरकारी संयन्त्रको कमजोरी पनि देखिन्छ । हुनलाई यो सजिलो काम होइन, तर असम्भव पनि होइन । सरकारले यसमा धेरै गर्न सक्छ, यसमा कमजोरी देखिन्छ ।

(श्रम तथा आप्रवासन विज्ञ नेपालसँग अनलाइनखबरकर्मी आभास बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?