+
+
चीन श्रृंखला-८ :

चीनमा कुकुरलाई गरिने स्‍नेहले लोभ्यायो

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०८० पुष ७ गते १८:५७
प्रतिकात्मक तस्विर

राजन केसीको बेकरी पसल छ चरिकोट चोकमा । कफीको चुस्की र तातो–तातो दुनोटको स्वाद लिन नेता, पत्रकार, कर्मचारी, मजदुर, व्यवसायी, किसान सबै पुग्ने गर्छन् हरेक बिहान त्यही बेकरी पसल ।

एक बिहान म, जीवन, गोकर्ण, केदार, सिर्जन, सुजन, रेशमहरु चियाको चुस्कीसँग गफिंदै थियो । गोकर्णले चीन भ्रमण र कुकुरको प्रसंग निकाल्दै त्यसबारे लेख्न मलाई हौस्यायो । अनि मैले सम्झिएँ……,

३५ सय मिटरभन्दा बढी उचाइको भूगोल, चिसो–चिसो मौसम । पहाडको चेपबाट सूर्योदयको किरणका छिर्बिरे उज्यालो छरिंदा ल्हासा साँच्चै सुन्दर लाग्छ । बिहानी वाकमा सडकको छेउ–छेउबाट गन्तव्य पहिल्याउँदै गर्दा विभिन्न प्रजाति र रंगबाट कुकुरलाई न्यानो कपडा लगाएर डोर्‍याउँदै अघि बढेका धेरै तिब्बतीहरुसँग हाइहेल्लो हुँदै थियो । झण्डै पाँच वर्ष वित्यो चीनको तिब्बत प्रान्तको राजधानी ल्हासामा बिहानी वाकमा बरालिएको समय । तर सम्झना नाकको डाँडी आसपासमै मडारिरहेको हुन्छ ।

धेरै पटक सुनेको हो चीनमा कुकुरको मासु खाने गर्छन् । अल्लारे समयमा मैले पनि कान नछामी कागको पछि दौडिरहे । चीनको विभिन्न प्रान्तमा बेलाबखत भ्रमण गर्ने अवसर मिलेपछि भने म बल्ल कान छाम्ने तहमा पुगेको छु ।

मेरो साथी छ एउटा कुकुर, ‘युजी’ । ‘युजी’ भन्दा अघि ‘टाइगर’ (रक्की) थियो । एउटा दु:खद् दुर्घटनामा उसको मृत्यु भयो । ‘टाइगर’को मृत्युमा आँसु झारें मैले । मलाई हरेक समय साथ दिने ‘टाइगर’, चरिकोटकै प्रिय थियो ।

अब युजी मेरो साथी छ । टाइगरले जसरी नै मलाई साथ दिन्छ । म बाहिरबाट आउँदा गेटसम्मै पुच्छर हल्लाउँदै लिन आइपुग्छ । हात दिन्छ, गाला चाटिदिन्छ । म रमाइलो मानेर उसको निर्दोषीपनमा मोहित बन्छु । भर्खर दुई वर्ष पार गरेको युजी छुच्चो पनि छ, सरारती पनि छ । फेरि पनि माया लाग्छ युजीको । मलाई केही भइगयो भने युजीलाई कसले घुमाउन लग्ला, कसले खान देला, पुच्छर हल्लाउँदै गेटसम्म आउँदा ऊ कति निराश बन्ला । मृत्युको भयभन्दा युजीको मायाले शताब्दी बाँच्ने चाह पलाउँछ मनमा ।

स्वभाविक थियो, यति आत्मीय लाग्ने कुकुरको मासु कुनैदेशमा खाने प्रचलन छ भन्दा मन अमिलो बन्नु । तर हरेक पटक चीन पुग्दा कुकुरप्रतिको सम्मान र प्रेम देख्दा मैले आफैंलाई धिक्कारे, कान नछामी कागको पछि दौडिने मूर्खता गरेकोमा ।

चिरञ्जीवी मास्के

झण्डै ६ महिनाअघि चीनको उहान पुग्दा पनि कुकरप्रति चिनियाँ नागरिकको माया र निकटता देख्ने अवसर मिल्यो । बिहानी वाकको बहानामा कुकुरलाई साथ लगाएर घुम्ने चिनियाँ नागरिक उहानको ‘चु नदी’ आसपासको पार्कमा मात्र होइन, याङ्जी नदीको वारिपारिका सहरमा समेत प्रशस्तै भेटिए ।

पत्रकार गोकर्ण भण्डारी र म एक साँझ उहानको ‘चु नदी’ आसपास बरालिंदै गर्दा एउटा दोकानमा हाम्रो आँखा पर्‍यो । त्यो दोकानको एउटा सिसाजडित कोठे र्‍याकमा विभिन्न प्रजातिका कुकरहरु राखिएका थिए । आकर्षक र मायालु लाग्ने साना–साना ती कुकुर राखिएको र्‍याकको कोठामा कुकुरको प्रजाति अनुसारको खरिद मूल्य टाँसिएको थियो ।

बाफरे, एउटा बच्चा कुकुरको नेपाली मूल्य ४०-४५ हजारदेखि डेढ-दुई लाखसम्म । अब कसरी पत्याउन सकिन्छ चीनमा कुकुरको मासु खान्छन् भनेर । चिनियाँ नागरिकहरु कुकुरको मासु खाने होइन, सौखले महंगो दाममा कुकुर खरिद गरी स्नेह साथ पालनपोषण गर्छन् । विशाल चीनमा कुनै समय कुनै जाति विशेषले कुकुरको मासु खाने गरेका थिए भने त्यो अपवादको कुरा होला ।

चीनको युलिन सहरमा विवादित ‘डग मिट फेस्टिभल’लाई सरकारले रोक लगाएको विषय पनि बेलाबखत चर्चामा आउने गर्छ । युलिन सहरको यही विषय चीनमा कुकुरको मासु खाइन्छ भन्ने प्रमाण ठान्छन् केही क्रूर पशुविरोधीहरु ।

झण्डै छ महिनाअघि ‘नेपाल–चीन हिमालयन फ्रेण्डसिप सोसाइटी’को समन्वयमा उहान पुग्दा हाम्रो बसाइ मार्सल प्यालेस (सुईफिउ) होटल थियो । उक्त होटलको मेनेजर हुन् झेङ जिङची । उनी भन्दै थिए– ‘धेरै चिनियाँहरु कुकुरलाई माया गर्छन्, कुकुरको मासु खाने कुरा अपवाद हुन सक्छ ।’

झेङ जिङचीले सुनाए– ‘चाइना पेट एसोसिएसन’को तथ्यांकअनुसार चीनमा दुई करोड ७० लाख पाल्तु कुकुर छन् र यो संख्या दिनप्रतिदिन बढिरहेको छ । विश्वमा सबैभन्दा धेरै कुकुर भएको देश पनि चीन नै हो भनिन्छ । पछिल्लो तथ्यांकअनुसार चीनमा १३० मिलियन कुकुर छन् ।

केही वर्षअघि चीनमा एउटा ‘शिबा इनु’ नामको कुकुरलाई लिलामीको लागि राख्दा २५ हजार अमेरिकी डलमा बिक्री भएको घटना अहिलेसम्म पनि चर्चाको विषय बनेको छ । ‘बेइजिङ’को एउटा अदालतले ‘शिबा इनु’लाई लिलामीमा राख्न आदेश दिएपछि त्यसको सुरु मूल्य ७८ रुपैयाँ अमेरिकी डलर तोकिएको थियो तर त्यसलाई कुनै कुकुरप्रेमीले २५ हजार अमेरिकी डलरमा खरिद गरिदिएर चिनियाँहरुको कुकरप्रतिको स्नेह देखाउन सके ।

‘ग्रे ब्वासो’ परिवारको स्थनधारी सदस्य मानिने कुकुरलाई झण्डै १२ हजार वर्षअघिबाट मानिसले पाल्न थालेको अनुमान छ । र, त्यतिबेलादेखि नै कुकुरको इमान्दारिता, निष्ठा र मालिकप्रतिको समर्पणका धेरै कथा प्रचलनमा छन् ।

जापानको ‘हाचीको’ नामको कुकुरको चर्चा विश्वभरि छ । ‘हाचीको’लाई जापानको टोक्यो युनिर्भसिटीका प्रोफेसर एजाबुरो युनोले पालेका थिए । उनीहरुबीचको प्रेम यति घनिष्ठ थियो कि ‘हाचीको’ हरेक दिन प्रोफेसर युनोलाई छोड्न र लिन शिबुआ ट्रेन स्टेसन पुग्ने गर्थ्यो ।

हाचीकोको कथा यतिमै सकिंदैन । जब प्रोफेसर युनोको मृत्यु भयो हाचीकोले आफ्नो बाँकी जीवन त्यही ट्रेन स्टेसनमै बितायो, जहाँ ऊ हरेक दिन युनोलाई छोड्न र लिन जाने गर्थ्यो । हाचीकोले देखाएको मालिकभक्ति र समर्पणको कथामा आधारित फिल्म समेत बनेको छ जापानमा ।

म पुगेको छैन जापानको शिबुआ ट्रेन स्टेसनमा । तर पुस्तकहरुमा उल्लेख भएअनुसार शिबुआ ट्रेन स्टेसनमा हाचीको कुकुरको शालिक नै बनाइएको छ रे । कुनै समय टोकियो पुग्ने सौभाग्य जुर्‍यो भने शिबुआ ट्रेन स्टेसनमा हाचीकोको शालिक अगाडि झुकेर उसको त्याग, समर्पण र स्नेहलाई सलाम गर्ने चाहना छ ।

नेपालमै पनि अहिले ‘काली’ कुकुरको स्नेहको चर्चा छ । पाटनको अल्का अस्पतालमा ६ वर्षदेखि काली आफ्नो मालिक कुरेर बसेकी छ । एउटा बिरामी युवकसँग अस्पताल आएकी काली सुरुमा युवकलाई राखिएको क्याबिनको आसपास बस्ने गरेकी थिइनँ । युवकलाई पछि आईसीयूमा सारियो र उनको त्यही निधन भयो । कालीले सायद ती युवक (आफ्नो मालिक)को निधनबारे विश्वास गरिनन् र उनैलाई कुरेर छ वर्षदेखि अस्पतालमै बसेकी छन् ।

मेरो अन्तर मन कहिलेकाहीं तरंगित बन्छ । के हामी कुकुर जति नै इमान्दार छौं ? हामीभित्रको स्नेहको मात्राले कुकुरको ह्रदयको मापन गर्न भ्याउँछ ? मरेका आफन्तको कुरा छोडौं हामी त जीवितै आफन्तलाई पनि कुकुरको तुलनामा स्नेहको एउटा सिन्को समेत भाँच्न तयार हुँदैनौ । हाम्रो इमान्दारिता, निष्ठा र समर्पण कुकुरको तुलनामा असाध्य दुर्बल लाग्छ ।

धार्मिक मान्यताअनुसार अहिलेसम्म चार युग अस्तित्वमा रहेको छ । पहिलो सत्य युग, दोस्रो त्रेता युग, तेस्रो द्वापर युग र चौथो कलि युग । हामी अहिले कलि युगमा छौं । सत्य युगमा शिवको चर्चा हुने गर्छ । त्रेता युगमा रामको चर्चा गरिन्छ र द्वापर युगमा कृष्ण, युधिष्ठिरहरुको चर्चा गरिन्छ । कुकुरको निष्ठा, समर्पण, स्नेह र इमानको चर्चा द्वापर युगबाटै हुने गरेको छ ।

हामीले कथाहरुमा पढेका छौं, कुकुरलाई बर्जित गरेपछि युधिष्ठिरले स्वर्ग जाने इन्द्रको प्रस्तावलाई नै अस्वीकार गरिदिएका थिए । त्रेता युगमा युधिष्ठिरलाई एउटा कुकुरले असाध्य धेरै माया गर्‍यो । हरेक पल युधिष्ठिरको साथमा रह्यो । कुकुरप्रति युधिष्ठिरको स्नेह पनि त्यहीअनुसारको थियो । स्वर्ग जाने क्रममा हिमालय पर्वतमा पुगेपछि युधिष्ठिरका भाइहरु र द्रौपदी समेतको निधन भयो । त्यही कुकुर र युधिष्ठिर मात्र बाँकी रहे ।

यस्तो अवस्थामा इन्द्रले युधिष्ठिरलाई स्वर्ग लैजाने प्रस्ताव राखे । युधिष्ठिरले भाइहरु र द्रौपदीबिना स्वर्ग जान नसक्ने बताए । इन्द्रले भने– ‘तिम्रा भाइहरु र द्रौपदी स्वर्ग पुगिसकेका छन्, अब तिमी हिंड ।’ युधिष्ठिरले कुकुरतिर देखाउँदै भने– ‘म यसलाई समेत नलिई स्वर्ग जान सक्दिनँ । यदि यसलाई पनि स्वर्ग जाने अनुमति छ भने म जान तयार छु ।’ इन्द्रले कुकुरलाई स्वर्ग जाने अनुमति नभएको कुरा सुनाए । उनले भने– ‘तिम्रा भाइहरु आफ्नो मानव शरीर त्यागेर स्वर्ग गएका छन्, तर तिमी मानव शरीर समेत स्वर्ग जान पाउने छौं, त्यसैले कुकुर लैजाने हठ नगर ।’ उनले सम्झाउँदै भने– ‘तिमीले ठूलो अमरत्व प्राप्त गरेका छौ, पूर्ण लक्ष्मी र ठूलो सिद्धि प्राप्त गरेका छौ, अन्यथा कुरा नगर ।’

युधिष्ठिरले जवाफ फर्काउँदै भने– ‘देवराज मलाई भक्तको त्याग गरेर प्राप्त हुने पूर्ण लक्ष्मी र अमरत्वको लालच छैन, म कुकरलाई छोडेर एक्लै स्वर्ग जान सक्दिनँ ।’ उनी पृथ्वीमै फर्कन तयार भए ।

वास्तवमा कुकुर नै युधिष्ठिरको धर्म थियो, सत्य थियो । यमराजले नै कुकुरको रुपमा युधिष्ठिरको परीक्षण गरेका थिए । युधिष्ठिर सत्य र धर्मको परीक्षणमा पास भए । यमराजले युधिष्ठिरको लागि स्वर्गको ढोका खोलिदिए । र, युधिष्ठिर मानव शरीरसहित स्वर्ग जान सके ।

युधिष्ठिरले विश्वास गरेको र युधिष्ठिरको विश्वास जितेको कुकुरको कथाले पनि मानवतासँग उसको निकटतालाई उजागर गरिदिएको छ ।

चीनमा कुकुरको मासु खाने भ्रमले कहिलेकाहीं हामीलाई दिग्भ्रमित गरिदिन्छ । कुनै जाति विशेषले कुनै समय कुकुरको मासु खान्थे भने पनि त्यो सरकारी तहबाटै बर्जित भइसकेको छ । त्यसैले भ्रमको त्यही धङधङीमा क्रूरताको चर्चा हुनु अपराध मान्नुपर्छ ।

कुकुर मानवको सबैभन्दा नजिकको साथी हो, जसले हरेक समय साथ दिन्छ । उसलाई आफ्नो मालिकको धनसम्पत्ति, ओहोदा, कुनै कुराको पर्वाह हुँदैन । मानिसको विश्वास गर्छ र मानिसलाई स्नेहका साथ हरपल सघाउँछ । म यही सत्यमा कुकुरको निकट छु । र, मलाई कुकुरको स्नेहले मृत्युको भयसम्म डोर्‍याउँछ । अनि म धेरै बाँच्ने चाहमा लोभिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?