+
+

जनता र विकासको कुरा दह्रोसँग उठाउँछु : सांसद कोइरी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १६:४०

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले जनता र विकासको मुद्दा संसदमा दह्रोसँग उठाउने बताएका छन् ।

आफ्नो सांसद पदको निलम्बन फुकुवा माग गर्दै आइतबार संघीय संसद सचिवालयमा निवेदन दिएपछि संसदले उनको निलम्बन पनि फुकुवा गरेको छ ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले २८ मंसिरमा सफाइ दिएको थियो ।

संसद सचिवालयले निलम्बन फुकुवाको निर्णय दिएपछि अनलाइनखबरसँग उनले भने, ‘जनताको कुरा लिएर, पार्टीको कुरा लिएर अगाडि बढ्छु । मेरा धेरै कुरा विकाससँग जोडिएको छ । मलाई समाजसेवी भनेर चिन्दछन् । त्यसअनुसार आफ्नो भूमिकामा दह्रो गरी संसदमा प्रस्तुत हुन्छु ।’

आफ्नो स्वभाव र विचारधारा स्वतन्त्र जस्तो भए पनि पार्टीको नीति अनुसार चल्ने पनि उनको प्रतिवद्धता छ ।

संसद सचिवालयका अनुसार कोइरीले माग गरे अनुसारको निलम्बन फुकुवाको विषय प्रक्रियामा छ ।

२०७७ सालमा जनकपुर उच्च अदालतले फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

चुनाव जितेपछि ७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएका कोइरी २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा उपस्थित थिए ।

फरार सांसद संसदमा उपस्थित भएको भनी प्रश्न उठेपछि कोइरी सम्पर्कविहीन थिए ।

प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कोइरीको अनुपस्थितिको सूचना स्वीकृत हुन सकेको थिएन ।

प्रहरी प्रधान कार्यालयले दुई पटकसम्म कोइरीलाई निलम्बन गर्न पत्र पठाएको थियो ।

प्रतिनिधि सभा नियमावली २०७९ ले फारार सांसद निलम्बित हुने व्यवस्था समेत गरेको थियो ।

यी तीन कारणबाट कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । त्यसपछि निरन्तर सम्पर्कविहीन रहेका कोइरी महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएसँगै संसद सचिवालय पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?