+
+

११ महिनापछि संसदमा कोइरी

आइतबार संसद सचिवालय पुगेका कोइरी ‘निर्वाचित भएर पनि यस अगाडि सदनमा भूमिका देखाउने अवस्था नबनेको’ गुनासो गर्छन् । उनी भन्छन्, ‘अदालतले न्याय दिलाएको छ । अब आफ्नो भूमिकामा दह्रो गरी संसदमा प्रस्तुत हुन्छु ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० पुष ८ गते २०:२९

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी ११ महिनापछि संसद सचिवालय पुगेका छन् । संसद सचिवालयको हाजिरी शाखाका अनुसार उनी २६ पुस २०७९ सम्म संसदको सम्पर्कमा थिए । त्यसयता निरन्तर अनुपस्थित रहेका कोइरी आइतबार दिउँसो संघीय संसद सचिवालय पुगेका हुन् ।

आइतबार संसद सचिवालय पुगेर कोइरीले आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिए । जुन आइतबार नै सदर भइसकेको छ । संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, अभियोग लागेको विषयमा सफाइ पाएसँगै कोइरीको निलम्बित प्रतिनिधि सभा सदस्य पद फुकुवा भएको हो ।

२०७३ सालमा मधेश आन्दोलनका क्रममा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त घटनामा आरोपी कोइरीलाई २०७७ सालमा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश सुनाएको थियो । त्यो बेलादेखि फरार कोइरी ४ मंसिर २०७९ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

चुनाव जितेपछि ७ पुस २०७९ मा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण कार्यक्रममा कोइरी नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । कोइरी २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोस्रो बैठकमा पनि उपस्थित भए । तर, उनको उपस्थितिलाई लिएर संसदमा प्रश्न उठ्यो ।

२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम थियो । त्यसदिन नेपाली कांग्रेसले हत्या अभियोग लागेका सांसदले मत दिन पाउने कि नपाउने भनी प्रष्ट हुनुपर्ने माग राखेको थियो । कोइरीलाई पक्राउ नगरिएको भनी कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेसको ध्यानाकर्षणपछि तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विधि र प्रक्रियाअनुसार काम गर्ने भन्दै अनावश्यक दबाब नदिन अनुरोध गरेका थिए । प्रश्न उठे पनि कोइरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर संसद भवनबाट सुटुक्क बाहिरिए ।

तीन पटकसम्म संसद भवन छिरेर निस्कँदा समेत नसमातिएको भनी चौतर्फी विरोध भएपछि ६ माघ २०७९ मा गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन जारी गरेको थियो ।

फरार सांसद पक्राउ नपरेको भनी संसदमा निरन्तर प्रश्न उठिरह्यो तर, उनी सम्पर्कमा आएनन् । यता, कोइरीको सांसद पद निलम्बनका लागि प्रहरी प्रधान कार्यालयले दुई पटकसम्म पत्र पठाएको थियो ।

प्रहरी प्रधान कार्यालयले ७ पुसमा कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो । उक्त पत्र प्रतिनिधिसभा नियमावली २०७९ नबन्दै आएको भनी सभामुख देवराज घिमिरेले कार्यान्वयन नगरेपछि ७ चैत २०७९ मा दोस्रो पटक पत्र पठाएको थियो ।

प्रतिनिधिसभा नियमावली २०७९ मा फरार सांसद निलम्बित हुने व्यवस्था छ । नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले दोस्रो पटक पत्र पठाएर कोइरीलाई सांसद पदबाट निलम्बनका लागि आग्रह गरेको थियो ।

तर, दोस्रो पत्र पनि तुरुन्तै कार्यान्वयन भएन । प्रहरीको पत्र आउँदा समेत कारबाही नभएको भनी संसदमा निरन्तर प्रश्न उठिरह्यो ।

पहिलो अधिवेशनमा सकिनु अगाडि कोइरीको अनुपस्थितिको सूचना प्रतिनिधिसभाबाट स्वीकृत हुन सकेन । १५ वैशाख २०८० को संसद बैठकमा सभामुख देवराज घिमिरेले कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित रहेको भनी स्वीकृतिका लागि पेश गरेका थिए । सांसदहरुले विरोध गरेपछि कोइरीको अनुपस्थितिको सूचना झिकेर बाँकीको स्वीकृत गरिएको थियो ।

प्रतिनिधिसभाका १० वटा भन्दा बढी बैठकमा अनुपस्थित हुने भए सांसदले अग्रिम सूचना दिनुपर्ने व्यवस्था छ । यस व्यवस्था अनुसार कोइरीको अनुपस्थितिको सूचना स्वीकृति हुन नसकेपछि सभामुखको भूमिका माथि समेत सांसदहरुले प्रश्न उठाएका थिए ।

त्यसपछि सभामुख घिमिरेले १९ वैशाख २०८० मा कोइरीको सांसद पद निलम्बनमा परेको निर्णय दिए । तर, पनि कोइरी प्रहरीको सम्पर्कमा पुगेनन् । निरन्तर सम्पर्कविहीन रहेका कोइरीले २९ मंसिरमा महोत्तरी जिल्ला अदालतबाट सफाइ पाए । सफाइ पाएपछि उनी आइतबार संसद सचिवालय पुगेका हुन् ।

११ महिनापछि संसद सचिवालय पुगेका कोइरी ‘निर्वाचित भएर पनि यस अगाडि सदनमा भूमिका देखाउने अवस्था नबनेको’ गुनासो गर्छन् । ‘अदालतले न्याय दिलाएको छ’ उनले अनलाइनखबरसँग भने, ‘अब जनताको कुरा लिएर, पार्टीको कुरा लिएर अगाडि बढ्छु । मेरा धेरै कुरा विकाससँग जोडिएका छन् । मलाई समाजसेवी भनेर चिन्दछन् । त्यसअनुसार आफ्नो भूमिकामा दह्रो गरी संसदमा प्रस्तुत हुन्छु ।’

आफ्नो स्वभाव र विचारधारा स्वतन्त्र जस्तो भए पनि पार्टीको नीति अनुसार चल्ने सांसद कोइरीको प्रतिबद्धता छ ।

राजनीतिअघि व्यवसाय र समाजसेवामा रहेका कोइरी नेपाली कांग्रेस पृष्ठभूमिका नेता हुन् । २०१९ साल मंसिरमा गौशाला नगरपालिका–२ निगौल महोत्तरीमा जन्मिएका कोइरीले १० कक्षासम्म अध्ययन गरेका छन् ।

कांग्रेसको विद्यार्थी संगठन (नेविसंघ) मा २०४७ सालमा आबद्ध भएर राजनीति सुरु गरेका कोइरीले २०५४ सालमा कांग्रेस छाडे । कांग्रेस छाडेर चुनावमा भाग लिएका उनी महोत्तरीको निगौल गाविसको अध्यक्षमा निर्वाचित भए ।

गाविस अध्यक्षको टिकट नपाएपछि कांग्रेस छाडेका कोइरी चुनाव जितेपछि पनि पार्टीमा फर्किएनन् । आफ्नै तरिकाले राजनीति अगाडि बढाए । २०५९ सालमा सामाजिक संस्था कुशवाह समाजको केन्द्रीय कोषाध्यक्ष भएका कोइरी २०७४ मा संघीय समाजवादी फोरम प्रवेश गरे ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट पाउने शर्तमा संघीय समाजवादी फोरम प्रवेश गरेका कोइरीले सोही अनुसार २०७४ को निर्वाचनमा महोत्तरी १ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरे । तर, चुनाव जित्न सकेनन् ।

त्यसपछि उनी जनता समाजवादी पार्टी (जसपा) मा आवद्ध भए । जसपाको केन्द्रीय सदस्य भएका कोइरी २०७९ को चुनावको मनोनयनको केही दिनअघि एमाले प्रवेश गरेका थिए ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट पाउने शर्तमा एमाले प्रवेश गरेका कोइरीले महोत्तरी १ मा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई पराजित गरेका थिए ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?