+
+

विदेशी पर्यटक भित्र्याउन चेपाङ गाउँमा होमस्टे सञ्चालन   

रासस रासस
२०८० पुष ९ गते १३:५१

९ पुस, चितवन । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।

इच्छाकामना–२ तोवाङ र इच्छाकामना– १ भाराङमा चेपाङ घरबास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनले पृथ्वीराजमार्गअन्तर्गत धादिङको हुग्दीखोलाबाट चितवनको इच्छाकामना–२ काउले तोवाङ, हात्तीवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ चौकीडाँडा र कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको पद मार्गमा आउने पर्यटकलाई लक्षित गरी चेपाङ घरबास सञ्चालन गर्न स्थानीयलाई सहयोग गरिएको जानकारी दिए ।

चेपाङ समुदायको आयस्तर वृद्धिका लागि थप घरबास सञ्चालन गर्न सपना भिलेजले आर्थिक सहयोग र तालिम उपलब्ध गराउने उनले बताए ।

‘यहाँका चेपाङ समुदायको आयस्तर वृद्धिका लागि इच्छुकलाई घरबास सञ्चालन गर्नका लागि हामी आर्थिक सहयोग र तालिम प्रदान गर्नेर्छौं, विशेष गरी विदेशी पर्यटकको रहनसहनबारे जानकारी गराउने, पर्यटकलाई गर्ने व्यवहार, सरसफाइलगायतका बारेमा तालिम प्रदान गर्ने योजना छ,’ उनले भने ।

रिक्सजा ट्राभल एजेन्सी नेदरल्याण्ड्सका प्रमुख मारियस एप्पलम्यानले हालै इच्छाकामना–२ तोवाङका तिलु चेपाङद्वारा सञ्चालित घरबास शुभारम्भ समेत गरे । सो अवसरमा उनले चेपाङ सुमदायको संस्कार संस्कृति तथा जीवनयापनबारे जान्न पाउँदा निकै खुसी लागेको सुनाए । साथै उनले यो पद मार्ग नेपालकै उत्कृष्ट बन्न सक्ने सम्भावना भएको दाबी गरे ।

उनले भने, ‘यो पद मार्ग नेपालकै उत्कृष्ट बन्ने सम्भावना छ, यहाँको चेपाङ सुमदायको रहनसहन संस्कार संस्कृतिबारे जान्न र बुझ्न पनि पाइन्छ ।’

घरबास सञ्चालिका तिलुले घरबास सञ्चालन गर्ने आफ्नो इच्छा पूरा गरिदिएकामा सपना भिलेजलाई धन्यवाद दिइन् । सो सस्थाले यस पद मार्गको सम्भाव्यताबारे अध्ययन गर्न गत वर्ष पनि रिक्सजा ट्राभल एजेन्सी न्यादरल्यण्ड्सका प्रमुख एप्पलम्यानलाई भ्रमण गराएको थियो । यस पद मार्गको दुई रात तीन दिनको रहेको सस्थाका अध्यक्ष गिरीले जानकारी दिए । नेदरलयाण्डसहित जर्मन, अमेरिका, फ्रान्सलगायतका देशका पर्यटक भित्र्याउने लक्ष्यका साथ यो पद मार्गको प्रचारप्रसारमा लागिरहेको उनले बताए ।

उनले भने, ‘पर्यटकको आवागमन बढेसँगै यहाँका चेपाङ समुदायको आयस्तर वृद्धि हुने छ ।’ सपना भिलेजले चितवनको चेपाङ समुदायको उत्थानका लागि विभन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको सपना भिलेजले पर्यटनमार्फत ती समुदायको आयस्तर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?