+
+

‘सरकारी लगानीका धेरै खेलकुद पूर्वाधार अधुरै, तीन तहबीच समन्वय छैन’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १४:४९

१० पुस, पोखरा । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको बताएका छन् ।

पोखरामा आजदेखि सुरु भएको २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता उद्घाटन गर्दै उनले सरकारी लगानीका खेल पूर्वाधार अधुरो बनेको स्वीकारेका हुन् ।

मन्त्री लिम्बुले आफूले ४० भन्दा धेरै जिल्लाको स्थलगत भ्रमण गरेको र त्यहाँका खेल पूर्वाधारमा भएका लगानी औचित्यहीन भएको पाएको बताए । खेल पूर्वाधारले मूर्तरुप पाउन नसक्दा लगानी खेर गइरहेको र खण्डहर बन्ने स्थिति आएको उनको भनाइ छ ।

‘अहिले ४० जिल्लाको भ्रमणबाट फर्किएको छु । ती जिल्लाका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन्’, मन्त्री लिम्बुले भने, ‘सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । यो चिन्ताजनक विषय हो ।’

तीनै तहका सरकारबीच समन्वयका अभावका कारण खेल पूर्वाधारमा लगानीले प्रतिफल दिन नसकेको मन्त्री लिम्बुको भनाइ थियो । उनले खेल पूर्वाधार बनाउन संघीय, प्रदेश र स्थानीय सरकारसहित निजी क्षेत्रलाई पनि जोड्ने गरी आफूले समन्वय गरिरहेको बताए ।

‘संघीय सरकारले मात्रै देशभर रहेका खेल पूर्वाधारहरुको संरक्षण गर्न सक्दैन । संघीय, प्रदेश र स्थानीय सरकारले कुन र कस्ता पूर्वाधारहरु कुन तहले जिम्मा लिने पहिचान हुनुपर्छ’, मन्त्री लिम्बुले भने, ‘त्यसको पहिचान गर्न राष्ट्रिय खेलकुद परिषदलाई अध्ययनका लागि निर्देशन दिएको छु ।’

मन्त्री लिम्बुले हाल खेलाडीहरुले भोगिरहेको कठिनाइ कम गर्न मन्त्रालय सचेत रहेको दाबी गरे । उनले खेलाडी भोग्दै आएको समस्या हल गर्न र सेवासुविधा वृद्धि गर्ने गरी नीतिगत सुधार गरिँदै गएको सुनाए ।

२० औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा २१६ खेलाडी

कास्की जिल्ला टेनिस संघले गर्दै आएको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स प्रतियोगितामा २१६ जना खेलाडी सहभागी छन् । १५ गतेसम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ खेलाडी सहभागी रहेको संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित भारत, बेलायत र बंगालादेशका खेलाडी पनि सहभागी रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्षमाथि गरी विभिन्न उमेर सूमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका विजेताले जनही नगद ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ, सेमिफाइनालिस्टले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र सेमिफाइनालिस्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ३५ वर्षमाथि भेट्रान्स सिंगल्सतर्फको विजेताले ६० हजार, उपविजेताले ३० हजार रुपैयाँ र सेमिफाइनालिस्टले १० हजार प्राप्त गर्नेछन् ।

डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार रुपैयाँ र सेमिफाइनालिस्टले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिस्ट नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, सोही स्पर्धाको डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार तथा सेमिफाइनालिस्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्षमाथिको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमिफाइनालिस्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, डबल्सतर्फको विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनालिस्टले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ६५ वर्ष माथिको सिंगल्सतर्फ विजेताले नगद १५ हजार, उपविजेताले ७ हजार ५ सय तथा सेमिफाइनालिस्टले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगिता नेपालका नं १ देखि ८ नं सम्मका र्‍याङ्किङ खेलाडीहरु मैदानमा उत्रिने छन् । नेपालका नं. १ पुरुषतर्फ पोखराका प्रदीप खड्का र नं. १ महिला खेलाडी अभिलाषा विष्टले सहभागिता जनाउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?