+
+

महेश राईमाथि केपी ओलीका सुरक्षाकर्मीलाई अवरोध गरेको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १८:२२

१० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास गरेका महेश राईलाई सुरक्षाकर्मीलाई अवरोध गरेको मुद्दा लगाइएको छ ।

मध्यपहाडी संकल्प यात्राका क्रममा गत २८ मंसिरमा धनकुटा पुगेका ओलीमाथि राईले आक्रमणको प्रयास गरेका थिए । लगत्तै पक्राउ परेका राईमाथि अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय धनकुटाले ‘राष्ट्र सेवकमाथि आक्रमण गरेको’ प्रतिवेदन तयार गरेको हो ।

त्यही प्रतिवेदनको आधारमा राईलाई जिल्ला सरकारी वकिलको कार्यालय, धनकुटाले आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको सहायक जिल्ला न्यायाधिवक्ता केशव खतिवडाले बताए ।

‘मुलुकी अपराध संहिता ऐनको दफा ६६(१) को कसुर गरेकाले उपदफा (२) अनुसार सजाय हुनुपर्ने मागदावी छ’, खतिवडाले भने ।

मुलुकी अपराध संहिता ऐनको दफा ६६ मा राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने भन्ने व्यवस्था छ । उक्त दफामा भनिएको छ, ‘कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा गैरकानुनी भेला रोक्ने, भंग गर्ने वा हुलदंगा रोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पुर्‍याउन वा पुर्‍याउने उद्योग गर्नु हुँदैन ।’ त्यसो गरेमा एक वर्षसम्म कैद, १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था कानुनमा छ ।

प्रहरीले १० दिनसम्म अनुसन्धान गरेर ओलीका सुरक्षाकर्मीमाथि राईले आक्रमण गरेको प्रतिवेदन तयार पारेको थियो । ‘महेश राईले केपी ओलीमाथि आक्रमण गर्न खोजेका थिए । त्यसपछि फेरि सुरक्षाकर्मीलाई पनि आक्रमणको प्रयास भयो भन्ने प्रतिवेदन तयार भएको छ’, ती स्रोतले भने ।

ओलीका सुरक्षाकर्मीमाथि आक्रमणको आरोपसहित मुद्दा दर्ता भएका राईलाई जिल्ला प्रशासन धनकुटाले धरौटीमा छोडेको छ । ‘कति रकम भन्ने याद भएन, आइतबार नै धरौटीमा छाडिएको हो । अरु कुरा प्रक्रिया अनुसार नै जान्छ’, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने ।

राईले ओलीलाई स्वागत गर्ने लाइनमा उभिएर आक्रमणको प्रयास गरेका थिए । तर एमालेका नेताहरुले ओलीमाथि आक्रमणको प्रयासलाई मादकपदार्थ सेवनको कारण भनेका थिए ।

महासचिव शंकर पोखरेलले ओलीमाथि आक्रमण भएको भन्ने प्रचार नै भ्रमपूर्ण भएको सामाजिक सञ्जालमा त्यसैदिन लेखेका थिए । ‘अध्यक्षमाथि मुक्का प्रहार भयो भन्ने प्रचारबाजी प्रायोजित र भ्रमपूर्ण हो । यसबाट अभियानको सफलताले जलिरहेकाहरुको नियत भने उजागर भएको छ’, पोखरेलले लेखेका थिए ।

तर धनकुटा प्रहरीले भने राईलाई नियन्त्रणमा लिएर पहिचानवादी नेताहरुसँग सम्बन्ध भएको हुन सक्ने आशंकासहित अनुसन्धान गरेको थियो ।

स्थानीयका अनुसार, लेगुवामा कुखुरा फार्म चलाउँदै आएका राईको घर दुई वर्ष अगाडि जलेको थियो । घर जलेपछि उनले नेताहरुसँग सहयोग माग्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?