+
+

‘पञ्चायतमा धनकुटा र प्रजातन्त्र यता विराटनगरबाट हेपियो धरान’

अञ्चल सदरमुकाम बनाएर धरानलाई राजा महेन्द्रले विकास गर्न खोजेका थिए तर पञ्चायतमा सूर्यबहादुर थापा र प्रजातान्त्रिक कालमा विराटनगरका नेताहरूको पहुँच बढ्यो । जता पहुँच भयो विकास त्यतै जाँदो रहेछ । धरानले गतिलो नेता नै पाएन ।

प्रा .डा. टंकप्रसाद न्यौपाने, विश्लेषक प्रा .डा. टंकप्रसाद न्यौपाने, विश्लेषक
२०८० पुष २० गते २०:३९

धरान पहिला पूर्वी पहाड र तराईको ढोका थियो । म २०१३ सालमा धरान आउँदा यहाँको माहोल अर्कै थियो । पूर्वी पहाडलाई नुनदेखि सुनसम्म पुर्याउने काम धरानबाटै हुन्थ्यो । ढाकरमा सामान बोकेर पहाड उक्लनेको लर्को हुन्थ्यो ।

२०२२ सालदेखि धरानबाट एउटा थोत्रो बस विराटनगरसम्म चल्न थाल्यो । २०२५ सालतिर आराथुन नामको एकदम राम्रो बस चल्न थाल्यो । त्यसबेला धरान पूर्व क्षेत्रको व्यापारिक केन्द्र थियो । पहाडी क्षेत्रका अधिकांश मान्छेको किनमेल गर्ने ठाउँ धरान नै थियो । इटहरीतिर विकास भएको थिएन, धरान विकासमा निकै अगाडि थियो ।

कृष्णकुमार राई प्रधानपञ्च भएका बेला धरानको विकासमा नगर र नगरवासीबीच सहकार्य गर्न ६०–४० (कुनै विकासको काममा नगरपालिकाले ६० प्रतिशत र स्थानीयले ४० प्रतिशत खर्च व्यहोर्ने) कोे अवधारणा सुरु भयो । पछि ध्यानबहादुर राई र मनोज मेन्याङ्वोले पनि विकासमा जनसहभागिताको यो मोडललाई अझै मज्जाले लागू गरे ।

त्यसबेला नगर र नगरवासीको लगानीमा विकासका धेरै काम भए । त्यहीबेला कालोपत्रे सडक बनेका थिए र एक किसिमले विकासको लहर चलेको थियो धरानमा । अर्कोतर्फ धरानको विकासमा लाहुरेको योगदानलाई भुल्नुहुँदैन । उनीहरूकै कारण विकास योजनामा जनसहभागिताको नीति सफल भएको थियो ।

तीन दशकअघिसम्म पनि धरान हरेक कुरामा निकै अगाडि थियो । विकास, कला, साहित्य, संस्कृति, शिक्षा जस्ता विषयमा धरानले छुट्टै पहिचान बनाएको थियो । धरानको बजारमा चहल–पहल र रमझम हेर्नलायकको हुन्थ्यो ।

धरानका क्याम्पसमा पढ्न अन्यत्रबाट विद्यार्थी आउँथे । कला, साहित्यमा नाम सुनिएका संस्थाहरू त्यसबेलै स्थापना भएका हुन् । तर, अहिले व्यापार लगायत सबै क्षेत्रमा धरान सुस्ताएको छ ।

धरानले संस्कृति, खेलकुद, शिक्षा र संगीतमा भने अझै पनि केही गरिरहेको छ । तर, साहित्यमा पहिला भन्दा धेरै सुस्तायो । पहिला धरानमा साहित्यिक कार्यक्रम हुँदा मान्छेको भीड लाग्थ्यो । कला, साहित्यमा मान्छे रमाउँथे । बाहिरबाट समेत साहित्यिक कार्यक्रममा भाग लिन मान्छेहरू आउँथे ।

अहिले इटहरी, विराटनगरतिर धेरै कार्यक्रम हुन्छन्, धरानमा त्यस्तो अवस्था छैन । धरानको साहित्यमा नश्लवाद हावी भयो । यहाँ जातीयतालाई नश्लवादका रूपमा बुझियो । नश्ल र जाति फरक कुरा हुन् । नश्लीय चेत ज्यादा भएर यहाँको साहित्य सखाप भयो ।

पहिला धरानमा कुन्ता शर्मा, बम देवान, कृष्ण पाख्रिन जस्ता देश हल्लाउने कवि थिए । नयाँ पुस्ताका कवि, साहित्यकारलाई नश्लीय चेतनाले माथि उठ्न दिएन ।

व्यापार व्यवसायमा कुनै बेला सिङ्गो पूर्वी पहाडको बजार हो, धरान । नुनदेखि सुनसम्म किन्न पहाडबाट मान्छेहरू धरान आउँथे । अहिले यातायातको विकासले ठाउँ–ठाउँमा बजार विस्तार भएको छ । जनसंख्याको पलायनले पनि होला व्यापार व्यवसायमा कमजोर छ धरान अहिले । यो विषयमा यहाँका व्यापारी, व्यवसायी र तिनका संघ–संगठनले प्रभावकारी काम गर्न सकेका छैनन् ।

स्थानीय सरकार नागरिकलाई सुविधा दिन भन्दा कर उठाउन केन्द्रित छ । धरानमा कर बढी लिइन्छ । यहाँ बाबुको नाममा भएको घर छोराको नाममा सार्दा जति कर तिर्नुपर्छ त्यति कर इटहरीमा लाग्दैन । यहाँको कर प्रणाली अवैज्ञानिक छ ।

त्यसैले अहिले धरान छाडेर इटहरीतिर लगानी गर्नेहरू बढेका छन् । धरानमा लगानी गर्ने मान्छे घटे । धरान सेउती र सर्दु खोलका बीचमा खुम्चिएको छ । यहाँको व्यापार व्यवसाय पनि त्यस बाहिर जान सकेको छैन ।

धरानका बासिन्दाहरू खासमा खान, बस्न पुग्यो र घर भयो भने पुग्यो भन्ने मनस्थितिमा छन् । यहाँ जोखिम लिएर काम गर्ने मान्छे भएनन् । त्यसको असर व्यापारमा परेको छ ।

धरान पहिला क्रान्तिकारी शहर थियो । २००७ सालमा प्रजातन्त्र भर्खरै आएका बेला तत्कालीन राजा त्रिभुवन धरान आउँदा कम्युनिस्टहरूले कालो झण्डा देखाएका थिए । त्यो समयमा राजालाई कालो झण्डा देखाउनु सानो आँट होइन ।

पञ्चायतकालमा पनि यहाँ कम्युनिस्ट नै हाबी थिए । कम्युनिस्टले समर्थन नगरेका उम्मेदवार जित्न सक्दैनथे । कृष्णकुमार राईले कम्युनिस्टकै समर्थनमा जितेका थिए । बम देवान जनपक्षीय उम्मेदवार बनेरै जितेका थिए । त्यसपछि त कम्युनिस्टकै उम्मेदवारहरूले जित्दै आए ।

धरान सधैं धनकुटा र विराटनगरको राजनीतिक चेपुवामा पर्यो । त्यसको असर अहिले धरान सामाजिक, आर्थिक र राजनीतिक रूपमा झन् झन् पछि पर्दै गएको छ ।

अहिले कम्युनिस्टहरूमा पनि क्रान्तिकारी चेतना हट्यो, उनीहरू उपभोगवादी बने । एमाले, माओवादीको नेतृत्व राम्रो भएन । त्यसपछि जनताले विकल्प खोजेर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई जिताए । पार्टीहरूप्रतिको वितृष्णाका कारण उनले जितेका हुन् । त्यसमा उनको खानेपानीको नाराले पनि सहयोग गरेको हो ।

अहिले नगर प्रमुख साम्पाङले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएपछि विवाद भइरहेको छ । उनले त्यसको ठाउँमा किरात राजा यलम्बरको फोटो राखेका छन् । यलम्बरको फोटो राख्नुमा आपत्ति होइन तर उनले अरू फोटो नहटाई यलम्बरको फोटो राख्नुपर्ने थियो ।

उपमहानगरपालिका भनेको राजनीतिक संस्था हो, सरकारी संस्थामा फोटो हटाउन मिल्दैन । यो संविधान विपरित, अराजकता र मनलाग्दी भयो । उनको यो मै मात्र सबै थोक हुँ भन्ने अनुभूतिले सामाजिक र राजनीतिक रूपान्तरण हुँदैन । यसले धरानलाई झन् पछि पार्छ ।

धरानमा अहिले पनि शैक्षिक र पर्यटनका क्षेत्रमा काम गर्न सकिने सम्भावना छन् । यहाँ संस्कृति र धर्मका लागि पर्यटक आउँछन् तर पर्यटनको विकासमा खासै काम हुन सकेन । ध्यानबहादुर राईको पालामा विराटनगरसँग सहकार्य गरेर काम सुरु भएको थियो त्यो पनि बीचमै हरायो ।

धरानको विजयपुरमा धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । त्यसका लागि बाटो राम्रो बनाउनुपर्छ, विकासमा अवरोध गर्नुहुँदैन । तर, धरानमा सडक बनाउन लाग्दा पटक–पटक अवरोध हुने गरेका छन् । मान्छेले जग्गा नदिंदा सडक निर्माण हुनसकेका छैनन् ।

विजयपुर क्षेत्रमा राम्रो बाटो बनाएर स्थानीय उत्पादनलाई पर्यटकीय स्थलहरूमा बिक्री वितरणको व्यवस्था मिलाउन सक्ने हो भने पर्यटनको विकास हुनसक्छ । पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा धेरै काम हुनसकेका छैनन् । त्यसतर्फ स्थानीय बुद्धिजीवीले पनि आवश्यक बहस चलाउन सकेका छैनन् ।

अहिले पनि शैक्षिक केन्द्रका रूपमा धरानमा पूर्वी पहाडबाट आउने विद्यार्थी उत्तिकै छन् । धरानका विभिन्न कलेजले उत्पादन गर्ने जनशक्ति राम्रो छ । यहाँ राम्रा विषयहरू पढाइ हुन्छन् । ज्ञानका यी उत्पादनहरू देश विदेशमा फैलिएका छन् । यसबाट धरानले फाइदा लिन सक्नुपर्ने हो । तर पर्याप्त फाइदा लिन सकेको अवस्था छैन । स्थानीय तहले विज्ञहरूसँग परामर्श लिएर राम्रो शैक्षिक नीति बनाउनु आवश्यक छ । त्यो अहिलेसम्म भएको छैन ।

धरानमा राजनीतिक रूपमा केन्द्रमा पहुँच भएका मान्छे छैनन् । अशोक राई धरानबाट चुनाव जितेर मन्त्री भएका छन् । चुनावअघि मैले पनि उनीहरू जितेर धरानको नेतृत्व गर्ने भए जिताउने नत्र किन जिताउनु भनेको थिएँ । उनले जिते तर उनीबाट धरानले फाइदा लिन सक्नुपर्छ । त्यस विषयमा स्थानीय नेताहरूले भूमिका निर्वाह गर्न आवश्यक देख्छु ।

धरानलाई तत्कालीन राजा महेन्द्रले विकास गर्न खोजेका थिए । उनले त्यसबेला कोशी अञ्चलको सदरमुकाम बनाएका थिए । तर पञ्चायतकालमा धनकुटाका सूर्यबहादुर थापा हावी भए भने प्रजातन्त्र कालमा विराटनगरका नेताहरू राजनीतिक पहुँचमा अगाडि भए । जहाँको नेताहरूको पहुँच बलियो छ विकास त्यतै जाँदो रहेछ । धरानमा चाहिं गतिलो नेता भएनन् । भएकाहरू पनि भिजन दिन सक्ने भएनन् ।

त्यसैले धरान सधैं धनकुटा र विराटनगरको राजनीतिक चेपुवामा पर्यो । त्यसको असर अहिले धरान सामाजिक, आर्थिक र राजनीतिक रूपमा झन् झन् पछि पर्दै गएको छ । अब धरान फेरि पहिलाकै जस्तो अवस्थामा फर्किन सजिलो छैन तर असम्भव पनि छैन । त्यसका लागि यहाँ राजनीतिक नेतृत्व गर्न सक्ने नयाँ पुस्ता उत्पादन गर्न सक्नुपर्छ ।

(विश्लेषक तथा भाषाविद् प्रा.डा.न्यौपानेसँग अनलाइनखबरका लागि गोपाल दाहालले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?