 
																						२० पुस, धरान ।
नजानेर पनि निक्कै जान्ने जस्तो
नभएर पनि निक्कै भए जस्तो
भित्रभित्रै खियाले खाएको
पालिसले टल्केका कलाईको थाल जस्तो
एउटा हाँसोले कैयौं बेथा छोपेको ।
सर्दु र सेउतीको दुई तुना
चारकोसे झाडी एक झुप्पा बाबरी फूल झपक्क
साँगुरी भञ्ज्याङ ढाकाको टोपी लचक्क ढल्काएर
चिउँडामा उठेको डण्डीफोर घोपाक्याम्प नसुहाए जस्तो ।
कवि बम देवानले २०२८ सालमा लेखेको ‘धरान’ शीर्षकको यो कवितांशमा वर्णन गरिए जस्तो सर्दु र सेउती खोलाको दुई तुनामा सीमित छैन अहिलेको धरान । साविकका विष्णुपादुका र पाँचकन्या गाविस गाभिएपछि सर्दु र सेउती भन्दा धेरै परसम्म फैलिएर १९२.६१ वर्ग किलोमिटर क्षेत्रफल र १ लाख ६६ हजार ५०० जनसङ्ख्या रहेको उपमहानगरपालिको हो, यो ।
भौगोलिक रूपमा विस्तार भए पनि धरानको सामाजिक, आर्थिक अवस्था भने कविताको अघिल्लो अनुच्छेदमा भनिए झैं ‘भित्रभित्रै खियाले खाएको’ जस्तै छ । २०४३ सालमा धरानको मेयर समेत बनेका उनै कवि देवान अहिले धरान झन्–झन् उजाड बन्दै गएको अनुभूत गर्छन् ।
‘मेरो कार्यकालमा धरानको जनसंख्या ४० हजार जति थियो । त्यतिवेला पानीको समस्या थिएन । अहिले जनसंख्या बढेर १ लाख ६६ हजार नाघेको छ । समस्याहरू पनि त्यसरी नै बढेका छन्’ उनी भन्छन्, ‘सामाजिक तथा मानवीय विकासमा भने धरान पहिला भन्दा माथि जानुपर्ने तर ओरालो लागेको छ । अहिले केही नभएर पनि निक्कै भए जस्तो देखाउनुपर्ने बाध्यता छ धरानलाई ।’
कम्युनिस्टहरूले पञ्चायतलाई उपयोग गर्ने नीति लिएपछि देवान ‘जनपक्षीय उम्मेदवार’ बनेर चुनाव लडेका थिए । त्यसबेला फुटेर गुटैगुट भइसकेका कम्युनिस्टहरू देवानलाई जिताउन एक भएका थिए । देवानकै शब्दमा ‘पञ्चायती व्यवस्थाको जगजगीका बीचमा पूर्वमा एउटा देखिने विद्रोह थियो, त्यो ।’
देवान भन्दा अघि पनि केदारनाथ खनाल, गोविन्द मोक्तान, कृष्णकुमार राई लगायतले मेयरमा जितेका थिए । कम्युस्टिको समर्थन विना धरानमा चुनाव जित्न मुश्किल थियो । त्यसपछि पनि लगातार ध्यानबहादुर राई, मनोज मेन्याङ्वो, तारा सुब्बाले जिते । लामो समय कम्युनिस्टकै लालकिल्ला थियो धरान । कतिपय कम्युनिस्ट नेताले धरानलाई नेपालको साङ्घाई पनि भन्थे ।
कम्युनिस्ट नेता भरतमोहन अधिकारीका ससुराली धरानका आचार्यहरू थिए । यिनै अधिकारीहरूले धरानका धेरैलाई कम्युनिस्ट बनाएको देवानको भनाइ छ । तर २०१७ साल अघि नै धरानमा कम्युनिस्ट विचारधाराबाट प्रभावित भएका यज्ञप्रसाद आचार्य त्यहींकै हुन् जो पछि पञ्चायतमा पसेका थिए । २०७४ सालसम्मको चुनावमा कम्युनिस्टलाई जिताएका धरानवासीले २०७६ को उपनिर्वाचनमा मत बदले र कांग्रेसलाई जिताए ।
पछिल्लो स्थानीय तह निर्वाचनमा त धरानले विद्रोह नै गर्यो । लामो कम्युनिस्ट राजनीतिको जगमा उभिएको धरानले खानेपानीको मुद्दा लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) लाई चुनाव जितायो । दलहरूप्रति असन्तुष्टि र दलहरूबीचको आफ्नै खिचातानीका बीच हर्क मेयरको कुर्सीमा पुग्न सफल भए ।

पछिल्ला दिनमा हर्क साम्पाङ र विवाद सँगसँगै हिंडिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले धरान उत्सवको उद्घाटनमा समय नदिएपछि मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराती राजा यलम्बरको तस्बिर राखेका छन् । पूर्व मेयर बम देवानका भनाइमा, ‘धरानको पानीमा पनि विद्रोही चेत छ ।’
विश्लेषक प्रा.डा. टंकप्रसाद न्यौपाने इतिहासदेखि नै धरान विद्रोही स्वभावको शहर भए पनि यहाँ राजनीतिक रूपमा ठूलो परिवर्तन हुन नसकेको बताउँछन् । विस्तारै कम्युनिस्टहरूमा क्रान्तिकारी चेत हटेको र उनीहरू चरम उपभोगवादी बनिसकेका कारण यहाँ परिवर्तन हुन नसकेको उनको तर्क छ । एमाले र माओवादप्रति मोहभंग भएपछि कांग्रेसलाई समर्थन गरेका धरानवासीले उसबाट पनि आशा नदेखेपछि हर्क साम्पाङलाई जिताएको न्यौपानेको धारणा छ ।
धरानका अग्रज पत्रकार हर्ष सुब्बा पनि धरानमा राजनीतिक उतारचढाव भएपनि समाजमा देखिने परिवर्तन हुन नसकेको बताउँछन् । पछिल्लो समय यहाँ राजनीतिसँगै धार्मिक र जातीय विवादहरू बढ्दै गएका छन् । धरानका पुराना बासिन्दाबीच अहिले पनि सामाजिक सद्भाव दह्रो रहेको तर पछि आएकाहरूबाट विवाद हुने गरेको सुब्बा बताउँछन् ।
उनी भन्छन्, ‘सामाजिक सञ्जाल हेर्दा यहाँ ठूलै परिवर्तन भए जस्तो देखिन्छ तर खासमा के भइरहेको हो भन्ने स्पष्ट छैन । पछिल्लो विद्रोहले के स्थापित गर्छ त्यो पनि प्रष्ट छैन ।’
भुलेको इतिहास
इतिहास अध्ययन गर्ने हो भने धरानको विजयपुरमा करिब ५०० वर्षअघि नै बस्ती रहेको आधार पाइन्छ । विजयपुरमा रहेको दन्तकाली मन्दिरका तत्कालीन पुजारी तुलाराम खनाललाई १८६८ सालमा राजा गीर्वाणयुद्ध वीरविक्रम शाहले दिएका ताम्रपत्र, लालमोहरमा खनालहरूले सेनका पालादेखि पुजारीको काम गर्दै आएको उल्लेख छ । हाल मन्दिरका पुजारी विश्वराज खनालका अनुसार, उनका पुर्खाहरू १५०२ सालतिर दन्तकाली मन्दिरको पुजारीका रूपमा विजयपुर आएका थिए । अहिले विजयपुरमा खनालहरूका दशौं पुस्ता छन् ।

इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो पुस्तक ‘किरातकालीन विजयपुरको इतिहास’मा विजयपुर पहिला सेन वंशको राज्यको राजधानी रहेको उल्लेख गरेका छन् । हाल विजयपुरको बुढासुब्बा मन्दिरभित्र रहेको माटोको ढिस्को १८३४ सालमा मारिएका विजयपुरका तत्कालीन राजा बुद्धिकर्ण रायको चिहान भएको उल्लेख गरेका छन् ।
बुढासुब्बा मन्दिरका पुजारी डम्बर आले मगर आफू यहाँ सोह्रौं पुस्ताको पुजारी रहेको बताउँछन् । विजयपुर क्षेत्रमा भेटिने भग्नावशेष र पुरातात्विक वस्तुहरूबाट पनि यो क्षेत्र सयौं वर्ष पुरानो रहेको बुझ्न गाह्रो पर्दैन ।
धरान उपमहानगरपालिका आज १२३औं धरान दिवस मनाइरहेको छ । हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रूपमा उत्सव गरेर मनाउने गरिएको छ । १९५७ साललाई आधुनिक धरानको विकास सुरु भएको आधार मानेर २०५७ सालमा धरान सय वर्ष पुगेको घोषणा गर्दै ‘शतवार्षिक महोत्सव’ मनाइएको थियो ।
विजयपुर भन्दा तल हालको धरान बजार भएको ठाउँमा पहिला सालको ठूलो वन थियो । १९५० सालपछि सालको रूख फँडानी गरियो । तत्कालीन राणा शासकले गंगाप्रसाद श्रेष्ठ र माल अड्डाका सुब्बा रत्नप्रसाद श्रेष्ठलाई सालका रूख कटाउने जिम्मा दिएको सुब्बा रत्नप्रसादका नाति मुकुल कायस्थ बताउँछन् ।
ती सालका काठ इष्ट इण्डिया कम्पनीले रेल्वेलाइन विस्तारका लागि लगेको उनको भनाइ छ । त्यसरी सालका रूख काट्न बनाइएको ‘धरान’ बाटै यो ठाउँको नाम धरान रहन गएको विभिन्न दस्तावेजमा उल्लेख छ ।
धरान नगरपालिकाको वेब पेजमा उपलब्ध नगर परिचय शीर्षकमा उपलब्ध सामग्रीका अनुसार, सालघारी फडानी भएपछि १९५९ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले ‘चन्द्रनगर’ नामको बस्ती बसाएका थिए जसलाई हालको पुरानो बजार भनेर चिनिन्छ । पछि १९९० ताका तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ‘जुद्धनगर’ नामको अर्को बस्ती पनि बसाएका थिए । त्यसलाई हाल नयाँ बजार भनिन्छ । धरानको अहिलेको मुख्य बजार यही हो । राणाहरूले बनाएका यिनै दुई बस्ती नै आधुनिक धरान हो ।
राणाशासनकै बेला यहाँ २००३ सालमा छात्रहरू पढाउन पब्लिक हाईस्कुल खुल्यो भने २००५ सालमा छात्राहरूलाई पढाउन शारदा बालिका स्कुल खुल्यो । यी शिक्षण संस्थाहरू खुलेपछि यो क्षेत्र शैक्षिक केन्द्रका रूपमा विकास हुन थाल्यो ।
धरान शहर स्थापना भएको सय वर्ष पुगेको अवसरमा प्रकाशित धरान दर्पणमा उल्लेख भए अनुसार, पूर्वी पहाडका युवाहरूलाई लाहुरे भर्ती गराउन २०१० सालमा घोपाक्याम्प स्थापना भएपछि यो क्षेत्रमा बसोबास गर्नेको संख्या बढ्न थाल्यो । पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगातिरका युवाहरू लाहुरे भर्ती हुन धरान झर्ने र लाहुरे भएपछि यतै जग्गा किन्ने, घर बनाउने चलन बढ्दै गयो ।
राणशासनकालमा यो ठाउँको औपचारिक नाम धरान थिएन । पूर्वमेयर बम देवानका अनुसार २०१५ सालसम्म यो क्षेत्रलाई ‘विजयपुर प्रगन्ना’ भनिन्थ्यो । २०१५ सालमा पहिलो पटक भएको निर्वाचनमा दन्तकाली मन्दिरका पुजारी खलकका केदारनाथ खनाल जो कम्युनिस्ट विचारका थिए उनले मेयरमा जिते । त्यसैबेला यो क्षेत्रको नाम ‘धरान म्युनिसिपालिटी’ राखियो भने प्रमुखलाई ‘मेयर’ भन्न थालियो ।
१ पुस २०१७ मा तत्कालीन राजा महेन्द्रले देशमा ‘कु’ गरेर सत्ता हातमा लिए । राणाहरूले बसाएको धरानलाई महेन्द्रले पनि प्राथमिकतामा राखे । २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा धरानलाई कोशी अञ्चलको सदरमुकाम घोषणा गरियो ।
पञ्चायतकालमा धरानमा शिक्षाको राम्रो विकास भएको थियो । विजयपुरका मोहन कोइरालाले आफ्नो संस्मरण ‘नथाकेको जीवन’ मा २०२० सालतिर धरानमा निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था रहेको उल्लेख गरेका छन् । त्यसताका धरानमा वडैपिच्छे पञ्चायत स्कुल भनेर खोलिएका थिए । अहिले पनि धरानमा पञ्चायत नामको स्कुल भेटिन्छ ।

पञ्चायतकालमा धरानमा क्षेत्रीय शिक्षा निर्देशनालय, क्षेत्रीय प्रशासन कार्यालय, क्षेत्रीय खाद्य प्रयोगशाला, प्रमाणपत्र तहसम्म अध्ययन हुने चिकित्सा अध्ययन प्रतिष्ठान, यातायातको सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्यालय, बागमतीदेखि पूर्वको हावापानी निगरानी गर्ने कोशी वेसिन स्थापना भएको थियो ।
त्यस्तै अञ्चल अदालत, वाणिज्य बैंकको क्षेत्रीय कार्यालय, कृषि विकास बैं कको क्षेत्रीय कार्यालय र क्षेत्रीय अस्पताल जस्ता कार्यालय स्थापना भएका थिए । त्यो कालमा धरान पूर्व क्षेत्रको प्रशासनिक केन्द्र थियो । पूर्वी पहाडका लागि व्यापारिक र शैक्षिक केन्द्र पनि थियो ।
विश्लेषक प्रा.डा. टंकप्रसाद न्यौपाने पञ्चायतकालमा धनकुटाका सूर्यबहादुर थापा शक्तिशाली भएका बेला र पञ्चायतकालपछि विराटनगरका गिरिजाप्रसाद कोइरालाहरू सत्तामा पुगेपछि धरान चेपुवामा परेको बताउँछन् ।
अनि धरान ‘मृत शहर’ बन्यो
धरानको क्षेत्रीय शिक्षा निर्देशनालय २०४० सालतिर धनकुटा सर्यो । २०४६ सालतिर गोर्खा भर्ती केन्द्र पनि पोखरा सर्यो । अनि धरानको ओरालो यात्रा सुरु भयो ।
२०४५ सालको भूकम्पले धरानमा जनधनको ठूलो क्षति भयो । त्यसबेला नगरपालिकाको रोहबरमा सरकारले धरानलाई १३ करोड रुपैयाँ ऋण दिएको थियो । भूकम्पको चोटमाथि ऋणले थलिएको धरानलाई तङ्ग्रिन गाह्रो भयो । त्योमध्ये तिर्न बाँकी ऋण तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा मात्रै मिनाहा भएको थियो ।
भूकम्पले शिथिल बनेको धरान यहाँका सरकारी कार्यालयहरू धमाधम अन्यत्र सरेपछि झनै उजाड बन्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि सत्तामा विराटनगरका राजनीतिज्ञहरू हावी भए । २०४८ को आम निर्वाचनमा धरानबाट निष्ठावान् कम्युनिस्ट नेता मनमोहन अधिकारीले चुनाव जिते तर उनको जितबाट धरानले खासै फाइदा लिन सकेन ।
धरानमा रहेको कोशी अञ्चल अदालत पनि २०४९ सालमा विराटनगर सारियो । २०५० सालमा राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय र क्षेत्रीय अस्पताल पनि विराटनगरमै लगियो । २०५५ सालमा पूर्वाञ्चल खाद्य प्रयोगशाला विराटनगर सर्यो । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तहसम्म पढाइ हुने मेडिसिन कलेज काठमाडौंको महाराजगञ्ज गयो । अनि धरानमा बाँकी रहेको यातायात कार्यालय पनि इटहरी सर्यो भने नेपाली सेनाको बाहिनी पनि इटहरीस्थित पूर्वी पृतनामा गाभियो ।
२०४५ सालको भूकम्प र त्यसलगत्तै सरकारी कार्यालयहरू बाहिरिएर उजाड बनेदेखि नै धरानलाई ‘मृत शहर’ भन्न थालिएको थियो । गोर्खा भर्ती केन्द्र सरेर खाली भएको घोपाक्याम्पमा २०५० सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि भने धरान अलि तङ्ग्रिन थालेको थियो । तर, पछिल्लो समय यो प्रतिष्ठान आफैं अस्तव्यस्त छ ।
यसपछि धरानको पुनरुत्थानका लागि प्रयासहरू हुनथाले । तत्कालीन धरान नगरपालिकाको २०५६/५७ को तेस्रो नगर परिषद्बाट ‘धरानलाई दुई दशकभित्रमा शिक्षा, स्वास्थ्य र पर्यटकीय केन्द्रको पूर्वाधारयुक्त शहर र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने’ दीर्घकालीन दृष्टिकोण तय गरियो । तर धरानलाई नेतृत्व गर्न सक्ने सक्षम नेताको अभावमा यस्ता प्रयासहरू नारामै सीमित रहेको ठान्छन् विश्लेषक प्रा.डा.न्यौपाने ।

पञ्चायतकालका प्रधानपञ्च कृष्णकुमार राई, प्रजातन्त्र पुनर्स्थापनापछिका मेयरहरू ध्यानबहादुर राई र मनोजकुमार मेन्याङ्वोले धरानमा नागरिकसँग मिलेर विकासका काम अघि बढाएका थिए । वर्तमान मेयर हर्कराज राई (हर्क साम्पाङ) ले त्यही श्रमदानको संस्कृतिलाई व्यापक मात्रामा बढावा दिइरहेका छन् ।
भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूको बाक्लै उपस्थिति रहेको त्यो समयमा जनसहभागितामा धरानका भित्री सडकहरू समेत कालोपत्रे भएका थिए । धरानका धेरैजसो सडकमा जनताको ४० प्रतिशत र नगरको ६० प्रतिशत लगानी छ । धरानका पूर्वमेयर मनोजकुमार मेन्याङ्वोका भनाइमा, विकासमा जनसहभागिताका लागि नगरवासीको आर्थिक अवस्थाका आधारमा प्रतिशत समेत छुट्याइएको थियो ।
उनी भन्छन्, ‘गरीबले १५ प्रतिशत नगद र श्रमदान, निम्न तथा मध्यम वर्गको बसोबास भएका क्षेत्रमा २५ प्रतिशत नगद र श्रमदान, मध्यम तथा सम्पन्न वर्गले ४० प्रतिशत नगद मात्र र सम्पन्न वर्गले ५० प्रतिशत वा त्योभन्दा बढी नगद दिनुपर्ने नीति नै बनाइएको थियो । त्यो प्रभावकारी देखियो पनि ।’
त्यसैबेलादेखि धरानको विकासमा श्रमदान गर्ने संस्कृति भित्रिएको थियो । तर, श्रम गर्ने संस्कार हुँदाहुँदै पनि पछिल्लो समय विकासका हरेक काममा विवाद हुने गरेको छ । धरानमा खानेपानी, बसपार्क, एयरपोर्ट जस्ता ठूला परियोजना विवादरहित छैनन् । धरान बजार हुँदै जानुपर्ने जोगवनी–किमाथाङ्का सडक बजारभित्रबाट लैजाने कि बाहिरबाट भन्ने बहसमा अल्झिंदा काम अघि बढ्न सकेको छैन ।
धनकुटे रोडबाट जाने भनिएको मदन भण्डारी राजमार्ग विवादकै कारण धरानको बजार छलेर तीनकुने हुँदै जंगल छेउबाट बनिरहेको छ । तीनकुने सुन्दर बस्ती आयोजना पनि विवादकै कारण अलपत्र छ । हरेक योजनामा विवाद खडा हुन थालेपछि कुनै बेलाको विकासको नमूना भनिने धरान अहिले विकास विरोधी शहरका रूपमा चिनिन थालेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत इन्दिरा राई भिजन भएका नेता नहुँदा धरानको यो गति भएको ठान्छिन् । उनी भन्छिन्, ‘यही क्रम रहने हो भने धरान फेरि मृत शहर बन्ने चुनौती छ ।’
उद्योग व्यापारको क्षेत्रमा धरान त्यसै पनि कमजोर छ । यहाँको औद्योगिक क्षेत्र नाम मात्रैको छ । यसको विस्तार सुस्त छ । धरानको कृषि उपज बजारको पनि विकास हुनसकेको छैन । धरानलाई पछिल्लो समय व्यापार, लगानी सबै कुरामा इटहरी, विराटनगर जस्ता शहरले उछिनेको बताउँदै नेपाल उद्योग परिसंघका कोशी प्रदेश उपाध्यक्ष कृष्णकुमार अग्रवाल भन्छन्, ‘धेरै रेमिटेन्स आउने शहरमा पर्छ धरान तर त्यो रेमिटेन्सलाई यहाँको आर्थिक विकाससँग कसरी जोड्ने भन्नेमा हाम्रो भिजन छैन ।’
अहिलेको धरानको मनोदशा झल्काउने कविता २६ फागुन २०४१ मै गोरखापत्रमा छापिएको थियो । कवि भूपी शेरचनको ‘धरान’ कविताको यो अंशले साँच्चिकै अहिलेको धरानको चित्र देखाउँछ ।
एक पल्टन धरान : लेफ्ट् लेफ्ट् लेफ्ट् मात्र गर्दो छ,
अर्को पल्टन धरान : राईट् राईट् राईट् गर्दै सर्दो छ,
अर्को ब्रिगेड धरान : अटेन्सनको मुद्रामा जडवत् उभिई
न अगाडि बढ्दो छ, न पछाडि सर्दो छ ।
खस्किंदो बौद्धिकता, सुस्ताएको कला संस्कृति
राजनीतिक तथा आर्थिक क्षेत्रमा कमजोर हुँदा पनि धरान शिक्षा, साहित्य, कला, संस्कृति, खेलकुद जस्ता क्षेत्रमा पहिलादेखि नै सम्पन्न थियो । धरानमा १९८० सालदेखि नै लिखित साहित्यको विकास भएको भेटिन्छ । २००४ सालमै धरानमा पुस्तकालय खुलेका थिए । २००५ सालमा पब्लिक हाईस्कुल खुलेपछि २००६ सालमा पब्लिक हाईस्कुलबाटै ‘छात्र धारा’ नामको हस्तलिखित पत्रिका सुरु भएको थियो ।

त्यसपछि पुस्तकालय र साहित्यिक संस्था खुल्ने लहर नै चल्यो । त्यसैबेला दुई दर्जन हाराहारीमा पुस्तकालय खुलेका थिए । तीमध्ये अहिले पनि आधा दर्जनजति अस्तित्वमा छन् । तर ती जीर्ण अवस्थामा छन् । यहाँ साहित्यकारकै नामबाट भानुचोक, लक्ष्मीचोक, लेखनाथ चोक जस्ता चोकका नामकरण हुनु र साहित्यकारका प्रतिमा स्थापना हुनुले पनि धरानको साहित्यप्रतिको लगाव बुझ्न सकिन्छ ।
धरानको यही शैक्षिक र साहित्यिक वातावरणबाट छविलाल पोख्रेल, कृष्ण पाख्रिन, नरेश शाक्य, वेणु आचार्य, बम देवान, गोविन्द विकल, शिवशंकर थापा, बसन्त थापा, जनार्दनप्रसाद आचार्य, कुन्ता शर्मा, बद्री पलिखे, आनन्ददेव भट्ट, कालीप्रसाद रिजाल जस्ता लेखक तथा साहित्यकारको जन्म भएको थियो ।
अहिले भने साहित्यिक गतिविधि नै सुस्ताएको अनुभव गर्छन्, विमल स्मृति पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङ । उनी भन्छन्, ‘पहिला लेखपढ गर्ने मान्छे प्रशस्त हुन्थे, अहिले मान्छे पढ्नै चाहँदैनन्, धरानको बौद्धिकता खस्किएको छ ।’
२००४ सालमा धरानमा हिन्दी नाटकहरू, रामायण, रामलीला मञ्चन हुने गर्थे । २००७ सालको राजनीतिक परिवर्तनपछि रंगकर्म झनै फस्टाउने मौका पायो । २०१० सालमा कालीप्रसाद रिजाल, चन्द्रशेखर श्रेष्ठ लगायतले नेतृत्व गरेको यहाँको रंगकर्म पछि यति फस्टायो कि दुई दशकअघिसम्म एक दर्जन भन्दा बढी नाट्य संस्था थिए धरानमा ।
यहाँको रंगमञ्चबाट उठेका कलाकार, निर्देशक प्रेम सुब्बा, नवीन सुब्बा, पशुपति राई, सुरज सुब्बा, विक्रमसिंह थारू लगायत धेरै राष्ट्रिय रूपमा स्थापित छन् । पछि अधिकांश कलाकर्मी धरान छाडेर कि काठमाडौं, कि त विदेश पलायन भए । अहिले पनि केही नाट्य संस्थाहरू अस्तित्वमा रहे पनि गति सुस्त छ ।
गायक दीप श्रेष्ठका अनुसार, कृषि उत्पादन बिक्री गर्न र नुनतेल लगायतका आवश्यक समान खरिद गर्न कोशी पहाडका जिल्लाबाट धरान झर्नेहरू धरानको अमरहाटमा बास बस्ने गर्थे । त्यहीं रमाइलोका लागि नाचगान गर्थे । त्यसबेला धरान गीत, संगीत र संस्कृतिमा धेरै नै अघि थियो ।
२०२५ सालमा धरान सांस्कृतिक संस्थानको टोली राजा महेन्द्रलाई नाटक देखाउन काठमाडौं पुगेको थियो । त्यहीबेला नाटकको बीचमा गीत गाएका दीप श्रेष्ठको स्वर महेन्द्रले मन पराएपछि भोलिपल्ट रेडियो नेपालमा दुई गीत रेकर्ड भएको वरिष्ठ गायक दीप श्रेष्ठ अहिले पनि सम्झिन्छन् ।
राल्फा समूहका रामेश, मञ्जुल, अरिम र श्याम तमोटहरूले २०३२ देखि २०३६ सालसम्म धरानमै बसेर ‘गाउँगाउँबाट उठ’ जस्ता कालजयी जनवादी गीतहरू सृजना गरेका थिए । धरानकै जेबी टुहुरेले ‘आमा दिदी बहिनी हो’ जस्ता गीत सृजना गरेका थिए । शम्भु राई, लोचन भट्टराई, निशान भट्टराई जस्ता गायक–गायिका त्यसैबेला उदाएका हुन् ।
केही दशकअघिसम्म शिव लामिछाने, सविन राई, दीपक लिम्बू, प्राश्ना शाक्य जस्ता धेरै गायक–गायिका उत्पादन गरेको धरानमा पछिल्लो समय संगीतमा आशा लाग्दो प्रतिभा देख्न सकिएको छैन । वरिष्ठ गायक दीप श्रेष्ठ कुनै बेला त्यस्तो सांगीतिक माहोल भएको धरान अहिले चित्तबुझ्दो नरहेको बताउँछन् । उनी भन्छन्, ‘धरानमा अहिले पनि संगीतलाई माया गर्ने धेरै छन् तर मिहिनेत गरेर यही क्षेत्रमा लागिपर्ने त्यति देख्दिनँ ।’
आशालाग्दो खेलकुद
धरान खेलकुदमा विगतदेखि नै नाम चलेको ठाउँ हो । नेपालका फुटबल क्लबहरूमा धरानका खेलाडीहरूको सहभागिता बाक्लै छ । राष्ट्रिय टिमका प्रशिक्षक रहिसकेका राजुकाजी शाक्य धरानकै उत्पादन हुन् । धरानमा २०५५ सालदेखि बुढासुब्बा गोल्डकप भइरहेको छ भने गोधूलि कप, डिपो कप जस्ता धेरै प्रतियोगिता वर्षेनि हुने गरेका छन् ।
नेपालमा सितेरियो कराते खेल धरानबाटै सुरु भएको थियो । प्रहरी र सेना बाहेक सर्वसाधारणका लागि प्रतिबन्ध रहेको यो खेल २०३३ सालतिर सिंगापुरबाट सिकेर आएका थानेश्वर राईले जंगल र खोलाको किनारमा लुकेर सिकाउने गरेको जानकारहरू बताउँछन् । सरकारले २०३९ सालमा मात्रै करातेलाई मान्यता प्रदान गरेको थियो ।
बक्सिङ पनि धरानलाई चिनाउने खेल हो । धरानका नरेन्द्र पोमो बक्सिङबाट ओलम्पिकमा समेत सहभागी भएका थिए । प्रशिक्षक किशोर सम्बाहाङ्फे अहिले पनि बक्सिङमा धरानको उत्पादन राम्रो रहेको बताउँछन् । धरानमा ब्रिटिश क्याम्प रहेका बेला सन् १९६० तिरै १८ होलको गल्फ कोर्स बनेकोले धरानमा गल्फरहरूले पनि राम्रै प्रगति गरेका छन् । धरानकै उत्पादन युवा गल्फर शुक्रबहादुर राई अहिले नेपालका नम्बर १ व्यावसायिक गल्फर हुन् । यहींका रिठे सापकोटा र उनका छोरा सविन सापकोटा अहिले जर्मनमा गल्फ प्रशिक्षकका रूपमा कार्यरत छन् ।
२०१६ सालबाट तत्कालीन ब्रिटिश क्याम्पका कर्मचारी र धरानका स्थानीयबीच क्रिकेट प्रतियोगिता हुने गरेको थियो । २०५३ सालमा त सुनसरी क्रिकेट संघ नै स्थापना भएको थियो । नेपालमै पहिलोपटक २०२७ सालमा धरानमा शारीरिक सुगठन प्रतियोगिता भएको इतिहास छ । धरानमा अहिले पनि बडी बिल्डिङका धेरै गतिविधि हुने गरेका छन् । पछिल्लो समय यहाँ बास्केटबल खेलका गतिविधि बढेका छन् । विभिन्न प्रतियोगिता भइरहेका छन् । धरानको खेलकुदको अवस्था अहिले पनि आशालाग्दो रहेको बक्सिङका प्रशिक्षक सम्बाहाङ्फे बताउँछन् ।
अबको सम्भावना : पर्यटन
संस्कृति, कला, खेलकुद जस्ता क्षेत्रमा अझै राम्रै सम्भावना रहे पनि त्यसबाट धरानले फाइदा लिन सकेको छैन । यहाँको सांस्कृतिक विविधता, शैक्षिक वातावरण र धार्मिक स्थलहरूलाई पर्यटनसँग जोड्न सके फाइदा लिन सकिने विचार विश्लेषक प्रा.डा. न्यौपानेको छ । उनी भन्छन्, ‘यहाँ सबैखाले शैक्षिक संस्था छन्, विभिन्न जातजातिका संस्कृति अवलोकन गर्न सकिन्छ । तिनको प्रवर्द्धन गर्न सके पर्यटक आकर्षित गर्न सम्भव छ ।’

पूर्व मेयर देवान पनि धरानमा अब पर्यटनको सम्भावना देख्छन् । धरान हुँदै भेडेटार, विष्णुपादुकासम्म केवलकार निर्माण, धार्मिक मठ–मन्दिरको उचित व्यवस्थापन र प्रचार गर्न सके भारतीय पर्यटकहरू भित्रिने सम्भावना देखिएको उनको भनाइ छ ।
धरानका अग्रज पत्रकार हर्ष सुब्बा पनि धरानको सांस्कृतिक, धार्मिक विविधतालाई पर्यटनसँग जोड्न सकिने सम्भावना देख्छन् । भारतका सिक्किम, दार्जीलिङ जस्ता भिरालो ठाउँमा समेत पर्यटनको विकास भएको उल्लेख गर्दै उनी धरानमा दूरदृष्टि भएको नेता भए धेरै काम गर्न सकिने तर्क गर्छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष अग्रवाल धरानको विकासका लागि अझै जोगवनी–किमाथाङ्का सडक र ४०० केभी प्रसारण लाइनबाट फाइदा लिन सकिन्छ कि भन्ने आशा रहेको बताउँछन् । धार्मिक पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउने र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राम्रो बनाउने हो भने धरानको विकास हुनसक्ने उनी ठान्छन् ।
‘स्थानीय निकायले यस्तो काममा प्राथमिकता दिएन, प्रदेश सरकार आफैं कमजोर छ अनि केन्द्रमा हाम्रो पहँुच पुगेन’ उनी भन्छन्, ‘अझै पनि स्थानीय निकायले पहल गरेर लगानीको वातावरण बनाउने हो भने धरानले आफ्नो रूप फेर्छ ।’
 
                









 
                     
                                 
 
 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4