+
+

हर्क साम्पाङको कार्यकक्षमा यलम्बरको तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते २१:४५

१२ पुस, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए ।

‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ! जय देश !’, मेयर साम्पाङले लेखेका थिए ।

गैरदलीय उम्मेदवारी दिएर मेयर जितेका साम्पाङले केही दिनयता संघीय सरकारविरुद्ध कडा शब्दमा स्टाटस लेख्दै आएका थिए । बुधबार मात्रै उनले लेखेका थिए, ‘लडेर प्राप्त गर्ने अवस्थालाई अधिकार भनिन्छ ! दयाले दिइएको त भिक्षा हो !’

कार्यकक्षमा यलम्बरको तस्वीर राखेकोमा भन्दा पनि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर हटाएकोमा उनको विरोध भइरहेको छ । धरानका राजनीतिक दलहरुले संयुक्त बक्तव्य जारी गरी मेयर साम्पाङको कदमप्रति आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले साम्पाङलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।

‘..संविधान र राष्ट्रपति सोही प्रक्रियाबाट निर्वाचित भएका प्रमुखले राष्ट्र प्रमुख/राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्वीर यथास्थानमा राख्न हुन जोडदार माग गर्दछौं’, संयुक्त वक्तव्यमा भनिएको छ । दलहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरलाई राष्ट्रिय प्रतीकका रुपमा राख्दै आएकाले निर्णय सच्याउन भनेका छन् ।

तर मेयर साम्पाङले कसैको आग्रह नसुनी कार्यकक्षको तस्वीर फेरेका छन् । ‘मैले पनि फोन गरेँ, तर उठेन । अरु कुरा हुन सकेको छैन’, धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले भने । यलम्बरको तस्वीर कार्यकक्षमा राखेपछि साम्पाङले बिहीबार एक ज्ञापनपत्र बुझेका थिए । त्यसपछि कार्यकक्षमा ताला लगाएर निस्किए ।

उनको यस्तो निर्णयप्रति विशेषगरी सामाजिक सञ्जालमा विरोध भइरहेको छ । तर स्टाटस धेरै लेखेरै विवादमा आइरहने मेयर साम्पाङले प्रतिक्रिया जनाएका छैनन् ।

कार्यकक्षको तस्वीरलाई लिएर यसअघि अरु जनप्रतिनिधि पनि चर्चामा आएका थिए । काठमाडौं महानगरका मेयर बालेन शाहले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

साम्पाङजस्तै स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका बालेनले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका छन् । भारतले नयाँ संसद् भवनमा राखिएको मुरलमा नेपालको कपिलवस्तु, लुम्बिनी लगायत भूमि समेटेपछि गत २५ जेठमा बालेनले आफ्नो कार्यकक्षमा नयाँ तस्वीर राखेका थिए । अहिले पनि बालेनको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको नभएर ग्रेटर नेपालको नक्सा छ ।

केही दिन अगाडि मात्रै बालेनलाई भेटेर धरान फर्किएका साम्पाङले पनि राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएर यलम्बरको राखेका हुन् ।

गैरदलीय उम्मेदवार बनेर मेयर जित्नेहरुले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर नराखे जस्तै दलबाट जितेकाले भने आफ्नै नेताको तस्वीर राखेर चर्चामा आएका उदाहरण छन् ।
तनहुँको भिमाद नगरपालिकामा राष्ट्रपति, प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर राखिएको थियो ।

त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा थिए । तर तत्कालीन राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री देउवाको बीचमा पूर्व प्रधानमन्त्री रहेका ओलीको तस्वीर राखिएको थियो । भिमादमा लगातार एमालेबाट मेयर निर्वाचित हुँदै आएका छन् ।

स्थानीय जनप्रतिनिधि मात्रै नभएर सिंहदरबारभित्रै पनि कार्यकक्षको तस्वीर चर्चा र आपत्तिको विषय बनेको छ । गत वर्ष ३ माघमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरुले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेका थिए ।

त्यसबेला पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिञ्चाइँमन्त्री, बिक्रम पाण्डे शहरी विकास मन्त्री, ध्रुबबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका थिए । उनीहरुले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राखेका थिए ।

यो दृष्य गणतन्त्र स्थापनापछि पहिलोपटक देखिएको थियो । २०६२/०६३ का जनआन्दोलनपछि राजाको तस्वीर मन्त्रालयमा राख्न छोडिएको थियो । ‘२०३८ सालदेखि राजारानीको तस्वीर राख्न थालिएको पाइन्छ, त्यसैलाई निरन्तरता दिइँदै आयो, कुनै परिपत्र भएर भन्दा पनि अभ्यासका रुपमा’, पूर्व मुख्यसचिव बिमल कोइराला भन्छन् ।

उनका अनुसार, २०५५ सालपछि राजारानीसँगै प्रधानमन्त्रीको पनि तस्वीर राख्न थलियो । तर जनआन्दोलनपछि शहीदहरुको तस्वीर राख्न थालिएको थियो । गणतन्त्र नेपाल घोषणापछि राष्ट्रपतिको तस्वीर राख्न थालिएको थियो ।

त्यही अभ्यास २०७४ सालमा स्थानीय तहमा अभ्यासका रुपमा हुँदै आएको छ । ‘त्यतिबेला पनि (राजारानीको तस्वीर राख्दा) म सोध्थे, यो किन टाँसेको ?’ पूर्व मुख्यसचिव कोइराला भन्छन्, ‘सिनियरहरुले भन्थे, सार्वभौमसत्ता राजामा निहीत भएकाले । तर अहिले जनतामा सार्वभौमसत्ता छ, किन टाँसिरहेको थाहा छैन ।’

तर राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउने वा अरु थप्ने निर्णय लिएर जनप्रतिनिधिहरुले विवाद खेपिरहेका छन् । त्यसैमा धरानका मेयर साम्पाङ थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?